• २० असोज २०८१, आइतबार

सद्भाव कायम राख्नका लागि पूर्व शान्ति समितिको अपिल

blog

गजेन्द्र गुरुङ

खजुरा, असोज १९ गते । धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थितीप्रति पूर्वस्थानीय शान्ति समिति बाँकेका संयोजकहरुले दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बद्ध पक्षसँग सामूहिक अपिल गर्नुभएको छ ।

२०८० असोज १६ गतेको प्रदर्शनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच बिबाद सृजना हुँदा सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड तथा उच्छृङ्खल गतिविधी भएको र त्यसैका क्रममा केही सुरक्षाकर्मीसहित २२ जना घाइते समेत भएको घटनाप्रति दुःख व्यक्त गरेको  छ ।

पूर्वशान्ति समितिका संयोजकहरुद्धारा जारी अपिलमा नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक एक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उल्लेख गरिएको सन्दर्भमा सबै पक्षले यस संरक्षण एवं प्रवद्र्धन गर्न अनुरोध गरेको  छ । संयुक्त राष्ट्र संघको वडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबै जात, जाती, धर्म, समुदायका नागरिकको कर्तव्य एवं दायित्व हुने भएकाले यसमा सबैले सकारात्मक भूमिका खेल्न अपिलमा गरेको  छ।

साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, सामाजिक सञ्जालमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामानै असर गर्ने खालका सामाग्रीहरु पोष्ट नगर्न, धार्मिक आस्थामा असर पर्ने गरी अमर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग नगर्न, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकार हनन नगर्न समेत सम्बन्धित पक्षलाई आग्रह गरेकोे छ । घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानून बमोजिम कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न÷नगराउन र संयमता अपनाउन पूर्वस्थानीय शान्ति समितिले सबैमा अपिल गरेको छ ।