• ११ पुस २०८१, बिहिबार

गण्डकीले गर्‍यो वन विधेयक पारित

blog

बिहीबारको बैठकमा गण्डकी प्रदेशमा वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा ।

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ४ गते । गण्डकी प्रदेश सभा बिहीबारको बैठकले वन विधेयक पारित गरेको छ । मन्त्रिपरिषद्को २४ साउनमा बसेको बैठकले पास गरेको गण्डकी प्रदेशमा वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सोही दिन प्रदेश सभामा दर्ता भएको थियो । 

साउन ३० गते सदनमा प्रस्तुत विधेयक त्यसको भोलिपल्ट दफावार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएको थियो । बिहीबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले अर्थ तथा विकास समितिको १३ बुँदे प्रतिवेदनसहितको विधेयक निर्माणार्थ पेस गर्नुभएको थियो । 

मन्त्री थापाले नेपालका वनमा काठ कुहिएर जाने तर विदेशबाट अरबौँका काठ आयात गर्नुपर्ने बाध्यता अब हट्ने विश्वास व्यक्त गर्नुभयो । “हाम्रो वनमा काठ कुहिएर जाने, बजारमा मलेसियन काठ ल्याउनुपर्ने बाध्यता छ । यसलाई कम गर्दै वनलाई उत्पादन र रोजगारीसँग जोड्ने गरी यो ऐन ल्याइएको हो” उहाँले भन्नुभयो । 

यो ऐनमा वन पैदावार लिलाम बिक्री गर्दा इ–टेन्डर गर्ने व्यवस्था गरिएको छ । ऐनमा १६ परिच्छेद र ११४ दफा छन् । ऐनले ढालपढ रुखका काठ काट्न र निजी वनको उपयोगलाई सरलीकृत गरेको छ । वन पैदावार वडा र पालिकाभित्र उपयोगका लागि पालिकाको सिफारिसले हुने र पालिका बाहिर लैजानुपर्ने अवस्थामा मात्र पालिका र वनको सिफारिस चाहिने व्यवस्था गरेको छ ।

बिहीबारको बैठकमा प्रदेशको आमसञ्चार ऐन र बीउबिजन ऐनमाथि सामान्य छलफल भएको छ । प्रदेशसभाको अर्को बैठक असोज ११ गते १ बजेलाई तय भएको  छ ।