सम्झी सम्झी कति दिन यहाँ कल्पनामा बिताएँ ।
ढोका जस्तै ढकढक गरी ढुक्ढुकी ढक्ढकाएँ ।।
धर्ती तिम्रै नयनहरूमा आउँछिन् बस्नलाई ।
राखिद्यौ ए हृदयबिचको कन्दरामा मलाई ।।
पानी जस्तै कल कल बगी जान्छ यो जिन्दगानी ।
लामो आशा क्षणिक सुखको छाल हो यो जवानी ।।
प्याला बोकी प्रणय रसले छर्किएला मलाई ।
खोज्दै होला कति विरहमा जूनले घामलाई ।।
पैलो झुल्का रवि किरणमा मुस्कुराएर आऊ ।
ल्याई नौला हृदयभरका प्रेमका गीत गाऊ ।।
आँखा आँखाहरूसँग जुधे प्राण यो प्राणसँग ।
तिम्रो व्याख्या म गरुँ कसरी ? शब्द छैनन् मसँग ।।
मेरो चिठ्ठी पवन अहिल्यै झट्ट बोकेर जाऊ ।
मेरी प्यारी हृदय बिचको बस्दछिन् एक ठाउँ ।।
खोज्दा खोज्दै सरस कविता आफूभित्रै हराएँ ।
माया लाएँ तर पनि सधैँ भन्नलाई डराएँ ।।
जान्नौ होला अब शिशिरमा पातजस्तै झरेर ।
अँगालोमा जुनिभर यही प्रेम राखेँ भरेर ।।
माया बोकी अब मिलनको बिन्दुमा पुग्न पाऊँ ।
बग्दा बग्दै प्रणय रसको सिन्धुमा पुग्न पाऊँ ।।