कल्पना खरेल
नवलपरासी पश्चिम, असार २६ गते । किसानलाई आधुनिक प्रविधिसगँ जोडेर उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका– ६ का ४० कृषकलाई अनुदानमा कृषि यान्त्रिकरण वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको स्वीकृत १० लाख बजेटअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि यान्त्रिकरण वितरण गरिएको हो । कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताउनुभयो ।
उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ । वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी संस्थासगँ समन्वय र सहजीकरण गरी किसानलाई कृषि यान्त्रिकरण वितरण गरिएको वडाध्यक्ष हेमलाल शर्मा चापागाईले बताउनुभयो ।
उहाँले वितरण गरिएको आधुनिक कृषि उपकरणको समय समयमा सुनवल कृषि शाखाबाट अनुगम गरिने हुँदा दुरुपयोग नगर्न समेत कृषकलाई आग्रह गर्नुभयो । उपकरण पाएसँगै कृषकहरु समयमै काम गर्न सकिने हुँदा उत्पादनमा वृद्धि हुनसक्ने विश्वास लिएका छन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले कृषिलाई प्राथमिकतामा राखेर निर्भाहमुखि खेतीलाई विस्तारै विस्तापित गर्र्दै व्यवसायमुखी बनाउन निरन्तर लागिएको सुनवल नगरपालिकाले जनाएको छ ।