• १७ वैशाख २०८२, बुधबार

कानुन नआउँदा अधिकारको प्रयोगमा समस्या : नेता सिटौला

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असोज २१ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्ने मूल कानुन नै नआउँदा संविधानले दिएको अधिकारको सदुपयोग  हुन नसकेको बताउनुभएको छ ।

संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका सिटौलाले संविधान कार्यान्वयनको मूल कानुन नआएका कारणले गर्दा संविधानको कार्यान्वयनको विषयमा बारम्बार टिप्पणी हुँदैआएको उहाँको भनाइ छ । 

झापामा नेपाली कांग्रेसका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै सिटौलाले संविधान बनेको तीन वर्षभित्र आउनुपर्ने शिक्षा ऐन अहिलेसम्म नआएको र पालिकापिच्छे फरक–फरक रूपमा नियमहरू आउनेगरेको बताउनुभयो ।  

प्रभावकारी रूपमा संविधानको कार्यान्वयन नभएका कारण र आवश्यक कानुन नबन्दा प्रदेश सरकारहरूले जसरी काम गर्नुपर्ने त्यसरी नगरेको उहाँको भनाइ छ ।  कानुन नबन्दा प्रदेश सरकार विकासे एजेन्सीजस्तो भएको अवस्था उहाँले बताउनुभयो । 

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस नेता सिटौलाले निराश नबनी जनताको काम गर्नका लागि अनुरोध गर्नुभयो । स्थानीयस्तरमा जनताको मर्म र भावनाअनुसार काम गर्दै जानुपर्ने उहाँले बताउनुभयो । 

उहाँले कांग्रेसको नेतृत्वमा नै अहिलेसम्मको परिवर्तन र उपलब्धि भएको बताउँदै यो विषयमा जनतालाई बुझाउन अनुरोध गर्नुभयो । भएका विकासका कामको विषयमा पनि प्रचार गर्न उहाँको आग्रह गर्नुभयो ।