कुनै पनि कुराको जबसम्म पूर्ण जानकारी प्राप्त हुँदैन, त्यस कुराको पछि लाग्दा चाहेको उपलब्धि प्राप्त गर्न सकिन्न । योगमा पनि यो नियम लागु हुन्छ । त्यसैले मनलाग्दो किसिमले योग गर्नु हुन्न ।
जबसम्म ‘आत्मा’ चिन्न सकिन्न, योगासन र प्राणायाम नगरेकै राम्रो । व्यवस्थित किसिमबाट सास लिने, खानपिन गर्ने, उठबस गर्ने, सुत्ने र यस संसारको पूर्ण आनन्द लिने क्षमताको विकास गरेपछि मात्र योग सिक्नु पर्छ । संसारका सम्पूर्ण व्यायाम पद्धति पसिनै पसिनाले निथु्रक्क भिजाउने सीमासम्म श्रमको माग गर्दछ तर योगासनले भने श्रम र विश्रामलाई सन्तुलनमा राख्दछ । अन्य व्यायाम शरीरका मांसपेशीहरूमा उभार र कडापन ल्याउन भनेर नै गर्ने गरिन्छ । जब कि योगासनले शरीरको सम्पूर्ण बाह्य र आन्तरिक अङ्गहरूमा लचकता तथा सक्षम सव्रिmयता उत्पन्न गराउँछ ।
योगासनले रोगी र मुर्दा अङ्गलाई पनि प्राणवान् बनाउँछ र मानिसलाई अवसाद, खिन्नताबाट मुक्त बनाएर हाँस्दै रमाउँदै गरेको ‘मन’ प्रदान गर्दछ । सबभन्दा ठुलो देन भनेको योगले शरीरभाव होइन, आध्यात्मिक उन्नतिको ढोका खोल्छ ।
योगको सामान्य चर्चा भएको ठाउँमा योग कहिले गर्ने भन्ने प्रश्न उठ्ने गरेको छ । कतिपय मानिस त कुन उमेरमा योग गर्दा राम्रो हुन्छ ? योग गर्ने खास ऋतु कुन हो ? कति खेर गर्दा राम्रो हुन्छ ? केही खाएर गर्ने कि वा केही पनि नखाईकनै गर्ने ? यी सामान्य जिज्ञासा हुन् । हुन सक्छ, यस्ता प्रश्नको पछाडि गहिरो रहस्य लुकेको होला ।
कतिपय मानिसले परम्परादेखि चल्दै आएको नियम अनुसार “यो त प्रौढावस्थामा गर्नु पर्छ” भनेको पनि सुनिन्छ । पहिले यस्तै व्यवस्था थियो कि ? आश्रम व्यवस्थामा जीवनको चौथो प्रहर सन्न्यासाश्रममा योग गर्ने गर्थे । यो उमेरमा योग गर्न सक्ने त विरलै हुन्छन् ।
यस कारण जुन सुकै उमेर भएकाले पनि पहिले योगका बारेमा राम्ररी थाहा पाउनु पर्छ । जस्तो : भर्खरै भोजन गरेको समयमा पनि गर्न हुने थुप्रै योगासन छन् । त्यस अवस्थामा पेट थिचिने वा पेटमा दबाब पर्ने योगासन भने गर्नु भएन । खाली पेटमा भने सम्पूर्ण आसन सहजताका साथ गर्न सकिन्छ । शरीरको लचकतामा बलजफ्ती भने कदापि गर्नु हुँदैन ।
समय र मौसमका बारेमा योग विशेषज्ञहरूका आ–आफ्नो मान्यता छन् । मन स्वच्छ छ भने जुन समयमा अनुकूल पर्छ गर्न हुन्छ । जब आफ्ना लागि योगासन सिक्नु छ भने अरूको लहलहैमा नलागेको राम्रो । अरूको विचारपछि लाग्दा भ्रममा परिन्छ ।
एउटा ऋतु समाप्त भएपछि अर्को ऋतु प्रारम्भ हुन्छ । दुई ऋतुको सन्धिकालमा योग सिक्ने समयलाई शास्त्रले सर्वोत्तम भनेको छ । दिन र रात मिलाएर चौबिस घण्टा हुन्छ । जब रात सकिँदै गरेको हुन्छ । न त दिन नै भइसकेको हुन्छ । हो यही दिन र रातको सन्धि नै ‘सन्ध्या’ हो । यसो त ‘साँझ’ लाई पनि सन्ध्या भनिन्छ । यस कारण सुविधा अनुसार बिहान र साँझको कुनै पनि सन्ध्या रोज्नुस् । शारीरिक स्थितिका लागि सबभन्दा राम्रो छनोट यसैलाई भन्न सकिन्छ । किनभने शान्त रात्रिमा मानिसको शरीर पूर्ण रूपले विश्राम गरिसकेको हुन्छ । नयाँ दिनको कर्तव्यको पूर्तिका लागि सहर्ष श्रम गर्न तत्पर रहन्छ ।
बिहानको समयमा भोजन राम्ररी पचेर, शौच क्रियाबाट निवृत्त भइसकेको हुन्छ । नयाँ भोक जाग्न थालेको हुन्छ । रात र दिन, विश्राम र श्रम, भोजन पच्नु र भोजन खोज्नु यस्ता कुराको सन्धि समय पनि हो बिहान । मानिसको श्वासोच्छवासको सन्धि समय पनि हो यो । हाम्रो नाकमा दुइटा प्वाल छ, सास फेर्नका लागि । प्रत्येकले अढाइ अढाइ घण्टा श्वासोच्छवास गर्दछ । जब एउटाको पालो सकिन थाल्दछ र अर्कोले सुरु गर्न थालेको हुन्छ, तब दुवै प्वालबाट सरलतापूर्वक सास आउन जान थाल्दछ । यसलाई नै योगको भाषामा ‘सुषुम्ना स्वर’ भन्ने गरिन्छ । ध्यानयोगका लागि यही सर्वोत्तम स्थिति हो । योगाभ्यास प्रारम्भ गर्न नसक्नुको पछाडि अनेकौँ कारण हुन सक्छन् ।
कतिपय मानिसले भन्ने गरेका छन्– घर गृहस्थीको झन्झटबाट मुक्त हुन जोगी बन्नु बेस । के जोगीलाई कुनै पनि किसिमको मानसिक चिन्ता नै हुँदैन ? हो उदार भक्तको कारण जोगी–सन्न्यासीलाई खानपिनको कुनै समस्या हुँदैन न त बास बस्न नै । हुन सक्छ, जोगी–सन्न्यासी खानपिन र बासको समस्याबाट मुक्त होलान् तर पनि समस्या छँदै छैन भनेर भन्न सकिन्न । उदार भक्तको समस्या समाधान गर्ने कुरा सोच्दासोच्दै आफैँ समस्याले जेलिएका पनि पाइएका छन् । वास्तवमा जोगी–सन्न्यासीलाई कुनै समस्या नै नहुनुपर्ने हो ।
जोगी–सन्न्यासी त पुरानो जीवनको सम्पूर्ण पीडा, समस्या, बाधासँगै सङ्घर्ष गर्दै आजको स्थितिमा पुगेका हुन्छन् । जोगी–सन्न्यासीले सबै समस्याको बिचमा रहेर पनि सजिलै पार पाउने तरिका थाहा पाएका हुन्छन् । समस्याबाट सहजै कसरी उम्किन सकिन्छ, त्यो थाहा पाउनु मुख्य कुरा हो । जोगी–सन्न्यासीको कुनै सांसारिक आकाङ्क्षा या आवश्यकता नै बाँकी बचेको हुँदैन । वास्तवमा जोगी–सन्न्यासी बिकाउ हुँदैन । यस कारण उनीहरूको कुनै मूल्य हुँदैन । जोगी–सन्न्यासी त गरिब–धनी, योगी–भोगी–रोगी, सर्वोच्च पदाधकिारी र दीन–दुःखी, सवलाङ्ग र विकलाङ्ग, सज्जन र दुर्जन जो भए पनि सबैलाई आफ्नो करुणा बाँड्न तयार हुन्छन् । हो मनमौजी भने हुन्छन् है । मन लाग्यो भने कहीँ पनि कसैले पनि बोलाउनासाथ गई पनि हाल्छन् ।
रोग तब लाग्दछ, जब शरीरले अथवा अङ्गविशेषले आवश्यकता अनुसारको विश्राम पाउँदैन । रोगीले विश्राम गर्नु पर्छ । विश्राम गरिएन भने रोगलाई जतिसुकै उपचार गरे पनि काम लाग्दैन । रोगको अवस्थामा थकानको अवस्थामा, मन दुःखी भएको अवस्थामा ‘योगाभ्यास’ कदापि गर्नु भएन । यस्तो अवस्थाबाट मुक्त हुनु नै वास्तविक ‘योग’ हो । वास्तविक ‘योग’ हो सन्धिकाल हो ।
भारी टाउकोमा होस् या शरीरमा– भारी उठाउनु पनि वास्तवमा श्रम हो । योग गर्नु पनि श्रम हो । श्रम गरेर गलित भएको तन–मनमा श्रमको भारी थप्नु हुँदैन । बरु विश्राम नै यसको सही उपचार हो ।
महिलाको एउटा निश्चित उमेरसम्म मासिक धर्म अनिवार्य बनिरहन्छ । मासिक धर्मको समयमा शारीरिक श्रम गरेर भारीमाथि भारी थप्नु हुँदैन । अन्यथा आफू र आफ्नो भावी सन्तानले यसको महँगो मूल्य चुकाउनुपर्ने हुन्छ । यस्तो समयमा विश्राम नै राम्रो योग हो ।
घर व्यवहारको झन्झट र अतिव्यस्तता ती महिलालाई मात्र रहन्छ; जो अति मूर्ख र दम्भी मानसिकता भएका हुन्छन् । जसरी आपसमा मिलेर बाँडेर खाँदा एउटा आफ्नै किसिमको अनौठो आनन्द प्राप्त हुन्छ । त्यसै गरी आपसमा मिलेर काम गर्दा आनन्द पनि लिन सकिन्छ । मिलेर काम गर्दा समय पनि पर्याप्त बच्छ । मानसिक चिन्ताबाट पनि मुक्ति पाइन्छ । उठ्ने–बस्ने, काम गर्ने जुन सहज पद्धति छ, हो यही दृष्टिकोणबाट योगाभ्यास सिक्नु पर्छ । घर व्यवहारको काम पनि यसै विधि अनुसार गर्नु पर्छ । वास्तवमा भन्ने हो भने नेपाली नारीले दिनभरि योगाभ्यास र प्राणायाम गरिरहेका हुन्छन्, घर व्यवहारको साथमा । नोकरी पेसा अथवा सानोतिनो उद्योग सञ्चालन गर्ने महिलाले घरको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।
महिलाले आफ्नो जिम्मेवारी वहन गर्दा कतै सामान्य भुलचुक हुन गए घरका मानिसले बबण्डर खडा गर्नु पनि स्वाभाविकै मानिन्छ । उता हाकिम, मालिक अथवा मातहतका सहयोगीले पनि कुरो काट्न बाँकी राख्दैन । यस्ता महिलाका लागि योग लामो यात्राको देउरालीमा हरियो झ्याम्म परेको रुख तलको चौतारी जस्तै सुखदायी हुने गर्छ । यसबाट तिनका मानसिक चिन्तन र कार्यकुशलतालाई कैयौँ गुणा वृद्धि गराउन सकिन्छ । गृहस्थ योग र कर्मयोग, यस योगका शाखाहरू हुन् । महिला होस् कि पुरुष; जसले पनि योगाभ्यास गर्छु भन्ने मनमा बसालेको हुन्छ, उसले अनेकौँ उपाय निकाल्न सक्छ । ‘नाइट ड्युटी’ गर्ने या राति अबेलासम्म मनोरञ्जनमा रमाउनेले दिउँसो सुतेर शरीरलाई विश्राम दिनु पर्छ । यसो त दिउँसोको वातावरणमा व्याप्त हल्ला तथा प्रदूषणको व्यापकताका कारण रातमा जस्तो आराम त सम्भव हुन्न । तब पनि थकान भने धेरै हदसम्म मेटिन्छ । यस्तो अवस्थामा जब बिउँझिन्छ तब बिहान भनेर मान्दा हुन्छ । दैनिक क्रियाबाट निवृत्त भएपछि खाली पेटमा योगाभ्यास गर्दा हुन्छ ।
रक्सी अथवा अन्य नशा सेवन गर्नेले पनि योगाभ्यास गर्दै गरेमा केही समयपछि यथार्थ थाहा पाउँछन् । मनोबल उच्च बनेपछि स्वतः त्यस्ता कुलत त्यागी दिन्छन् । नशा सेवनले मानिसमा ‘वियोग’ बनाएर बेहोसीको अवस्थामा पु¥याउँछ भने ‘योग’ ले मानिसलाई वास्तविकतासँग परिचित गराउँछ ।