सन् २०१० मे मा नेपाल आएका विश्वप्रसिद्ध नायक लियोनार्दो दि क्याप्रियोले बर्दियाको तीनदिने भ्रमण लम्ब्याएर नेपालमै बस्न खोजेका थिए । नेपालपछि उनको भुटान भ्रमणको कार्यतालिका थियो । तीन दिनसम्म खुबै रमाइका उनले बर्दियाको बसाइँबाट धित मार्न सकेका थिएनन् । त्यसैले उनले भुटानको कार्यक्रम रद्ध गर्न खोजे । बरु बर्दियामा केही दिन बसेर नेपालबाटै फिर्ता हुन खोजे पनि दक्षिण एसियाली मुलुकको भ्रमणको कार्यक्रम धेरै महिनाअघि देखि नै तय भइसकेकाले भुटानको कार्यक्रम रद्ध हुन सक्ने अवस्था थिएन । आमासहित नेपालको बर्दिया भ्रमणमा निस्केका नायक लियोनार्दाेलाई बर्दियाको मोहनीले तीन दिनमै तानिसकेको थियो । आफ्नी आमा पनि बर्दियाको जङ्गलमा रमाएको देख्दा गर्मीमा बर्दियाको पसिनाले छटपटी होइन, आनन्द मोहित भएका थिए, नायक लियोनार्दाे ।
उनको टोलीमा क्यामरासहितको १५ जनाको प्राविधिक थिए । त्यति बेला उनको बसाइँ बर्दिया राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा भएको थियो । तराईको धुपमा पनि रातिको केही घण्टा आराम गर्नेबाहेक हरेक समय राष्ट्रिय निकुञ्ज, वरिपरिका स्थानीय बासिन्दासँग बिताएका नायक लिया नार्दाेले सालको पातमा थारूको विशेष परिकार ढिक्रीको स्वादसमेत चाख्न रुचि देखाए ।
टाइगर टप्स होटल जङ्गलको बिचमा थियो । त्यतिबेला बिजुली बत्ती थिएन, होटलमा । राति उज्यालोका लागि टुकी र लालटिन बाल्नुपथ्र्याे । सुविधा सम्पन्न जीवन भोगिरहेको नायक लियोनार्दाे, उनकी आमा र प्राविधिक टोलीका सदस्यहरूले तीन रात पसिना बगाएरै होटलमा बिताए । सालको जङ्गल, त्यसैमा टन्टलापुर घाम । पात पनि नहल्लिने धुप । दिनभरि चारकोसे सालको झाडी, डल्ला होमस्टे, खाता करिडोरमा बित्ता बित्ता छामे । रात परेपछि पसिना पखाल्न हाते नलको पानीको सहारा लिएर रमाएका लियोनार्दाेले युरोप, अमेरिकाको सुविधा सम्पन्न बाथरुममा सौना बाथ गरेका कुरालाई बर्दियाको जङ्गलमा भुले ।
उनले डल्ला होमस्टेमा गएर थारू बस्तीको चर्पी प्रयोग गरेर नजिकै रहेको हाते नलमा खरानी मलेर हात सफा पनि गरे । यसो गर्दा उनकी आमा निकै रमाएको क्षणलाई विश्वका धेरै टेलिभिजनले प्रसारण पनि गरे ।
भर्खर नेपाल आन्तरिक द्वन्द्वबाट शान्तिको यात्रा तय गरिरहेका बेला विश्व समुदायलाई नेपाल घुमफिरका लागि सुरक्षित छ भन्ने सन्देश उनको त्यो भ्रमणले प्रवाह गरेको थियो ।
लियोनार्दोलाई लिन काठमाडौँबाट हेलिकोप्टर बर्दियामा अवतरण गरिसकेको थियो । नायक लियोनार्दोले केही समय हेलिकोप्टर रोकाएरै भए पनि आफ्नो भ्रमणको अन्तिम तेस्रो दिन कर्णाली नदीको किनारमा एक पटक डुबुल्की मारेर रमाइलो गरे ।
