• ३ जेठ २०८२, शनिबार

बालिकाको संवर्द्धनमा राज्यले थप लगानी बढाउन आवश्यक : मन्त्री आचार्य

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य ।

काठमाडौं, असोज २४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालिकाविरुद्धको हिंसा र बाल यौन दुर्व्यवहारविरुद्धको घटना यदाकदा अझै भइरहेको बताउनुभयो । उहाँले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानुनी व्यवस्था भए पनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको जानकारी दिनुभयो ।

उहाँले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
मन्त्री आचार्यले भन्नुभयो, ‘‘बालिकाहरुको अधिकार संरक्षण तथा संवद्र्धन र सर्वोत्तम हीतका लागि बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी लगायतका सन्धी सम्झौता र दस्ताबेज नेपालको संविधान, बालबालिका सम्बन्धीत ऐन तथा नीति नियमहरु आवधिक र वार्षिक योजनाका कार्यक्रमहरु कार्यान्वयन गर्न तीन तहकै सरकारी निकाय, विकास साझेदार र गैरसकारी संस्थाहरुलाई आह्वान गर्दै मन्त्रालय यस कार्यमा लागिरहेको छ ।’’

बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवद्र्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गर्नुभयो ।