काठमाडौं, असोज ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार निर्मला शर्मालाई सम्मानित गर्नुभएको छ ।
प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति भवनमा शनिबार आयोजित समारोहमा शर्मालाई सम्मानित गरिएको हो ।
गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गर्ने शर्मा पहिलो पत्रकार महिला हुनुहुन्छ ।
शर्माले करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैगिक, न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आउनुभएको छ । यस पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
काउन्सिलले वि. सं. २०५७ मा पहिलोपल्ट गोपालदास प्रेस काउन्सिल पत्रकारिता पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा तथा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत सहभागी हुनुहुन्थ्यो ।