• ९ मंसिर २०८१, आइतबार

खान्की, वृत्ति तथा प्रसाद होइन पुरस्कार

blog

राज्यको कोषद्वारा सिर्जित पुरस्कार खान्की, वृत्ति तथा प्रसाद होइनन् तर पुरस्कारलाई सिखर्नी वा त्यस्तै हात थापेर खाने तर नअघाउने पदार्थ बनाइएको छ । एउटाले दुई हात थाप्ने अर्कोले आचमनीले प्रदान गर्ने । प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार ‘असल कार्य गर्ने व्यक्तिलाई गरिने सम्मान वा उसको प्रतिष्ठा बढाउन दिइने उपहार’ लाई पुरस्कार भनिन्छ । नेपालमा संस्थाले असल कार्य गर्दैनन् भनेर होला कि उक्त शब्दकोशले संस्थालाई पुरस्कार दिइन्छ भन्ने परिकल्पना गरेको छैन । सम्मान र पुरस्कारमा केही भिन्नता छन् । सम्मान अभौतिक रूपमा पनि गर्न सकिन्छ तर पुरस्कार भने भौतिक रूपमा नै गर्नुपर्ने हुन्छ, त्यो पनि द्रव्यादि महìवमा उपहार स्वरूप प्रदान गरिन्छ । नेपालमा सामाजिक तथा सरकारी क्षेत्रद्वारा दिइने सबैभन्दा धेरै पुरस्कार वाङ्मय (साहिकत्य, कला, संस्कृतिलगायत) विधामा दिइन्छ । किन दिनुपर्छ पुरस्कार ? साहित्यकारहरूलाई पुरस्कार दिनु औचित्यपूर्ण छ ? लेखेबापत पुरस्कार दिने ? लेख्नेको काम नै लेख्ने हो । आफ्नो काम गर्दा किन पुरस्कार दिनु पर्छ उनीहरूलाई ? नेपालमै पनि प्रशस्त छन् अद्वितीय काम गर्ने, मैले भेटेको छु पृथ्वी राजमार्गमा ४१ वर्ष बिनादुर्घटना गाडी चलाउने व्यक्ति । यस दौरान उनले लाखौँ यात्रीलाई सुरक्षित गन्तव्यमा पु¥याएका छन् । उनी एउटा लेखकभन्दा पेसागत हिसाबले भुइँ–व्यक्तित्व होइनन् भने उनलाई पुरस्कार दिनु पर्दैन ? यस्ता कति व्यक्तिले पाए पुरस्कार ? वृत्ति होइन, खान्की त हुँदै होइन पुरस्कार । त्यसो भए किन दिनु पर्छ पुरस्कार । देवकोटालाई पुरस्कार दिइएपछि शाकुन्तल महाकाव्य लेखिएको होइन । अहिले विश्वेश्वरप्रसाद कोइरालाको लेखनीलाई विभिन्न कोणबाट प्रशंसा गरेर नथाक्ने नेपाली समाजमा स्थापित कुन कुन पुरस्कार पाए कोइरालाले ?

