• ८ मंसिर २०८१, शनिबार

घर [कथा]

blog

सय वर्षअघिको घर त होइन यो । सय वर्षअघिकै भए पनि नियति यही नै थियो । संरक्षण गर्न लायकको थियो त्यो । कारण यो पुरातात्त्विक सम्पदा पनि होइन । पुरातत्वको दृष्टि सबैतिर पुगेको पनि हुँदैन तर यस घरमा जन्मेकाहरूको घर संरक्षणमा केही कर्तव्य बन्थ्यो भनिए पनि ती अहिले कताकता गइसके । घर खाली छ । भन्नाले अधिकांश चोटाकोठाहरू खाली छन् । घर बुढो भइसक्यो । यसमा बस्नेहरूले छाडेको पनि तीन पुस्ता लाग्न थालेको छ । जति पुस्तान्तर भए पनि घर उदास छ । घरले रमाइलो अनुभव गर्न पाएको छैन । उति बेला घरमा दसैँ, तिहार र तिज पर्व आउँथे । घरमा हल्लीखल्ली भइरहन्थ्यो । मानौँ संसारभरिको रमाइलो यसै घरमा जम्मा भएको छ । हाँसो गुन्जिरहन्थ्यो । घरले हाँसो मात्र होइन शोक र रोदन पनि अनुभव गरेको छ । मूल परिवार अझै थियो– बाजे–बा, आमा–हजुरआमा, दिदीबहिनी, दाजुभाइ तर अहिले को छ ? कोही छैन । घर कुर्नलाई एक जना गाउँकै गरिब मानिस जसको परिवार भन्नु एउटी श्रीमती र कुँजिएकी छोरी छ, उसलाई जिम्मा दिइएको छ । घरतिर फर्कने कसैलाई चासो छैन । घरवरिपरिको बारीकान्ला बाँझा छन् । घरकुरुवाले गर्न नै के सक्छ र ? उसले र उसकी बुढीले खनीखोस्री गरी लगाएका एक दुई वटा सिमीका, काँव्रmाका र फर्सी–घिरौँलाका झाङबाहेक अरू केही छैन । 

दुई चार वर्षपहिले यकिनले भन्न सकिन्न, एक जना युवक विदेशबाट आएको थियो । त्यस बेला पनि घर कुरुवा यही बुढो थियो । हुन त यसको पनि निधन भइसक्नुपर्ने हो तर आयु लामै लिएर आएको रहेछ । घर कुर्न छाडेको छैन । विदेशमा बसेकाहरूले केही न केही नगद रकम पठाइराखेकै थिए, अहिले बन्द जसो छ । त्यसैमा झुन्डिएको थियो ऊ । गाउँमा नगदको अभाव छ तर भनिन्छ बुढोले भित्रभित्रै केही रकम जम्मा गरिसकेको थियो । तर उसलाई घर मर्मत गर्न भनेर कसैले रकम पठाउने गरेको छैन । बुढोले पनि आफूलाई खाँचो पर्नेजति घरको भाग मर्मत गरेर बस्ने गरेको छ । कुँजी छोरी पनि धेरै टिक्ने स्वास्थ्यकी छैन । बुढीले बरु चुरोट तानेर भए पनि उसलाई साथ दिइरहेकी छ । बुढोले नजिकैको पसलबाट किनेर ल्याएको चामल दाल र बारीबाट टिपेको अर्गानिक साग तरकारी बुढीले पकाएर खुवाउने–खाने गरेकी छ । 

