नेत्र शाही
जुम्ला, साउन २५ गते । जुम्लाको चन्दननाथ मन्दिरमा पुरातात्विक मापण्डाको धर्मशाला निर्माण भएको छ । पर्यटन बोर्डको आर्थिक सहयोगमा स्थानीय जुम्लाको ढुङ्गा प्रयोग गरेर धर्मशाला निर्माण अन्तिम चरणमा भएको हो ।
नेपाल पर्यटन बोर्डद्वारा झ्याङछुप वडावन जेभी निर्माण कम्पनी काभ्रेले सो धर्मशाला निर्माण गरिरहेको छ । मन्दिरको पछाडि सेराखेतको छेउमा भक्तजनहरुका लागि पुरातात्विक मापदण्ड अनुसारको ६ कोठे भवन निर्माण भइरहेको हो । आधुनिक सिमेन्ट प्रयोग होइन, जुम्लाकै खानीको ढुङ्गा प्रयोग गरेर सो धर्मशाला निर्माण भइरहेको हो ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भइरहेको धर्मशाला आधुनिक तर मौलिक पुरातात्विक मापदण्ड अनुसारको हुनेछ । नेपाल पर्यटन बोर्डका सिनियर डिभिजनका इन्जिनियर सचिन्द्रकुमार यादवका अनुसार निर्माण कम्पनीले यो धर्मशाला निर्माणका लागि रु. एक करोड ६१ लख बजेटमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । उहाँका अनुसार करिब ९४ लाखको बिल बुझाइएको मध्य पेश्कीसहित रु. २५ लाख भुक्तानी भएको छ । उहाँले अहिले माटोको संरचना बनाउँदा विपतले समस्या गर्ने भएकाले ढुङ्गा प्रयोग गरेर काम भइरहेको बताउनुभयो ।
कम्पनीका सञ्चालक सुभास लामाका अनुसार काम करिब ९० प्रतिशत सम्पन्न भएको र बाँकी काम भइरहेको छ । नेपाल पर्यटन वोडका अनुसार मन्दिरको छेउछाउमा बन्ने संरचना मौलिक र पुरातात्विक हुनुपर्ने भएकाले सो धारणा बनाई नमुनाको रुपमा सो भवन निर्माण गरेकाे छ । भवन निर्माण क्षेत्रमा ढुङ्गा बिछ्याउने काम पनि छ ।
जुम्लाको चन्दननाथ मन्दिर यहाँको ऐतिहासिक धरोहरको धार्मिक स्थल भए पनि अतिक्रमण बढेर जथाभावी संरचना निर्माण भइरहेको समयमा धर्मशाला पक्कि र पुरातात्विक संरचनामा बन्ने भएको छ। दैनिक सयौँ आन्तरिक तथा बाह्रय भक्तजनले चन्दननाथको दर्शन गर्ने गरेका छन् । बाहिरबाट आएका भक्तजन तथा पाहुना आउँदा पनि धर्मशाला नहुँदा मन्दिरलाई समस्या भइरहेको थियो । अब सो भवनमा सुविधाजनक तरिकाले १०,१२ जना राख्न सकिनेछ ।
नेपाल पर्यटन बोर्डले जुम्लाको चन्दननाथ मन्दिरसहित हलेसी, चत्राधाम, भोजपुर लगायतका विभिन्न जिल्लामा जिल्ला बाहिर धर्मशाला निर्माण गर्न शुरु गरिएको जानकारी दिनुभयो । धर्मशाला बन्ने भएपछि स्थानीय खुशी भएका छन् । चन्दननाथ भैरवनाथ मन्दिरका अध्यक्ष अमरबहादुर थापाका अनुसार धर्मशालाले महत्वपूर्ण पाहुना तथा भक्तजनलाई आवासीय सुविधा हुने भएको छ ।