पुरस्कार्य गर्नेलाई दिनु पर्छ पुरस्कार, मात्र लेख्नेलाई होइन । देवकोटा पुरस्करणीय थिए, छन् । उनलाई दिइएको आर्थिक वा भौतिक सम्मान पुरस्कार हुन सक्छ तर लेखेकै भरमा पुरस्कार नामका थैली कसैलाई थमाइन्छ भने त्यो वृत्ति हो । वृत्तिका लागि लेख्ने पात्र पुरस्कारणीय हुन सक्दैनन् । नेपालीमा अङ्गे्रजीमा जस्तो अवार्ड र रिवार्ड शब्द छैनन् । यी शब्द भइदिएका भए पुरस्कारमाथिको अभिव्यक्तिलाई स्पष्ट पार्न सहज हुने थियो, जस्तै अमेरिकी अभिनेता डेन्जल वासिङ्टन (सन् १९८४) ले भने– ‘मानिसले तिमीलाई अवार्ड दिन्छ तर भगवानले रिवार्ड दिन्छ ।’ जसलाई पुरस्कार दिइन्छ त्यो निर्णय जनता वा सम्बद्ध क्षेत्रद्वारा अनुमोदित हुनु पर्छ । त्यसमा पनि सरकारकले दिने पुरस्कार जो जनताले पसिना बगाएर बनाएको सरकारी वित्तबाट वितरित हुन्छ, त्यसमाथि सम्बद्ध क्षेत्रको निगरानी, आग्रह वा मूल्याङ्कन हुन्छ नै, हुनु पर्छ पनि । त्यसैले सिंहदरबार वा कमलादीले बाँड्ने पुरस्कारबारे सम्बद्ध क्षेत्रको भनाइ, समर्थन, विमर्शन वा आलोचना हुनु स्वाभाविक हो । पुरस्कार बाँड्नुअघि सिंहदरबार वा कमलादी यस्ता परीक्षामा उत्तीर्ण हुनु पर्छ । निजी अर्थात् सामाजिक क्षेत्रले दिने पुरस्कार त लाजगाल ‘न्यायसङ्गत र तटस्थ’ देखिनु पर्छ भने राज्यकोषबाट वितरण हुने पुरस्कार कालमोचनमा खुवाइने श्री ३ महाराज जङ्गबहादुरको पितृप्रसाद होइन आफन्तलाई आफूखुसी बाँडियोस् । 

हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा वितरित प्रादेशिक, राष्ट्रिय तथा व्यक्ति विशेषका नाममा स्थापित पुरस्कार जसजसले पाए, त्योभन्दा अगाडि पुरस्कार पाउनेले भन्न सक्छ कि मैले पुरस्कार्य गरेको छु र पुरस्करणीय छु, त्यसैले पुरस्कृत भएँ । ल यस्तो दाबी गर्ला रे उसले तर भारतीय सङ्गीतकार गोपी सुन्दर (सन् १९७७) ले भने झैँ उसले ‘सबैभन्दा ठुलो पुरस्कार जनताको प्रशंसा’ पाएको छ ? हालै पुरस्कार थाप्ने अवसर पाएका केही पात्रका बारेमा खोज्दै जाँदा पाइएका केही जानकारी रोचक छन् । उनले अप्ठ्यारो बेलामा पार्टीलाई सहयोग गरेका रहेछन् । कार्यकर्ता भेला, बैठक वा सम्मेलनमा गीत÷कविता गाएका रहेछन्, त्यसमाथि छमछम नाचेका पनि रहेछन् । अर्काथरी पार्टी प्रतिबन्धित हुँदा, राज्ययन्त्रमा नहुँदा पार्टीद्वारा जारी हुने वक्तव्य लेखिदिएका रहेछन् । अर्कोले त्यो वक्तव्य प्रेससम्म पु¥याएका रहेछन् । अर्को पुरस्कृतवाला रहेछन् प्रेसवाला उनले त्यस्ता केही वक्तव्य छापिदिएका रहेछन् । अर्काले पार्टी र हाइकमान्डको सामाजिक सञ्जालमा प्रशस्तै प्रशस्ति गर्दा रहेछन् । 

