• ९ मंसिर २०८१, आइतबार

यो राष्ट्रको शान हो

blog

कस्तो रम्य धरा जता नजर गो, आहा ! छ भन्दो मन

मस्र्याङ्दी तटमाथ पुस्तुन यहीँ, सुन्दै गुफा गुञ्जन

यै धर्ती रगिँली परीसित बसी, हुर्की यहीँ माधव

धर्तीकै वरदान गान त सुनी, पायौ कि वाणी बल ?

चारैतर्फ छ भीर तापनि भिरी, घाँसे लुगा लम्बरी

आहा  क्या हरियो लता कुसुमले, धर्ती हुँदी सुन्दरी

के वृन्दावन बाल माधव यतै, घुम्दै सुनी बाँसुरी ?

हाल्यौ बालक कालमै कि त यतै, ती सिर्जना आँकुरी ?

बढ्दो बाल उमेर ज्ञान गुन रे, सिक्ने सुनौला घडी

पुग्दा पास खुदी त बाहुन चरी, विद्वान्सँगै रे पढी

सिक्दै कोमल शब्द रत्न बटुली, लाग्यौ कि ता सिर्जन

मानौ पुष्पक कोपिला कुसुमिँदै, लाग्यो कि झैँ रङ्गीन ।

जोडी बन्न पुगिन् नि बाल वय यै, गौरी बनी दौँतरी

खेल्यौ कुक्कु गरेर शब्द पहिले, लुक्दै अरे बेलुकी

बैँसैमा जब ती भइन् अलप रे, रोयौ तिमी भल्भल

‘गौरी’ अश्रुसँगै फुटेर कविता, निस्किन्न कि तिम्रै दिल ?

पढ्दै संस्कृत कालिदास कविका, ती काव्य शिल्पी कला

लेख्यौ राष्ट्रिय गीत, काव्य रसिला, खुल्छन् अनेकौँ गला

सुन्दा कोकिल गान गीत कविता, यो राष्ट्रको गान हौ

आत्मा बोल्दछ स्वतः राष्ट्रकविजी, यो राष्ट्रको सान हौ ।