• ३० वैशाख २०८२, मङ्गलबार

रोजगारदातासम्म बेरोजगारको पहुँच पुर्‍याउन रोजगार मेलाको आयोजना

blog

रोजगार मेलामा आफुले बनाएका सामाग्री देखाउँदै राखेका स्थानीय । तस्बिर : सिराज खान

सिराज खान
बर्दिया, असोज ५ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गराउने उद्देश्यले रोजगार मेला सम्पन्न गरेको छ ।

ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा आयोजना गरिएको सो रोजगार मेलामा एक दर्जन  रोजगारदाता कम्पनी र संस्थालाई समावेश गराएर दक्ष युवासँग प्रत्यक्ष सम्पर्क गराइएको नगरपालिकाले जनाएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले स्थानीय सरकारले विभिन्न तालिम दिएर दक्ष बनाएका युवालाई रोजगारी सिर्जना गराउने उद्देश्यले रोजगारदाता संस्थासँग समन्वय र सम्पर्क गराउन यो मेलाको आयोजना गरिएको बताउनुभयो ।

उहाँले मेलामा विभिन्न रोजगारदातालाई स्टल राख्न लगाएर युवाहरुसँग सम्पर्क गराएपछि धेरै युवालाई रोजगारदाताहरुले छनोट गरेर रोजगारी दिएको बताउनुभयो ।

प्रमुख लम्सालका अनुसार मेलामा हाम्रो मध्यवती बचत तथा ऋण सहकारी, नेपाल कम्प्युटर सङ्घ महासङ्घ, निर्माण व्यवसायी सङ्घ, लुम्बिनी प्राविधिक विद्यालय, बबई रिसोर्ट लिमिटेड, ठाकुरबाबा चेम्बर अफ कमर्स, यातायात व्यवसायी, होटल व्यवसायी र राष्ट्रिय उद्योग वाणिज्य सङ्घलगायत १२ वटा स्थानीय सेवाप्रदायक सङ्घसंस्थाले आफ्नो स्टल राखेका थिए ।

ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराले पालिका भित्रका दक्ष तर बेरोजगार युवाहरुले ती स्टलमा पुगेर आफ्नो योग्यता र क्षमताबारे जानकारी गराएपछि उनीहरुमध्ये धेरैले रोजगारी पाएको बताउनुभयो ।

उहाँले यो उदाहरण देशभरिकै पालिकाले अनुसरण गर्न सक्ने र यसबाट धेरै बेरोजगार युवालाई रोजगारी प्राप्त हुन सक्ने बताउनुभयो ।

मेलामा सहभागी हुनुभएका जिल्ला समन्वय समिति बर्दियाका प्रमुख ओमकार शाहले रोजगारदातालाई ल्याएर रोजगार दिने वातावरण बनाइएकाले यो मेला अति नै प्रभावकारी भएको बताउनुभयो ।

सो मेला आयोजना गर्न ठाकुरबाबा नगरपालिकालाई प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबले सहकार्य गरेको थियो ।