बर्दिया छाड्नुअघि उनले कर्णाली नदीको शान्त किनार, बबई उपत्यका र नजिकै देखिने बाघ मेरो जीवनका सबैभन्दा अविस्मरणीय सम्पत्ति हुन भनेर टिप्पणीसमेत गरे ।
जुन समयमा लियोनार्दो बर्दिया घुम्न आएका थिए त्यति बेला नेपाल आन्तरिक द्वन्द्वबाट भर्खर शान्ति स्थापनाको बाटोमा हिँड्न थालेको थियो । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष वरिपरिका सुरक्षा पोष्ट साँघुरिएकाले बाघ, गैँडालगायतका दुर्लभ वन्यजन्तुको चोरी सिकार बढ्दै जाँदा लामो समयदेखि संरक्षण गरेको वन्यजन्तुको सङ्ख्या दिनप्रतिदिन घट्दै गएका थिए । प्रकृतिमा आधारित नेपालको पर्यापर्यटनको पनि गति पनि सुस्त अवस्थामा थियो । उनको यो भ्रमणले त्यसपछिका अवथामा नेपालको पर्यटन प्रवर्धन र वन्यजन्तु संरक्षलाई टेवा पु¥याएको थियो ।
२०७२ चैतमा बेलायती राजकुमार ह्यारीले पनि बर्दिया भ्रमण गरेका थिए । नेपालको पर्यटन प्रवर्धन र विशेष गरी बाघ संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ उनको भ्रमण भएको थियो । राजकुमार ह्यारीले बर्दियामा नजिकैबाट बाघ देखेपछि निकै खुसी व्यक्त गर्दै भने, वाउ नेपाल, थ्याङ्कस नेपाल, ग्रेट नेपाल । राजकुमार ह्यारीको बर्दिया भ्रमण र बाघको दृश्यावलोकनको समाचार विश्वप्रसिद्ध सञ्चार माध्यम बिबिसी, सिएनएनलगायतले प्रसारण गरेपछि विश्वमै दुर्लभ मानिएको पाटे बाघ र बाघको बासस्थान बर्दिया राष्ट्रिय निकुञ्ज विश्वभर थप चिनिन पुग्यो । राजकुमार ह्यारीले कर्णाली नदीमा ¥याफ्टिङ गरे, संरक्षणमा सहभागी भएका स्थानीय समुदायसँग संरक्षणको ज्ञान लिए र स्थानीय थारू समुदायको मौलिक परिकारको स्वाद लिएर बर्दियाको बाघ, थारू समुदायको विशेष परिकार ढिक्री, मुसाको अचारको चर्चा पछिसम्म पनि गरे ।
बर्दिया विशेष गरी साल, सिसौँको घना जङ्गल भएको क्षेत्र हो । राणाकालीन अवस्थामा पनि पश्चिम नेपालमा सिकार खेल्ने ठाउँ भनेको शुक्लाफाँटा र बर्दिया क्षेत्र थिए । राणाहरूले बेलायती महारानीलाई सिकार खेल्न निम्तो दिएर यी जङ्गलमा शिकार खेलाइसकेका थिए ।
पछि राजाहरूको नजरमा पनि बर्दिया सिकार खेल्नका लागि निकै उर्वरभूमि हो भन्ने परेको थियो । बाक्लो जङ्गल, बिचबिचमा चौडा घाँसे मैदान अनि छेउमा बगेका कर्णाली, भेरी र बबई नदीको पानीले वन्यजन्तुलाई बाँच्न उचित वातावरण थियो बर्दियामा । त्यसैले २०३२ सालमा शाही कर्णाली सिकार आरक्ष घोषणा गरियो । पछि २०४१ सालमा शाही बर्दिया वन्यजन्तु आरक्षको रूपमा रूपान्तरण गरी विश्वमा दुर्लभ मानिएका वन्यजन्तु संरक्षणमा थप प्रभावकारी काम सञ्चालन भए ।
बबई उपत्यकाको विस्तार
