• ३ असार २०८२, मङ्गलबार

मेसिनरी वाल निर्माणमा आमाहरूको जोस

blog

बर्दिबास ११ खयरमारा थापा गाउँस्थित बस्ती जोगाउने ‘मेसिनरी वाल’ निर्माणमा श्रम गर्दै महिलाहरू । तस्विरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असार २ गते । तराईको हपहप्ती गर्मीमा बर्दिबास ११ खयरमाराको थापा टोलस्थित महिलाहरूलाई अहिले चुरेको फेदीमा ‘मेसिनरी वाल’ निर्माण गर्न भ्याइ नभ्याई छ । 

मौसमी तापक्रम झन्डै ४० डिग्री पुग्न लागेको छ । पसिनाले लफ्रक्क भिजेका शरीर, भोको पेट फेरि पनि उत्तिकै फुर्ती र उत्साहसाथ महिलाहरू ढुङ्गा पुर्याउन, सिमेन्ट मिलाउन र ‘मेसिनरी वाल’ बनाउन व्यस्त छन् । बोल्ने फुर्सद छैन । 

जेठ ७ गतेबाट निर्माण थालेदेखि यहाँका करिब २६ जना महिलाहरू गाउँको विकाशमा दिनरात नभनी श्रम गर्दै आउनु भएको छ । 

श्रम गरे पनि उहाँहरू श्रमिक भने हैन । सवै जना प्रगतिशील महिला समूहसँग आबद्ध हुनुहुन्छ । त्यसमध्येकी ७ जना उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरू आफै पनि श्रम गर्दै आउनु भएको छ । 

जेठ लागे यता असारे विकाशको भीडमा बर्दिबासको सुदूर उत्तरवर्ती खयरमाराका महिला मैत्री उपभोक्ता समितिको स्तरीय काम, श्रम र उत्साहले चर्चा पाएको छ । 

स्थानीय समाजसेवी पोषण थापाका अनुसार चुरेबाट बगेर आउने बर्से भलबाट बस्ती जोगाउन मधेस प्रदेश पूर्वाधार विकाश कार्यालय महोत्तरीले ५० लाख बजेट स्वीकृत गरेको छ । 

यो बजेटले पश्चिमको बाँके खोलादेखि पूर्वको बढुवा खोल्सीसम्म सडकको दक्षिण पट्टी २७० मिटर लामो मेसिनरी वाल निर्माणका लागि महिला मैत्री उपभोक्ता समितिले सम्झौता गरेदेखि वाल निर्माणले चर्चा पाउँदै आएको हो ।  

समाजसेवी थापाले भन्नु भयो ‘मुलुकको समृद्धिका लागि विकाशमा महिला नेतृत्व अपरिहार्य छ । त्यसको सुरुवात खयरमाराको थापा टोलबाट सुरु भएको छ ।’

वडाध्यक्ष पूर्णबहादुर बलका अनुसार सुरुमा वाल निर्माणको योजनामा बिचौलियाले चलखेल गर्न खोजेपछि विवाद भयो । गाउँले भेलाको सहमतिमा वडाले सिफारिस गरेपछि पहिलो पटक महिला मैत्री उपभोक्ता समिति गठन भएको हो । 

गाउँलेका अनुसार वर्षे भलले थापा टोल र काफले टोलका गरी ७० परिवारका ६० विगाहा घरजग्गामा क्षति पुर्याउदै आएको थियो । 

उपभोक्ता समितिकी अध्यक्ष अनिता सुवेदीले वर्षौँपछि बर्से भलबाट बस्ती संरक्षणको सपना साकार हुने भएपछि बाल निर्माणका लागि गाँउका महिला दिनरात नभनी खटिएको बताउनु भयो । 

अध्यक्ष सुवेदीले भन्नु भयो ‘एकातिर गुणस्तरीय काम र समयमै काम सम्पन्न गर्नु पर्ने चुनौती छ । अर्कोतिर अवसर पाए महिलाले जे पनि गर्न सक्छन् भन्ने देखाउन पनि भोक तीर्खा नभनी श्रम गरेका हौँ ।’ 

समितिकी कोषाध्यक्ष अनुराधा मगरातीले यहाँ श्रम गर्ने सबै महिला कसैले ज्याला नलिएको बताउनुभयो । सम्झौता अनुसार दुई लाख ५३ हजार बराबरको त श्रमदान नै गर्नु पर्छ ।

तयपछि प्राप्त हुने पारिश्रमिक समूहको खातामा जम्मा हुने उहाँको भनाई छ । यो बचतले आफ्ना बस्तीमा उत्पादित दूधलाई बजारीकरण गर्न चिस्यान केन्द्र र भवन निर्माणका लागि श्रोत जुटाउन श्रम गर्दै आएको बताउनु भयो । 

यसअघि समूहका सदस्यले धान गहुँ काटेर, बनीबुतो गरेर ३ लाख जति बचत गर्नु भएको छ ।