मन्त्रालय त आलय न हो, इटाले बनेको । जसमा विवेक हुने कुरै भएन । आलयीहरूको आउनु र जानुबाट मन्त्रालयका पुरस्कार पाउनेकोहरूको निधारमा ‘श्री’ र ‘पिचिरी’ लेखिन्छ, मानौँ मन्त्रालय धरानको घोपाक्याम्प वा पोखराको पेन्सन क्याम्प हो जसले पुरस्कारको पट्टा पाउने भाग्यमानी छान्छ । मन्त्रालयले यस्ता कतिपय पुरस्कार वितरण गर्नुअघि सार्वजनिक सूचना जारी गर्छ, कार्यविधि पनि बनाएको छ । सोअनुसार सर्जक स्वयंले पुरस्कार पाऊँ भनेर वा अन्य कसैले फलानोलाई पुरस्कार दिनुहोस् भनेर सिफारिस गर्न सक्छ । यस्तो व्यवस्थालाई पारदर्शीका दृष्टिले अन्यथा भन्नु हुँदैन तर स्वाभिमानी सर्जक आफूले आफ्ना लागि पुरस्कार माग्न आउँदैन र त्यस्ता सर्जकका लागि प्रायः सिफारिस पनि आउँदैनन् भन्ने लामो अनुभव मन्त्रालयमा रहेकाले यसबारेमा उसले अभिलेखीय पहल गर्नु पर्छ । अर्काेतिर सर्जक आफैँले आफैँलाई पुरस्कृत गर भन्ने वा नभन्ने ? यो विवाद र स्वाभिमानको विषय हुन सक्छ । आफूबारे आफैँले वा अरू कसैद्वारा सरकारलाई जानकारी दिनुलाई धेरै आलोच्य बनाउनु हुँदैन तर मुलुकभरका लेखक, साहित्यकार, कलाकार, प्रतापि, पुरस्करणीय जसलाई मान, सम्मान, अलङ्कार, पुरस्कार दिनुपर्ने हो त्यसको सामान्य लेखाजोखा तथा अभिलेख मन्त्रालयले राखेको पाइँदैन, राख्दैन । यस्तो अभिलेख तथा मूल्याङ्कनको अभावमा सार्वजनिक सूचना जारी पुरस्कार फर्मायसी गर्नुको विकल्प रहँदैन । यस्तो अवस्थामा हिजोका सङ्कटपूर्ण दिनमा सँगै हिँडेका ‘साथी’ मन्त्रालयको राजनीतिक नेतृत्वमा आइपुगेपछि अर्को ‘साथी’ ले पुरस्कार पाउनु स्वाभाविक हुने नै भयो । एक जना यस्ता प्रतिभा पनि देखियो– “दाइ मन्त्रालयमा आउनुभएको छ, जसरी पनि एउटा पुस्तक छाप्नुप¥यो” भन्दै कुदेका थिए । नभन्दै उनले सर्जक भएर पुरस्कार थाप्ने अवसर पाए । कुन उचाइका व्यक्तिलाई प्रतिभा र कस्तालाई राष्ट्रिय पुरस्कार दिने भन्ने सामान्य विधि पालना भएको पनि देखिँदैन । विधि सायद आवश्यक छैन, जसले मनपरीलाई अलिकति भने पनि बाँध्छ । लोकतन्त्र हो बाँधिनु हुँदैन । त्यसैले नेपाली उखान बनेको होइन ‘के जातिको राँगो फुकेको छ ।’ हो, पुरस्कार वितरण गर्ने मुख्तियारहरू विधिबाट ‘अबन्ध’ हुनु पर्छ । 

असचपु प्रचलित शब्द हो नेपाली प्रशासन यन्त्रमा । असचपु नामक गाडीको चालक चाहिँ नेतृत्वदायी राजनीतिकर्मी हुने परम्परा पञ्चायतदेखिकै हो । यसो हो भने लेखक, साहित्यकार, कलाकारलाई आर्थिक ‘सहयोग’ दिए भैगो त । सहायोगत, सहायता तथा वृत्तिलाई पुरस्कार भन्न पाइँदैन । सहायता पजनी गर्दा पुरस्कार शब्दको गरिमा धूमिल हुन्छ कि भनेर एक पटक सम्बद्ध आलयीहरूले सोच्नु पर्छ । मात्र लगौँटी लगाएर दिनभरको टन्टलापुर घाममा कम गरी नेपालको गार्हस्थ उत्पादनमा योगदान दिने कति जना किसानले पाए नेपाल तारा ? वा दीर्घसेवा पट्ट वा यिनै नामलाई विस्थापन गरी बनाइएका गणतान्त्रिक अलङ्कार, पुरस्कार काएका छन् त किसानले ? किसानीकर्मभन्दा पुरस्कार्य कर्म अरू केही हुन सक्छ तर काम गरेर दाम लिनेहरूलाई दीर्घसेवी भनेर पुरस्कार दिनुपर्ने ? योभन्दा ठुलो अनर्थ कुनै हुन सक्छ । 