२०३५ सालमा तत्कालीन राजा वीरेन्द्रको बर्दियाको बगौराफाँटामा राजकीय भ्रमणको कार्यक्रम थियो । हेलिकोप्टरबाट बर्दिया पुगेका राजा वीरेन्द्रले निकुञ्जको उत्तरी क्षेत्र विस्तार गर्न सके वन्यजन्तुको बासस्थान सुरक्षित हुने र संरक्षणमा थप इँटा भरिने देखेपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको संयोकत्वमा बर्दिया वन्यजन्तु आरक्ष विस्तारका लागि अध्ययन कार्यदल गठन भयो ।
राजदरबारबाट निर्माण भएको सो कार्यदलले बबई उपत्यकामा रहेको बस्तीलाई अन्यत्र स्थानान्तरण गरी सो क्षेत्रलाई आरक्षमा समेट्न सकिने प्रतिवेदन बुझायो । बबई उपत्यकामा रहेको तत्कालीन सानोश्री गाउँ पञ्चायतका २६ वटा गाउँलाई सो क्षेत्रबाट अन्यत्र सार्ने निर्णय अनुसार एक हजार ५७२ घरधुरीका आठ हजार पाँच जना घरपरिवारलाई बर्दियाका ताराताल क्षेत्रमा स्थानान्तरण गरियो ।
२०३८ सालबाट सुरु भएको स्थानान्तरणको प्रक्रिया २०४२ सालसम्म चल्यो र ती २६ वटा गाउँ खाली गराई वन्यजन्तुका लागि बासस्थान निर्माण गर्ने कामको थालनी भएको हो । बबई उपत्यका खाली गरिसकेपछि शाही बर्दिया वन्यजन्तु आरक्षलाई २०४५ साल मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरिएको हो । यो राष्ट्रिय निकुञ्ज तराईको सबैभन्दा ठुलो क्षेत्रफल भएको संरक्षित क्षेत्र हो । निकुञ्जको कोर एरियालाई संरक्षण गर्न वरिपरिको वनजङ्गललाई मध्यवर्ती क्षेत्र घोषणा गरी सामुदायिक वनको रूपमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।
नेपाल भारतको सीमा क्षेत्रबाट चुरे महाभारत शृङ्खलासम्म फैलिएको निकुञ्ज तराई र पहाडी हावापानीमा पाइने जैविक विविधताका लागि उपयुक्त बासस्थान भएको छ ।
पश्चिमतर्फ भएर बग्ने कर्णाली हिमनदी हो । यो नदीबाट फुटेको भँगालोले राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई राहत भएको छ भने पूर्वी क्षेत्र भएर बग्ने भेरी र बबईले निकुञ्जलाई रसिलो बनाउने काम भएको छ । निकुञ्जभित्र विशेष गरी पाटे बाघ, एकसिङे गैँडा, हात्ती, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिँगा, गोहीको बाक्लो उपस्थितिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
बालकुनीबाट बाघ
निकुञ्जभित्र बाघ सहजै देख्न सकिने दुइटा महत्वपूर्ण ठाउँ छन् । कर्णाली नदीको भँगालो बग्ने तीनकुने क्षेत्र र बाल्कुनी क्षेत्र यहाँ आउने पर्यटकले बाघ सजिलै देख्न सक्ने ठाउँ हुन् । तीनकुने क्षेत्र निकुञ्ज कार्यालयको हेडक्वाटर नजिकै रहेको छ भने बाल्कुनी क्षेत्र कर्णाली नदी तटीय क्षेत्र हो, जुन पूर्वपश्चिम राजमार्गभन्दा ठिक दक्षिणी भेगमा रहेको छ ।
यी दुई ठाउँमा बिहान, मध्य दिउँसो (दोपहर) र साँझको सूर्यास्तका समयमा बाघ विचरण गर्दा, पानी पिउँदा र ओहोरदोहोर गर्ने समयमा देख्न सकिने निश्चित जस्तै हुने गर्छ । त्यसैले बर्दियामा आउने जोसुकै व्यक्तिले पनि एक दिन खर्च ग¥यो भने पाटे बाघ देखेरै आनन्द लिने गरेका छन् । बाघ देख्न सकिने निश्चित ठाउँ भएकै कारणले यहाँ आउने पर्यटकले बर्दिया र बाघ समपूरक भएको टिप्पणी गर्ने गरेका छन् । तीन वटा कुनो परेको र बाघले सधैँ पानी पिउने ठाउँ भएकाले तीनकुने भनिएको हो भने तल्लो भेगमा कर्णालीको भँगालो बग्ने, घाँसे मैदान भएको र माथि अग्लो ठाउँमा बसेर बाघ विचरण गरेको र वारपार गरेको दृश्य हेर्न सकिने भएकाले यो ठाउँलाई बालकुनी भनिएको हो । तीनकुनेभन्दा बालकुनीबाट बाघ हेर्न निकै रमाइलो र आनन्ददायी हुने गर्छ । वन्यजन्तुबाट हुने सुरक्षाको चुनौती पनि कम हुने र माथिल्लो अग्लो ठाउँबाट तल गहिरोमा रहेको भँगालो अनि घाँसे मैदानमा विचरण गरिरहेका वन्यजन्तु हेर्न प्राकृतिक वातावरणमा निकै रोमाञ्चकारी हुने गर्छ । त्यसैले बर्दिया पुग्ने जोकोहीले पनि बाघ देखेरै फर्किने र तीनकुनेमा बाघ देख्न सकेन भने बालकुनीमा बसेपछि त बाघ हरेक व्यक्तिको आँखाभित्र कैद हुने गरेको छ । बर्दिया यस्तो निकुञ्ज हो, जहाँ तिनकुने र बालकुनी दुवै ठाउँबाट सजिलैसँग बाघ हेर्न सकिन्छ । ती ठाउँमा बाघ देखिने समय पनि करिब करिब निश्चित जस्तै छ । त्यसैले बाघ हेर्न जाने जोकोहीले पनि भन्ने गरेका छन्, बाघ र बर्दिया उस्ता उस्तै चिज हुन् । बर्दिया पुग्यो कि बाघ देख्न पाइन्छ ।
देश दुई तर वन्यवन्तु उनै बर्दिया राष्ट्रिय निकुञ्जसँग भारतको कतरनियाँ वाइल्डलाइफ सेन्चुरी जोडिएको छ । पहिले कतरनियाँमा हात्ती बढी पाइन्थे । हरेक वर्ष नेपालमा तीन/चार सयसम्मको हात्तीको झुण्ड बर्दिया कतरनियाँबाट विचरण गर्न आउने गरेको छ । त्यो झुण्ड केही समय नेपालमा बसेर फेरि उतै फर्किन गरेको छ । कतरनियाँमा पहिले एकसिङे गैँडा र बाघ पाइँदैनथ्यो, अहिले नेपालका बाघ, गैँडा गएर बस्न थालेका छन् ।
राजनीतिक हिसाबले नेपाल र भारत छुट्याउने सीमा स्तम्भ छन् । दसगजा क्षेत्रको व्यवस्था गरिएको छ तर वन्यजन्तुका लागि न दसगजा त सीमा स्तम्भ, निस्फिक्रीका साथ वारपार गर्ने गरेका छन् । नेपालका बाघ, गैँडा गएर उता विचरण गरेर आउने गरेका छन् भने भारतका हात्ती नेपाली भूमिमा चरेर पारी जाने गरेका छन् ।
नेपाल, भारतको वन्यजन्तुको हिँड्ने बाटोलाई थप व्यवस्थित गर्न खाता जैविक मार्ग विकास गरिएको छ । जसले गर्दा नेपाल भारतका वन्यजन्तु सजिलैसँग सीमा वारपार गर्न सकेका छन् ।