• ८ पुस २०८१, सोमबार

गैँडा संरक्षणमा जलवायु परिवर्तनको असर प्रमुख चुनौती

blog

काठमाडौँ, असोज ६ गते । विश्वमा दुर्लभ मानिएको वन्यजन्तु एक सिङे गैँडाको संरक्षणमा जलवायु परिवर्तनको असर, चोरी शिकार तथा खागको अवैध व्यापार नै प्रमुख चुनौतीका रुपमा देखिएका छन् । चोरी शिकार तथा गैँडाको खागको अवैध व्यापार परम्परागत चुनौती थिए भने जलवायु परिवर्तनको असर पछिल्ला दिनमा देखिएको नयाँ तथा जटिल चुनौतीका रुपमा आएको छ । 

गैँडाको विषयमा विद्यावारिधि गर्नुभएका गैँडाविज्ञ डा. नरेश सुवेदीका भनाइमा चोरी शिकार, तस्करी, खागको अवैध अन्तर्राष्ट्रिय व्यापार जस्ता परम्परागत चुनौतीसँगै पछिल्ला दिनमा जलवायु परिवर्तनको असर गैँडा जस्ता ठूला वन्यजन्तुको बासस्थान, आहारविहारमा पर्ने गरेको छ । बाढी, डुवान, घाँसे मैदान कटान, अत्याधिक गर्मी तथा पानीको स्रोत सुक्ने जस्ता समस्याले गैँडाको दैनिकी निकै प्रभावित हुन थालेको छ । 

गैँडाको सङ्ख्या विश्वका अन्य मुलुकका घट्दो दरमा भएपनि नेपालमा भने संरक्षणमा आएको सुधारसँगै नेपालले विश्वका अरु मुलुकको भन्दा गैँडाको सङ्ख्या बढाउनमा उल्लेख्य प्रगति गरेको छ । तथापी चुनौतीका चाङ झन थपिँदै गएको डा. सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘गैँडाको सङ्ख्या बढाउनमा नेपालको जस्तो प्रगति अरु मुलुकका देखिदैन तर पनि चुनौती भने दिनप्रतिदिन थपिँदै गएका छन् । अझ भन्नुपर्दा जलवायु परिवर्तनको असर त हाम्रो काबुभन्दा बाहिर जाने अवस्था देखिंदैछ ।’’

सन् १९५० को दशकमा एक सिङे गैँडाको सङ्ख्या झण्डै ८०० रहेको नेपालमा सन् १९७० को दशकमा आइपुग्दा यो सङ्ख्या घटेर १०० को हाराहारीमा पुगेको थियो । गैँडाको सङ्ख्या घट्न थालेपछि सन् १९६० तिर चितवन उपत्यकामा गैँडा गस्तीको सुरुवात गरिएको थियो भने सन् १९७० मा एकसिङे गैँडाको संरक्षण गर्ने उद्देश्यका साथ चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरी संरक्षणका काम भएको हो । हालको अवस्थामा आएर नेपालमा एकसिङे गैँडाको झण्डै ८०० पुगेको छ । २०७७ सालको गणनामा गैँडाको सङ्ख्या ७५२ पुगेको थियो । पछिल्ला वर्षमा यो सङ्ख्या बढेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

गैँडाको विषयमा विद्यावारिधि गर्नुभएका अर्का गैँडाविज्ञ डा. गणेश पन्तका अनुसार चोरी शिकार लगायतका चुनौतीलाई सम्बोधन गर्न सकिएपनि जलवायु परिवर्तनको असरले देखिएका थप चुनौतीले गैँडा लगायतका ठूला वन्यजन्तु संरक्षणमा जटिल समस्या देखा परेका छन् । डा पन्तले भन्नुभयो, ‘‘एकसिङे गैँडा, पाटेबाघ, हात्ती लगायतका केही ठूला वन्यजन्तुको संरक्षणमा केही परम्परागत चुनौतीसँगै जलवायु परिवर्तनले देखिएका असर झन जटिल रुपमा देखिन थालेको छ । पानीको स्रोत सुकिरहेका छन्, गैँडाको बासस्थानमा मिचाहा प्रजातिको प्रसार भइरहेको छ । अधिक वर्षाले बाढी, डुवानले गैँडा लगायतका वन्यजन्तु डुब्ने, बगेर जाने समस्या देखिन थालेका छन् । यस्ता खालका समस्यालाई सम्बोधन गर्न अलि गाह्रो नै छ ।’’

