काठमाडौँ, असोज ४ गते । आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गर्नुभएको छ ।
सभामुख घिमिरेले बुधबार राति आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गर्नुभएको हो । भेटमा दुई देशका संसद्बीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनभयो ।
नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले नेपाल भ्रमण गर्नुभएको थियो ।
सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाइ, सद्भाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । “दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,” सभामुखले भेटमा भन्नुभयो, “संसदीय अभ्यासको आपसी अनुभव आदानप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरु हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।”
सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकलाई कार्यान्वयन गर्न धेरै कानुन निर्माण भइसकेको र केही कानुन निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नेपालको सङ्घीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो ।
“त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्”, सभामुखको घिमिरेले भन्नुभयो । उहाँले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारीबीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।
सभामुख घिमिरेले संयुक्त राष्ट्र सङ्घ, अन्तर–व्यवस्थापिका सङ्घजस्ता बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राख्नुभयो ।
आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गर्नुभयो । उहाँले नेपाल प्राकृतिक रुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुक आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गर्नुभयो । उहाँले आयरल्याण्डमा दुई देशको संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदानप्रदानमा जोड दिनुभयो ।
आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका एक सय ६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आइरिस अनुदानमार्फत समावेश गर्ने बताउनुभयो ।
सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दुई देशबीच कृषि र खाद्यप्रविधिको आदानप्रदानको सम्भावना रहेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले बुधबार नै आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओब्रायनसँग भेट गर्नुभएको थियो । आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएको थियो ।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी हुनुहुन्छ ।
सभामुख घिमिरेले यसअघि माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुभएको थियो । औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ । रासस