• १२ साउन २०८१, शनिबार

ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रसँग जोड्दै छौँ

blog

सिराहा जिल्लाको पुरानो औद्योगिक क्षेत्रसमेत रहेको राष्ट्रिय लोकमार्गको उत्तर र दक्षिणमा फैलिएको मिर्चैया नगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर छ। कुल ५९ हजार ४२५ जनसङ्ख्या रहेको यस नगरपालिकाको उत्तरमा उदयपुरको कटारी, दक्षिणमा कल्याणपुर नगरपालिका, पूर्वमा गोलबजार नगरपालिका र पश्चिममा कर्जन्हा नगरपालिकासँग सीमा जोडिएको छ। यस नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट दोस्रो पटक श्रवणकुमार यादव निर्वाचित हुनुभएको छ। तत्कालीन आठ गाउँ विकास समिति मिर्चैया, सीतापुर, फूलबरिया, रामपुरबिर्ता, गम्हरियाखोरी, सिक्राैन, राघोपुर र महेशपुर  मिलेर २०७१ सालमा मिर्चैया नगरपालिका गठन भएको हो। नगर प्रमुख यादवसँग नगरपालिकाको विकास, भावी योजनालगायतका विषयमा गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ :  

लगातार दुई पटक नगर प्रमुखमा निर्वाचित हुनुभयो, मिर्चैया नगरपालिकाको विकासका लागि के गर्नुभएको  छ ? 

सिराहा जिल्लाका १७ वटै पालिकाको विकाससँग तुलना गर्दा मिर्चैया नगरपालिकाको कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायको पक्षमा सन्तोषजनक रूपमा कामहरू अगाडि बढिरहेको छ। पहिलो कार्यकालमा केही वर्ष सिकाइ अनुभवमै बिते पनि कामकै मूल्याङ्कन गरेर जनताले दोस्रो पटक पनि निर्वाचित गरेका हुन्। दोस्रो कार्यकालमा मिर्चैयालाई नमुना नगरपालिका बनाउने गरी काम अगाडि बढाएका छौँ।  

सहरी क्षेत्र र ग्रामीण क्षेत्रको विकासका लागि कसरी अगाडि बढिरहनुभएको छ ? 

आठ वटा गाविस मिलेर बनेको मिर्चैया नगरपालिकाको वडा नम्बर ५ र ६ मात्रै सहरी क्षेत्रमा पर्छ, जुन राष्ट्रिय लोकमार्गसँग जोडिएको छ। बाँकी १० वटा वडा ग्रामीण भेगमा छन्। ग्रामीण भेगलाई सहरी क्षेत्रसँग जोड्न २२ किलोमिटर सडक कालोपत्रे  निर्माण भएको छ। ढलान त वडाका गल्ली गल्लीमा भइसकेका छन् भने बाँकी रहेका वडामा अर्को वर्षसम्मा पूरा हुने छ। सहरी र ग्रमीण क्षेत्र जोड्न चक्रपथ निर्माणको कार्य अगाडि बढाएका छौँ। नगरपालिकाका १२ वटै वडा कार्यालय जाने पूर्वाधार सडक निर्माण सम्पन्न भइसकेको छ। 

सिराहाको पुरानो मिर्चैया बजार औद्योगिक क्षेत्रका रूपमा पनि परिचित छ। यहाँबाट वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या अत्यधिक छ। आफ्नै गाउँठाउँमा रोजगारीका लागि कस्तो योजना बनाउनुभएको छ ? 

यो प्रश्न अति नै मन छुने खालको रह्यो। मिर्चैया नगरपालिकाको पूर्वमा मारुती सिमेन्ट कम्पनी र पश्चिममा सौर्य सिमेन्ट कम्पनी छ। यी दुवै कम्पनीमा मिर्चैया नगरपालिकाका सयौँ युवाले रोजगारी पाएका छन्। मिर्चैया नगरपालिकाका १२ वटै वडाबाट विदेश गएका र विदेशबाट फर्केर आएकाहरूको तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ। विदेशबाट फर्केर आएका युवालाई कृषि र विभिन्न उद्योगसँग सम्बन्धित ज्ञान, सिप दिएर रोजगारीमा जोड्ने योजना गैरसरकारी संस्थाहरूसँग मिलेर नगरपालिकाले अगाडि बढाएको छ। 

सामुदायिक विद्यालयहरूको सुधारका लागि नगरपालिकाबाट परिणाम देखिने गरी कस्ता किसिमका कार्यव्रmमहरू समेट्नुभएको छ ? 

