काठमाडौँ, असार २ गते । नेपालमा डेङ्गु, कोरोनालगायतका सङ्क्रामक रोग बढ्दो क्रममा छन् । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण छिमेकी मुलुक भारतलगायत एसियाली देशमा तीव्र गतिमा फैलिँदै गएको छ ।
नेपालमा पनि हालसम्म २६ जनामा कोरोना पुष्टि भैसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कमा उल्लेख छ । तर नेपालमा पुरानै पुष्टि भएको कि नयाँ भाइरस देखिएको हो भन्ने परीक्षण भएको छैन । त्यस्तै, डेङ्गुबाट हुने सङ्क्रमण हुने दर पनि बढ्दो छ ।
इडिसिडीको तथ्याङ्क अनुसार नेपालमा छ महिनामा ७२ जिल्लाबाट एक हजार २९५ जनामा डेङ्गु पुष्टि भएको छ । लामखुट्टे देखिन सुरु भैसकेकोले केही दिनमा नै जोखिम ह्वात्तै बढ्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । कुनै पनि समयमा कुनै पनि स्थानमा डेङ्गुको सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने उहाँको भनाइ छ ।
कोरोना र डेङ्गु दुवैका लक्षण एक अर्कोसँग मिल्दाजुल्दा हुने हुँदा धेरै के कारणले बिरामी परियो भनेर झुक्किने गरेको डा. पुन बताउनुुहुन्छ । चिकित्सकका अनुसार के कारणले बिरामी परियो भन्ने कि त लक्षणका आधारमा पत्ता लगाउन सकिन्छ कि परीक्षण नै गर्नुपर्छ ।
लक्षणका आधारमा पत्ता लगाउने
डेङ्गु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट हुने गर्छ । त्यस्तै कारोनाको सङ्क्रमण कोरोना भाइरसले गर्दा हुने चिकित्सक बताउँछन् । त्यस्तै, कोरोना भाइरस श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोग हो भने डेङ्गु सङ्क्रमण दुःखाइसँग सम्बन्धित रोग भएको डा. पुन बताउनुहुन्छ । कोरोना श्वासप्रश्वासको माध्यमबाट खोक्दा, हाछ्युँ गर्दा निस्कने र्याल, सिङानको माध्यमबाट एक मानिसबाट अर्कोमा सर्ने गर्छ भने डेङ्गु सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
कोरोनाका लक्षण
जसलाई रुघाखोकीसम्बन्धी लक्षण देखिएमा कोरोना भाइरसको सङ्क्रमण भएको मान्न सकिने चिकित्सक बताउँछन् । त्योबाहेक ज्वरो आउने, टाउको दुख्ने, स्वाद वा गन्ध हराउने, जिउ दुख्ने, सास फेर्न गाह्रो हुने निमोनिया हुनेजस्ता लक्षण देखिने गर्छन् ।
डेङ्गुका लक्षण
असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् । त्योबाहेक आँखाका गेडी खस्लाजस्तो हुने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, खान मन नलाग्ने, असाध्यै पीडादायी दुःखाइ हुने, बान्ता हुनेजस्ता लक्षण देखिने गर्छन् । एक्कासि उच्च ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने, बान्ता हुने जस्ता लक्षण पनि देखिन्छन् ।
गिजाबाट रगत बग्ने, तारन्तार बान्ता हुने, बान्तामा रगत देखिने, चिडचिडापन वा छटपटी हुने वा रिङ्गटा लाग्ने, अत्यधिक पेट दुख्ने, लगातार डाइरिया हुने जस्ता गम्भीर लक्षण देखिन्छन् ।
जोखिममा
कोरोना र डेङ्गुको जोखिममा रोग प्रतिरोधात्मक क्षमता कम भएका, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी पर्ने चिकित्सक बताउँछन् । यस्ता मानिसमा डेङ्गु वा कोरोनाको सङ्क्रमण भएमा जटिल स्वास्थ्य समस्या निम्तिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
उपचार
डेङ्गु र कोरोनाको अहिलेसम्म कुनै पनि औषधी छैन । डा. पुनका अनुसार दुवै सङ्क्रमणको लक्षणको आधारमा उपचार गरिन्छ । चिकित्सकका अनुसार प्रायः डेङ्गु सङ्क्रमणका लक्षण आफैँ हराएर जान्छन् । डेङ्गु रोग घरमा नै बसेर उपचार गर्न सकिन्छ । सङ्क्रमितले घरमा नै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम दुःखाइ कम गर्ने र ज्वरो घटाउन प्यारासिटामोल खान चिकित्सकको सुझाव छ ।
बिरामीमा गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पतालमा लैजान चिकित्सकको आग्रह छ । सङ्क्रमित हुनुका साथै दुःखाइ कम गर्ने ब्रुफिन र एन्टिबायोटिक नखान चिकित्सकको सुझाव छ । दुवै सङ्क्रमणलाई सामान्य ठानेर हेलचेक्राइँ नगर्न चिकित्सको सुझाव छ । सङ्क्रमित बिरामीले प्रशस्त मात्रामा झोलिलो पदार्थ खानुका साथै घरमा नै आराम गर्न चिकित्सकको आग्रह छ ।
बच्ने उपाय
डेङ्गु सङ्क्रमण हुन नदिन घर वरिपरि सरसफाइमा ध्यान दिन, लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, झुलभित्र सुत्ने, लामखुट्टे भगाउन धूप वा मलम लगाउन चिकित्सकको सुझाव छ ।
लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरू सफा गर्ने, पानी राख्ने भाँडाहरू बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्दा लामखुट्टेलाई नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउन डा. पुनको सुझाव छ । उहाँले अनावश्यक रूपमा भिडभाडमा नजान र जानै परेमा मास्क लगाउन आग्रह गर्नुभयो । त्यसैगरी, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने, जथाभावी नाक मुखमा हात नलैजाने, हाछ्युँ गर्दा, खोक्दा मुख छोपेर मात्र खोक्न डा. पुनको आग्रह छ।
डा. पुनले जोखिम समूहलाई यो रोग लाग्नबाट बचाउन घरमा कसैले रुघाखोकी लगायतका लक्षण देखिएमा छुट्टै बस्न सुझाव दिनुभयो । कोरोना भाइरसविरुद्धको खोप लगाएर यसबाट हुने जोखिबाट बच्न सकिने उहाँले बताउनुभयो ।