वाङ्मय कि वाङ्मयी, साहित्य कि साहित्यकार कसलाई पुरस्कृत गर्ने हो, मुख्य कुरा यो हो । वाङ्मय÷साहित्य विधा वा विषयलाई पुरस्कृत गर्ने हो भने राज्यले उपयुक्त लेखन, प्रकाशन, वितरण, पठन वातावरण बनाइदिनु पर्छ । यसबाट बहुजन हिताय हुन्छ । वाङ्मय÷साहित्यको संस्थागत विकास हुन्छ तर व्यक्तिलाई दिइएको खान्कीले वाङ्मय÷साहित्यको श्रीवृद्धिमा योगदान दिँदैन । कागज र मसी महँगिएर आज असली लेखकलाई लेखेको कृति छाप्ने समस्या छ, आज छापिएका पुस्तक वितरणमा सहजता छैन, पाठक र लेखकबिच सम्बन्ध, सेतु गाँसिन सकेको छैन, नेपाली भाषी बाहुल्य भारतीय क्षेत्रमा विशुद्ध साहित्यिक प्रकाशन पनि पु¥याउन सक्ने अवस्था छैन । यस्तो माग गर्ने नेपाली लेखक तथा प्रकाशकहरूको दशकौँ पुरानो मागमा राज्य उदासिन छ । उत्कृष्ट कृतिको अन्तर्राष्ट्रियस्तरको अनुवाद र अन्तर्राष्ट्रिय जगतमा वितरण हुनु महाकवि देवकोटाले अर्को प्रसङ्गमा भने झैँ ‘आइसल्यान्डको सर्प’ जस्तै छ । एकान्त वातावरणमा कला, साहित्य सिर्जना गर्छु भन्नेले त्यस्तो ‘सिर्जना–गृह’ को सपना पनि देख्ने अवस्था छैन । यस्तो वातावरणमा नाताका नागबेली समातेर दिइने, लिइने पुरस्कारले व्यक्तिको हित गर्ला । लेखनलाई व्यापार बनाउनेहरूको बैङ्क खातामा शुभलाभका डेबिट, व्रmेडिटको कोरिन सक्छन् तर समग्रमा वाङ्मयको विकास उत्थान हुन सक्दैन । वाङ्मयको विकासका लागि शुभलाभ होइन दीर्घलाभको कामना गरौँ । 

लेखनलाई उत्पादनशील क्षेत्र भनौँ । लेखन कारखाना मात्र होइन तर बौद्धिक खुराकबाट मान्छेलाई मानव बनाउने लेखनभन्दा शक्तिशाली अर्को बन्दुक कुन हुन्छ त ? जो साहित्यले निर्माण गर्छ । साहित्यले चेतना र मानवता उत्पादन गर्छ भने साहित्यको नालबाट शक्ति र सत्ता जन्मन्छ भन्ने विज्ञान स्वीकार गर्नु पर्छ । साहित्यले जन्माउने सत्ता र शक्तिमा भौतिक होइन बौद्धिक द्वन्द्व हुन्छ । साहित्य द्वन्द्व रूपान्तरणको जग हो । आधार हो । यस्तो शक्तिशाली साहित्य÷वाङ्मयको विकास केही पात्रलाई खान्की प्रदान गरेर हुन सक्दैन तर यस्तै भइरहेछ । तर कतिन्जेल ?