गजेन्द्र गुरुङ
खजुरा, असोज ८ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याउनुभएको हो । गाउँपालिका अध्यक्ष पौडेलले गुनासो एपका माध्यमबाट जनताका गुनासोहरुको तत्काल सम्बोधन हुने विश्वास ब्यक्त गर्नुभयो ।
मोबाइलको प्लेस्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।
गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारु र अवधी भाषामा राख्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकालाई पारदर्शी, सुशासनमैत्री गराउन तथा जनताका गुनासोलाई छिटोभन्दा छिटो समाधान गर्ने उद्देश्यले यस्तो एप प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार सेवाग्राहीले सम्बन्धित शाखा तथा वडा कार्यालयमा पठाएको गुनासोलाई तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । जनताको गुनासो सम्बोधन भए/नभएको विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनुगमन गर्न सक्ने सूचना प्रविधि अधिकृत पौडेलले बताउनुभयो । यसका लागि गाउँपालिकाले सूचना अधिकारीलाई गुनासो सुन्नका लागि फोकल पर्सन बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले आइतबार उक्त एप प्रयोगमा ल्याएसँगै विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्य लगायतलाई प्रशिक्षण दिएको छ । ‘गुनासो एप प्रयोगमा ल्याउने राप्तीसोनारी गाउँपालिका बाँकेकै पहिलो हो,’ सूचना प्रविधि अधिकृत पौडेलले भन्नुभयो ।