भनिसकियो केही वर्षपहिले विदेशबाट एक जना तन्नेरी आएको थियो यो घर खोज्दै । उसले परिचयमा भन्यो– ‘मेरो हजुरबाको घर हो यो ।’ ऊ किन आएको रहेछ भने यो पुरानो घरको तस्बिर खिचेर विदेशको कुनै प्रतिष्ठित पत्रिकामा छपाएर प्रसिद्धि कमाउन । यसै भन्थ्यो । केही वर्षअघिको कुरो हो यो । उसको साथमा स्थानीय बजारमा बिहे, व्रतबन्ध र मरपरमा भिडियो बनाउने स्थानीय युवक पनि थियो । ऊ पनि यहीँ बस्यो । उनीहरू धेरै दिन बसेनन् । घरको टाढा नजिक दुवै ठाउँबाट भिडियो वा तस्बिर खिचे । उनीहरूले अनेक कोणबाट त्यो खिच्ने काम गरे भने, ‘विदेशी बजारमा यसको मूल्य धेरै हुने छ ।’ घरका सबै चोटाकोठा, छानो, भान्सा र बैठक आदिको निकै मेहनतसाथ फोटो र भिडियो खिचे । युवकले विदेशबाट उपकरणहहरू ल्याएको रहेछ । यहीँबाट पनि लोकल युवकको पसलबाट अरू आवश्यक सामान भाडामा लिएको रहेछ । लोकल युवक प्रसन्न थियो ठुलै काम गर्न पाएँ भनेर । भन्थ्यो– भविष्यमा नेसनल जियोग्राफीमा काम पाउन सक्छु । ती दुवै युवक उत्साहित थिए । आपसमा कुरा गरेको सुनिन्थ्यो– ‘यो हाम्रो मुलुकको टिपिकल घर हो । यस्तो घर अब भेटिँदैन ।’ उति बेला कुरुवा बुढोले बिचमा जान्ने भएर भनेको थियो, ‘बाबु हो, तपाईंहरूले ठिक कुरा गर्नुभो । अचेल यस्ता घर र यिनमा बस्ने मानिस भेटिँदैनन् । हामी जस्ता बुढाखाडा जसले घर कुरेर गाउँतिर आउने बाटो हेरेर बसेका हुन्छौँ त्यस्ता प्राणी मात्र पाइन्छन् । ठिकै हो, गाउँ नै रित्तिएका छन् । लोग्ने मानिस छैनन् र बिस्तारै आइमाई र केटीहरू पनि उतै लाग्दै छन् । फर्केर आउने सोच कसैमा छैन ।’ कुरुवा बुढोलाई यो चिन्ता पनि थियो, आफू मरेपछि लतार्दै भए पनि घाटसम्म लगेर अन्तिम संस्कार गरिदिने कोही छैन । त्यस कारण ऊ यसमा धेरै चिन्ता लिन्थ्यो– कसरी अन्तिम संस्कारको व्यवस्था गर्ने । लास त यो घरमा सड्न दिनुभएन ।  

युवकहरूले उसका कुरा सुने, जबाफमा केही भनेनन् । उनीहरूको भङ्गिमाले यो देखाइरहेको थियो– बुढो बढी जान्ने भएको छ । घर कुरुवा हो तर कुरा भने ठुला गर्छ । कुरो उनीहरूले मनैमा राखे । अन्तिम दिनभन्दा अघिल्लो दिन उनीहरूले बुढोलाई फकाउन भने, ‘बा, गाउँमा गएर एउटा जख्खु भाले किनेर ल्याउनुस् र मरमसला ट्वाक्क पारेर पकाउन लगाउनोस् । दुई बोतल राम्रो उच्च स्तरको मदिरा पनि ल्याउनुस् । सँगै बसेर खाउँला । आज हाम्रो कामको अन्तिम दिन हो । हाम्रो काम सकिएको खुसियालीमा आजै भोज भइजाओस् । भोलि टापनटिपन काम सकाएर हामी पर्सि गइहाल्ने छौँ ।’ बुढोलाई पर्सि जान्छौँ भनेर युवकहरूले खुसी पार्न चाहेका थिए । बुढोलाई केही दिनको साथसङ्गत भए पनि युवकहरूको व्रिmयाकलापले रमाइलो अनुभव गराएको थियो । त्यो पनि अब पर्सिदेखि हराउने भो । बुढाको मन उदास भयो । कोही यो घरमा बस्ने गरी आउँदैन । त्यस्तो लागे पनि बुढोको मनमा यो आइरहन्थ्यो– यो घर बुढो भए पनि उसैको हो । कारण यो पनि थियो, बुढोले यसै घरको ओतमा आश्रय पाएको छ । यस घरको नाति विदेशबाट आएर पनि यो घरको स्वामित्व दाबी गरिरहेको छैन । कति पराई भएछन् यिनीहरू भनेर कुरुवा बुढोले आश्चर्य मान्थ्यो । 