२०७७ सालका बर्खामा नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएका १० वटा एकसिङे गैँडा भारतमा उद्धार गरेर नेपाल फर्काइएका थिए । त्यो समयमा नदी छेउ लाग्न सकेका गैँडाको उद्धार गरिएको भएपनि कति गैँडा बगाएर लग्यो भन्ने एकिन तथ्याङ्क छैन । बाढीले अन्य साना वन्यजन्तु कति बगाएर मरे भन्ने अध्ययन अझै हुन सकेको छैन । त्यतिबेला सीमा क्षेत्रबाट ३० किलोमिटरको मदनपुर भन्ने ठाउँमा चितवनबाट बगाएर लगेका गैँडा उद्धार गरिएका थिए । चितवन राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको भारतको बाल्मिकि नगर टाइगर रिजर्भका प्राविधिकका सहयोगमा गैँडा उद्धार गरेर नेपाल ल्याइएका थिए । 

विश्वमै दुर्लभ मानिएको एक सिँगै गैँडाको लागि चितवन उपयुक्र्त बासस्थान मानिन्छ । २०७७ सालको गणनामा चितवनमा मात्रै ६९४ भन्दा बढी गैँडा रेकर्ड गरिएका थिए । बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटामा १७ र पर्सामा चार वटा गैँडा फेला परेका थिए । यो संख्यामा हाल वृद्धि भएको गैँडाविज्ञ डा. सुवेदीले जानकारी दिनुभयो । 

डा.सुवेदीका अनुसार संसारमा एकसिङे गैँडाको सङ्ख्या चार हजारको हाराहारीमा रहेको छ । सेतो जलगैँडा २५ हजारको सङ्ख्याबाट घटेर १६ हजारमा झरेको छ भने अफ्रिकी मुलुकमा पाइने कालो गैँडाको सङ्ख्या घटेर पछिल्ला रेकर्डअनुसार जम्मा ६ हजार ४०० जतिमा सिमित हुन पुगेको छ । मलेसिया, इण्डोनेसियामा पाइने जाभान प्रजातिको गैँडाको सङ्ख्या जम्मा ७० रेकर्ड भएको छ भने सुमित्रान प्रजातिको गैँडाको संख्या ३५ देखि ४५ रहेको अनुमान गरिएको छ । पछिल्ला ५० वर्षयता भियतनाममा गैँडाको सङ्ख्या लोप भइसकेको पनि डा. सुवेदीले जानकारी दिनुभयो । मलेसिया र इण्डोनेसियामा पनि गैँडाको सङ्ख्या दिनप्रतिदिन घट्दो दरमा देखिएको छ । 

एकसिङे गैँडा नेपालका लागि अवसर 

नेपालमा आउने विदेशी पर्यटकहरु मध्ये ६० प्रतिशत भन्दा बढी पर्यटक राष्ट्रिय निकुञ्ज घुम्ने गरेका छन् । ती मध्ये पनि अधिकांश पर्यटक चितवन, बर्दियामा जाने गरेको नेपाल पर्यटन वोर्डको तथ्याङ्क छ । विशेषगरी एक सिङे गैँडा हेर्न चिवतन र पाटे बाघ हेर्न बर्दिया जाने गरेकाले प्रकृतिमा आधारित नेपालको पर्यटन विकासमा विश्वमा दुर्लभ मानिएका यी वन्यजन्तुले थप टेवा पुर्‍याउन सक्ने डा. सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘चितवनको पर्यटन व्यवसाय गैँडामा आधारित छ । यसलाई अब बर्दिया, शुक्लाफाँटतर्फ पनि बिस्तार गर्न सके नेपालमा गैँडा लगायतका वन्यजन्तु डलर भित्र्याउने माध्यम हुन सक्ने सम्भावना बढेको छ । नेपालले यसलाई मार्केटिङ, ब्राण्डिङ गर्न सक्नुपर्छ ।’’

नेपालमा सयको सङ्ख्यामा झरेको गैँडालाई सबैको सहयोग र सहकार्यले अहिले ८०० को हाराहारीमा पुगेको छ । डा. सुवेदीले भन्नुभयो, ‘‘नेपालले १०० को हाहारीमा रहेको गैँडालाई हुर्काएर ८०० को हाराहारीमा पु¥याएको विषय गर्व गर्न लायकको भएकाले यो विषयलाई अब विश्व मञ्चमा लैजान सक्नुपर्छ र भावी सन्ततीको लागि संरक्षण गरेको कुराका लागि विश्व समुदायबाट सहयोग लिन सक्नुपर्छ ।’’ 

डा.पन्तका भनाइ पनि अरु मुलुकमा संरक्षण गर्न नसकेको गैँडाको संरक्षण गर्न सफल भएको नेपालले गैँडालाई आर्थिक समृद्धिसँग जोड्ने काममा लाग्नुपर्छ । डा. पन्तले भन्नुभयो, ‘‘संरक्षण हामीले गर्न सक्यौँ अब यसलाई मुलुकको आर्थिक विकाससँग जोड्ने योजना बनाउनुपर्छ ।’’