काठमाडौं, असोज १४ गते । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विशिष्ट व्यक्तिहरूको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गर्नुभयो । उहाँले सवारीलाई ठुलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिनुभयो ।
‘‘कहिले काहीँ यस्तो लाग्छ की, अरूले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ । हाम्रो देशमा ठुला–ठुला मान्छेहरूले सवारी रे । सवारी पहिला पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो । तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ ।,’’ वरिष्ठ कलाकार आचार्यले भन्नुभयो, ‘‘त्यसलाई त्यति ठुलो दर्जा दिइएको छ की कुनै ठुलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौँ उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ, बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ । भित्रभित्रै रिस उठ्छ । सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा । यसलाई पनि करेक्सन गर्नुपर्छ । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ ।’’
उहाँले सार्वजनिक यातायातको विकास नभईकन कुनैपनि देशमा जनताले सुख नपाउने बताउनु भयो । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भएपनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको जिकिर उहाँले गर्नुभयो । उहाँले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
‘‘हामीले ट्राफिक नियमको यति धेरै उल्लङ्घन गर्छौँ र सबैभन्दा नेपालका धेरै रिसाउनुपर्ने पेसा भनेकै ट्राफिक प्रहरी होला । छिनछिनमा सिठी बजाइरहेको छ, उता पनि एउटाले नियम उल्लङ्घन गर्छ, उता पनि उल्लङ्घन छ । सबैसँग रिसाउनुपर्ने र टेन्सनमा आउनुपर्ने पेसाहरूप्रति हामीले गौरव गर्नुपर्छ । हामीले उहाँहरूको मनोबल उठाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेछ । काठमाडौँ उपत्यकाको सडक भनेको पहिला पाँच वटा हात्ती हिँड्न भनेर बनाएको रे जुद्ध शमशेरले ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले दिनको १४ लाख भेकल गुडाउनुपरेको छ । वास्तवमा भन्ने हो भने बाटो नै छैन । काठमाडौँमा आजको १० वर्षपछिको स्थिति के होला ? भयावह स्थिति हुनसक्छ । मान्छेले सबैभन्दा ठुलो प्रगति ग¥यो भने उन्नति गरे भने सुन्दर घर र गाडी किन्ने कल्पना हुन्छ । त्यो दिनहुँ दिन बढ्दै जान्छ । घट्ने सम्भावना छैन । सार्वजनिक यातायातको विकास नभईकन कुनैपनि देशमा जनताले सुख पाउँदैनन् । ट्राफिक जामको त्यत्ति नै ठुलो समस्या विभिन्न देशका सहरमा छन् तर त्यहाँ सबैभन्दा ठुलो आधार भनेको सार्वजनिक यातायात हो । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्छ ।’’ उहाँले विरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्नु नहुने बताउनुभयो ।