• २८ वैशाख २०८३, सोमबार

सिंहदेवी माविमा ईश्वर मन्दिरको इ–लर्निङ अभियान

blog

गोकुल भुजेल
भोजपुर, वैशाख २८ गते ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समयसापेक्ष प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँले इ–लर्निङ कक्षा सञ्चालन अभियानअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेर्खकस्थित सिंहदेवी माध्यमिक विद्यालयलाई कम्प्युटर तथा स्मार्ट टिभीलगायतका सामग्री हस्तान्तरण गरेको छ ।

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको उक्त संस्थाले सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री सिकाइ अभियानअन्तर्गत २० थान कम्प्युटर र एक थान स्मार्ट टिभी प्रदान गरेको हो ।

शिक्षालाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन आफ्नो टोलीले सामुदायिक विद्यालयमा इ–लर्निङ कक्षा स्थापनाका लागि सामग्री सहयोग गर्दै आएको पूर्व अर्थमन्त्री कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा प्रविधिमैत्री सिकाइका लागि स्रोतसाधनको अभावका कारण विद्यार्थीहरू आधुनिक ज्ञानबाट वञ्चित हुनुपरेको अवस्थालाई न्यूनीकरण गर्न यो अभियान सञ्चालन गरिएको हो ।”

विद्यालयमा स्थापना गरिएको इ–लर्निङ कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन गर्ने सरोज बस्नेत ले बताउनुभयो । उहाँले पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः प्रविधिमैत्री पठनपाठन विस्तार गरिने जानकारी दिनुभयो ।

त्यस्तै विद्यार्थीलाई कापी, किताब र कलमसँगै समयसापेक्ष प्रविधिमैत्री सिकाइमा ईश्वर मन्दिर काठमाडौँले पुर्‍याएको योगदान प्रशंसनीय रहेको राजन पौडेल ले बताउनुभयो ।

ईश्वर मन्दिरले प्रविधिमैत्री सिकाइ अभियानअन्तर्गत बर्सेनि जिल्लाका सामुदायिक विद्यालयहरूलाई कम्प्युटर, स्मार्ट बोर्ड तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ ।