सजिलो त हार्न सजिलो हुन्छ
मलाई सजिलो कुरा केही पनि मन पर्दैन !
मैले सधैँ सधैँ
उड्दै गरेको चरा मन पराएको छु
बग्ने सहज बाटो सकिए पनि
हरेस नखाएर
भिरबाट हाम्फाल्ने छहरा मन पराएको छु
मन पराएको छु–
अँध्यारो रातमा टिमटिमाउने तारा
र, बर्सादले रुझेका रुख–बिरुवा मन पराएको छु
मन पराएको छु
पसिनाले पाकेको रोपहारको अनुहार
र, प्रतिस्पर्धाका लागि सधैँ तम्तयार
सन्तानहरू मन पराएको छु ।
यी सबैले सधैँ जोखिम उठाएकै छन् ।
मलाई ताप वा राप बिनाको आगो थाहा छैन
चिसो नपचाएको हिमाल थाहा छैन
हावाले कहिल्यै थकाइ मारेको थाहा छैन
यी पनि त सङ्घर्षकै केही आयामहरू हुन् ।
मेरो मस्तिष्कमा चट्याङ परेको बेला हो यो
अरिङ्गालले चिलेर अनुहार हराएको छ
पोलेको छ पीडाले शरीरका यावत ग्रन्थीहरू
र, डढेलो सल्किरहेछ आँखाको नानीमा
मुट्ठीभरि सिस्नुको झ्याङ
र, पैतालाभरि आगोको उत्पात छ
फेरि पनि हार्न तयार छैन मभित्रको मान्छे
र, यतिखेर–
आङभरि काँडा उमारेर नाचिरहेको दुम्सीलाई सम्झिरहेछ
पोखरी बन्छु भनेर कुनै नदी बग्दैन– सोचिरहेछ
रात पर्छ भनेर सूर्य कहिल्यै उदाउन छोड्दैन– विचारिरहेछ ।
डराएर डर जाँदैन
ढुङ्गाले पानी फोर्दैन ।
सजिलो त मर्न सजिलो हुन्छ
मलाई सजिलो कुरा केही पनि मन पर्दैन !