विदेशी नाति केटो राम्ररी आफ्नो भाषा बोल्न जान्दैनथ्यो । उसमा घरप्रति मात्र आश्चर्यको भाव थियो । सानैमा पनि ऊ यो घरमा आएको थिएन । उतै जन्मियो, उतै हुर्कियो । नेपाली मूलका आमाबाबुको छोरो । बाजेबराजुको यो घर थियो, जुन अहिले ढल्ने अवस्थामा थियो । घरको मूल ढोका खुस्केर एकातिर पछारिन खोज्दै थियो, घरका बाहिरी भित्ता जुन पहिले छोरीबुहारीहरूले जतनले लिपलाप गरेर चिटिक्कको पार्थे र रातो माटोको पटुकी बेरिदिन्थे त्यो अहिले विरूप लाग्दो भएको थियो । त्यहाँ घाँससैघाँस उम्रेको छ । घर अत्यन्त रमणीय प्राकृतिक परिवेशमा अवस्थित थियो तर घर वरिपरि अहिले झाडले उजाडिएको थियो । मानौँ सयौँ वर्षदेखि यता कसैले बसोबास गरेको छैन र घरले स्याहारसुसार पाएको छैन । कुरुवा बुढोलाई घरको पुरानो रूप थाहा थियो तर त्यो रूप कायम राख्नु उसको बुतामा थिएन । घर भत्कँदै गएको ऊ विवश भएर हेर्न बाध्य थियो । 

त्यस साँझ उनीहरूले रमाइलो गरे । युवकहरू गाउँकै एउटा होटेलको कोठामा भाडा तिरेर बस्ने । बुढो घरमा कुनै एउटा कोठा साबुतको थिएन, जसलाई बढारकुडार गरी बस्न लायकको बनाउन सकियोस् । बाहिरबाट हेर्दा मात्र घरको पूरा खाका बचेको थियो तर माथि छानो पनि खस्ने तर्खरमा थियो । बलाहरू मक्किएका थिए र खाँबा धमिराले भित्रसम्म खोक्राे पारिसको थिए । कुरुवा बुढो धरि घरको हालत बुझ्न कोठा, भान्सा र बैठकतिर जान डराउँथ्यो । त्यसैले उनीहरू कुरुवा बुढोले सुरक्षित राखेको कटेरो जस्तो भागमा राति जमेर बसे । बुढोले भाले पनि जख्खु नै छानेर ल्याएको रहेछ । उच्च मदिरा तिनले पिए । कुरुवाकी बुढीले मासुभात पकाउन सकिनँ र ऊ पहिले नै बिहानको बासी र चिसो सागभात खाएर सुत्न गइसकेकी थिई । मासुभात जानेजति सिप लडाएर बुढोले नै पकायो । 

