• ११ मंसिर २०८२, बिहिबार

२३ प्रतिशत एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर

blog

काठमाडौँ, मङ्सिर ११ गते । २३ प्रतिशत एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।

 ३८ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कले कुल एचआइभी सङ्क्रमित मध्ये ७७ प्रतिशत उपचारमा रहेका छन् । 

केन्द्रका निर्देशक डा.सर्वेश शर्माका अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएकोमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी ) अर्थात ७७ प्रतिशतले उपचार लिइरहेका छन् । 

सरकारले ६४ जिल्लाका ९६ एआरटी केन्द्रबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

६१४ जनामा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको हो । 

सन् २००० मा पाँच हजार छ सय व्यक्तिमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको थियो । समयमा १४ वर्ष मुनिका ३७ जना बालबालिकामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ । 


सन् २०२४ मा मात्रै ५६९ व्यक्तिको एड्स कारण मृत्यु भएको अनुमान छ जुन सन् २०१० को तुलनामा ८६ प्रतिशतले घटेको छ । 



नेपालमा वर्तमान एचआइभीको अवस्थालाई केन्द्रिकृत महामारीको रूपमा परिभाषित गरिने डा. शर्मा बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “एचआइभीको अवस्थालाई केन्द्रिकृत महामारीको रूपमा छ । यसको अर्थ एक वा सो भन्दा बढी एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर पाँच प्रतिशत भन्दा बढी तर, सामान्य जनसङ्ख्या वा प्रसूति सेवा लिएका गर्भवतीमा एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम हो ।” 

सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने, यौनकर्मी, कारागारमा रहेका कैदीबन्दी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणदर उच्च रहेको डा.शर्मा बताउनुहुन्छ । 

सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणले नेपालमा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने तीन प्रतिशतमा एचआइभीको सङ्क्रमण रहेको देखाएको छ । 

यसैगरी, सन् २०१७ र २०१८ मा भएको सर्वेक्षण अनुसार महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष समलिङ्गीमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको देखिएको छ । 

सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा काम गर्न जाने नेपाली कामदारमा एचआइभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको पाइएको छ । वयस्क जनसङ्ख्यामा ०.१३ प्रतिशत सङ्क्रमण रहेको छ । नेपालमा हरेक दिन १.७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण हुन्छ । 

सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । यसका लागि सरकारले ९५-९५-९५ र एचआइभी जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको डा.शर्मा बताउनुहुन्छ ।एचआइभी कार्यक्रममा मध्ये तेस्रो लक्ष्य प्राप्त गर्न कठिन भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार सरकारले २०२६ सम्ममा अनुमानित एचआइभी सङ्क्रमित मध्ये ९५ प्रतिशत को पहिचान गर्ने, एचआइभी सङक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमित मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमा बच्चामा एचआइको सङ्क्रमण निवारण गर्ने, जन्मजात भिरिङ्गीको केस दर प्रति लाख जीवित जन्ममा ५० वा सो भन्दा कम गर्ने लक्ष्य लिएको छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।