नगरपालिकामा रहेका २५ वटै सामुदायिक विद्यालयको सुधारका लागि विगत वर्षमा पनि सकारात्मक पहल थालिएको थियो। मिर्चैयामा रहेको मोहन माध्यमिक नमुना विद्यालयमा कक्षा १ देखि १० सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट शिक्षण थालेका छौँ। यस वर्ष एक वडा एक उत्कृष्ट विद्यालय र नगरपालिकाले एक विद्यालयलाई नमुना र उत्कृष्ट बनाउने कार्यक्रम सफल भयो भने दुई वर्षमा सबै विद्यालय उत्कृष्ट हुने योजना यस आर्थिक वर्षदेखि ल्याएका छौँ। शिक्षाविज्ञ नियुक्त गरेर शैक्षिक सुधारको कार्यक्रम अगाडि बढाउँदा परिणाम सकारात्मक आउनेमा विश्वस्त छौँ। यस नगरपालिकामा रहेका ३२ वटा संस्थागत विद्यालयलाई पनि सुधार गर्ने योजना सँगसँगै अगाडि बढाएका छौँ। 

मिर्चैया नगरपालिकाको ऐलानी अतिक्रमित जग्गाहरू खाली गराउने क्रममा अदालती झमेलाहरूसमेत देखियो। विवादको अवस्थामा विकासका योजनाहरू कसरी अगाडि बढिरहेको छ ?

यसबारे सबैलाई स्पष्ट हुन जरुरी छ। नगरपालिकाको भवन निर्माण बजार व्यवस्थापन र फराकिलो सडक निर्माणका लागि अहिले नगरपालिका रहेको उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउँदा निकै झमेला भयो। अदालतसम्म विवाद पुग्यो। अदालतबाट नगरपालिकालाई विकासका कामहरू अगाडि  बढाउन आदेश भएको छ। विस्तारै सबै विवाद साम्य भइरहेको छ।  राम्रो काम सुरु गर्दा केही जोखिम मोल्नुपर्ने परिस्थितिहरू आउँछन्। सहमति, सहकार्य र एकताका लागि नगरपालिकाबाट पटक पटक भएको संवाद र छलफलबाट अहिले परिस्थिति अनुकूल हुँदै जान थालेको छ। यही वर्षदेखि सडक निर्माण र नगरपालिकाको भवन निर्माण अगाडि बढ्छ। 

नगरवासीलाई स्वास्थ्य सेवा दिन के गर्नुभएको छ ? प्रस्ट्याइदिनुस् न ? 

मिर्चैया नगरपालिकाले नगरस्तरीय २५ शय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। यस अस्पतालबाट मिर्चैयाका नगरवासी मात्रै होइन; उदयपुरका कटारी, गोलबजार, सिराहा, बरियारपट्टि र लहानबाट पनि प्रसूति गराउन आउने बिरामीको चाप उच्च छ। साथै आँखा र कानको जाँच पनि सुरु भइसकेको छ। महिनामा दुई दिन मुटुरोग विशेषज्ञलाई ल्याउने सोचमा छौँ। वडा नम्बर २ मा अर्को अस्पतालको भवन निर्माण सम्पन्न हुन लागेको छ। यस पाँच वर्षको अवधिमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्ने निश्चित छ। 

सामाजिक न्यायका लागि नगरपालिकाबाट भइरहेका सकारात्मक प्रयासहरू पनि बताइदिनुस् न ? 

भौतिक विकास मात्रै विकास नभएर सामाजिक न्याय पनि महत्वपूर्ण पाटो हो। यसका लागि हरेक वडामा महिला हिंसा न्यूनीकरण, दाइजो हटाउने जनचेतनाका कार्यक्रम, हरेक वडामा नागरिक मेलमिलाप केन्द्रको माध्यमबाट सामाजिक न्यायका कार्यक्रमहरू निरन्तर चलिरहेको छ। 

किसानको बाहुल्य रहेको यस नगरपालिकामा कृषिसँग जोडिएका महत्वपूर्ण कार्यहरू के के भएका  छन् ? 

दक्षिणी भेग र उत्तरी भेगका किसानको सेवासुविधाका लागि कृषि सडक निर्माण, डिप बोरिङ जडान भइसकेको छ। आँप उत्पादन बढी हुने भएकाले जुस उद्योग निर्माण, उखु किसानका निम्ति चिनी मिल स्थापनाको पहल गरिरहेका छौँ। कृषि मिटरको शुल्क नगरपालिकाबाट बेहोर्ने कार्यक्रम आगामी आवदेखि प्राथमिकतामा राख्ने योजना छ।