पर्सिको दिन विदेशबाट आएको युवक र लोकल प्राविधिक तन्नेरी कुरुवा बुढोसित बिदाबारी भएर बाटो लागे । जानुअघि बुढाको हातमा दुई वटा हजारका नोट राखिदिए र लोकल युवकले गरेको नमस्कारको नक्कल गर्दै बिदेसिएको नेपाली मूलको छोराले पनि नमस्कार ग¥यो । कुरुवा बुढोलाई पनि खुसी लाग्यो तर मन उदास थियो । जसको पैतृक घर हो, उसैलाई भत्किन लागेको पुस्तैनी घरको वास्ता छैन भनेपछि उसले सोच्यो यो बुढेसकालमा यो घरको दायित्व उसले कसरी समाल्ने ? कुरुवा बसेको भए पनि उसलाई घर आफ्नै लाग्दै आएको थियो । अहिले कुरुवा बुढो छैन । अफसोसका साथ यो भन्न सकिन्छ पोहोर साल ऊ बित्यो । पहिले बुढी बिती र त्यसभन्दा पहिले कुँजी छोरी । गाउँकाहरूले जन्म मृत्यु साथसाथै रहन्छन् भनेर चित्त बुझाए  तर गाउँमा खासै मानिस थिएनन् । चित्त बुझाए भन्नु पनि उपयुक्त देखिएन तर विदेश गएकालाई छाडेर गाउँमा जति मानिस बाँकी थिए तिनले चित्त बुझाए । लाइमिली बुढाहरूको अन्तिम संस्कार गरिदिए । नेपाली मूलको आमाबाबुबाट जन्मेको छोरोको विदेशी युवक छोरो गएको केही छोटो समयपछि नै एक हुल टुरिस्ट त्यो गाउँमा आए । युवा र प्रौढ वयका सफासुग्घर मगमगाउँदा सुसम्पन्न लाग्ने महिला–पुरुषको एउटा पर्यटक टोली नै थियो त्यो । बस गाउँसम्म आउन सक्थ्यो । ती पर्यटकहरू सुविधायुक्त दुई मिनीबसमा आएका थिए । प्लेनबाट काठामाडौँ ओर्लेपछि तिनले पाँचतारे होटेलको गाइडलाई भनेका थिए– “हामीलाई सोझै यो घर भए ठाउँ लैजाऊ । टेक अस् देयर ।” गाइड एउटा चलाख युवक थियो । उसले अलिकति अनुसन्धान गरेर यो थाहा पाएको थियो– उनीहरूले देखाएको विदेशको एक नामी पत्रिकामा छापिएको घरको तस्बिर छपाउने युवकले त्यही घरको विवरण र तस्बिरका कारण ख्याति कमाएको थियो । ऊ यसै गाउँको नातिपनाति केही थियो । गाइडले तस्बिर भएको पत्रिका हातमा लिएर त्यो अमेरिकी युवक जो नेपाली आमाबाबुको छोराको छोरो सन्तान थियो लाई सहयोग गर्ने लोकल युवकको पत्तो लगायो ।

लोकल तन्नेरी अलि उदास थियो । कारण गाइडले पत्रिका देखाएर– लौ त यी पर्यटकहरूलाई त्यो ठाउँ लिएर जाऊँ दाइ । पारिश्रमिक कुस्त पाइने छ,’ भन्दा उसमा उत्साह देखिएन । पहिलो कुरो त यो थियो, पत्रिकामा छापिएको तस्बिरको साथमा उसको नाम थिएन । भिडियो पनि खिचिएको थियो, त्यसमा पनि उसले थाहा पायो एक प्राविधिक सहयोगीका रूपमा मात्र उसको नाम छ, जबकि उसले सबै तस्बिर र भिडियो तयार गर्नमा गहिरो परिश्रम गरेको थियो । परिणाममा उसले केही पाएन । आभारसम्म पनि पाएन । यस कारण उदास थियो उसको मन । पारिश्रमिक उसले ठटाएर लिएको हो । त्यो पारिश्रमिकको तुलनामा अहिले पूरै पृष्ठको तस्बिर छपाउनेले कति पायो होला ? ऊ यस कारण पनि उदास थियो । 

घरको तस्बिर र विवरणका कारण अहिले विदेशी पर्यटकहरू ओइरिए । त्यो घर प्रत्यक्ष हेर्न चाहेका छन् । पारिश्रमिक वा रकम जे भनौँ पर्याप्त पाइने मौका छ तापनि लोकल युवक उदास छ । कारण ?

उसले गाइडलाई बडो दुःखी मनले भन्यो– “भाइ त्यो घर त पोहोरै ढलिसक्यो ।” 

‘‘ए हो दाइ ? अनि यी टुरिस्टलाई के देखाउने ?’’ 

लोकल युवक एकछिन मौन बस्यो र वेदनापूर्ण स्वरमा भन्यो, “देखाउनेवर्ने कुरो केही बाँकी छैन भाइ । त्यो घर इतिहासको कुरो भइसक्यो । त्यसका काठपात, डाँडाभाटा, धुरीखाँबो सबै चोरिएर गायब पारिइसके र केही बेचिए, केही मक्किएर ध्वस्त भए । त्यो घर अब छैन भाइ ।”