• २० असोज २०८१, आइतबार

धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा

blog

मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूल ।

मीना कंडेल

कावासोती, असोज २४ गते । नवलपुरको गैँडाकोट–१ मौलाकालिका मन्दिरमा धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा अध्यापन गराउन थालिएको छ । गुरुकुलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाइ जीवनदर्शन र धर्मशास्त्रको ज्ञान दिइने गरिएको छ ।

पछिल्लो समय गुरुकुलको अस्तित्व मेटिँदैगएका बेला विद्यार्थीको उत्साह र बढ्दो महत्वले गुरुकुल सञ्चालनमा उत्साह मिलेको र मौलाकालिका संस्कृत विद्यापीठ यसको नमुनाका रूपमा रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थीलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ । खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो ।” 

गुरुकुल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्ग्रेजी जस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ ।

संस्कृत शिक्षा अध्ययनका लागि तीन तह सरकारको लागतमा मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलको भवन निर्माण गरिएको छ । एक करोड ५० लाखको लागतमा गुरुकुल भवन निर्माण भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १६ कोठा रहेको सो भवनमा कक्षा ८ सम्म अध्ययन हुँदैआएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्नेगरी भवन निर्माण भएको छ ।

गैँडाकोट –१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमा कक्षा ८ मा अध्ययन गर्ने सुजन अधिकारीले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताउनुभयो । सामान्य विद्यालयको पढाइभन्दा गुरुकुलका कक्षाहरू उहाँका लागि विशेष भएको छ । गुरुकुलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्नेगरेको अधिकारीले बताउनुभयो ।

मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटमार्फत मन्दिर परिसरमा सञ्चालित संस्कृत विद्यापीठ गुरुकुलमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । गुरुकुलमा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोहमात्र होइन, जीवन र जगतसँग परिचित हुने अभ्यासको विकास भएको अध्ययनरत विद्यार्थीको भनाइ छ ।

नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरुकुल शिक्षा उदाहरणीय शिक्षा रहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।