• १३ साउन २०८१, आइतबार

खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो

blog

ललितपुरमा राजदूतहरुसँग छलफल गर्दै व्यवसायीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २५ गते । खाडी मुलुकमा रहेका नेपाली राजदूतहरूले खाडी देशहरूमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पनि नेपाली व्यवसायीहरू शिक्षित हुन नसकेको बताएका छन् ।

उनीहरूले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरूको माग बढी रहेको बताएका हुन् । उनीहरूले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए ।

ललितपुरमा भएको राजदूतहरूसँग व्यवसायीहरूको छलफलमा बोल्नुहुँदै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यवहासायीहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै उहाँले व्यवसायीहरूले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको भनाइ व्यक्त गर्नुभयो । राजदूतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्नुहुँदै राजदूत ओलीले क्षणिक रूपमा व्यवसायीहरूले सोच्नु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कुन कुन वस्तुमा के के सुविधा पाएका छौँ, त्यो सूची हामीलाई पठाइदिनुहोला, त्यो सूची उहाँहरूलाई पनि सुनाउनु होला । प्रदर्शनीमा जानुहुन्छ, साफ्टाको संरचना गर्नु न भन्दा सर कहाँ प्रयोग गर्ने ? कसरी ल्याउने भन्नुहुन्छ, व्यवसायी । हाम्रा व्यवसायी शिक्षित हुन सक्नुभएको छैन । हाम्रा कमजोरी छन्, त्यो सुधार्नुपर्छ । हाम्रा सुविधा नहुँदा नहुँदै पनि राजदूतले गर्ने ठाउँ धेरै हुन्छ । व्यवसायीहरू पनि क्षणिक आउनुहुन्छ ।’’

यसैगरी, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरूसँग राजदूतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले सम्बन्धित देशहरूलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरूसँगको वातावरण मिलाइलिने स्पष्ट पार्नुभयो । उहाँले सम्बन्धित देशहरूमा हुने मेलामा पूर्णरुपमा निःशुल्क स्टलहरू उपलब्ध गराउन भने नसकिने भए पनि केही छुट दिलाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तपाईँहरू त्यो देशलाई प्रयोग हुने यो उत्पादन छ भन्नुस्, हामी सम्बन्धित देशका मान्छेसँग समन्वय गर्न तयार छौँ । हामी सम्बन्धित देशका चेम्बर अफ कमर्स लगायतसँग सम्पर्क गराइदिन तयार छौँ, तर एउटा कुरा दूतावासले गर्न सक्दैन, स्टल ल्याइदिनुस्, निःशुल्क उपलब्ध गराइदिनुहोस् भन्ने कुरा सरकारले बजेट कम दिएको छ, हामीले सक्दैनौँ । तपाईँहरूले समस्या बताउनुस् । त्यहाँस्थित समस्या भए हामी समाधान गर्न तयार छौँ ।’’

त्यस्तै, युएईका लागि नेपाली राजदूत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढिरहेको बताउनुभयो । उहाँले नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताउनुभयो । उहाँले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरू निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने जिकिर गर्नुभयो । उहाँले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताउनुभयो । उहाँले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठुलो सम्भावना रहेको जानकारी दिनुभयो ।

राजदूत केसीले भन्नुभयो, ‘‘हाम्रोमा निर्यात एकदमै कम छ, आयात बढिरहेको छ । व्यापार घाटा ठुलो छ । झन्डै ४० अर्ब घाटा छ भन्दा हुन्छ, यसलाई कम गर्ने भन्ने हो । लगानी ल्याउने सम्भावना ठुलो छ । नेपालमा युएईको लगानी कम छ, त्यसलाई यहाँ जोड्नसके बजारको सहजता हुन्छ, त्यसमा हाम्रो प्रयत्न जारी हुनेछ । गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठुलो सम्भावना छ ।’’

कार्यक्रममा व्यवसायीहरूले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदूतहरूले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताउनुभयो । उहाँले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरूको माग बढिरहेको उल्लेख गर्नुभयो । उहाँले माग धान्न नसक्दा उनीहरू काश्मीर, सिक्किम पलायन भइरहेको भन्दै दूतावासले यसमा पहल गर्न आग्रह गर्नुभयो । युएईमा राँगाको सुकुटी धेरै माग आएको बताउनुभयो । राजदूतहरूले कूटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवर्द्धन हुने बताउनुभयो । उहाँले दूतावासमा चिया, कफी लगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तपाईँहरूले आफ्नो जुन ब्राण्ड छ, त्यो ब्राण्ड उपलब्ध गराइदिनु भयो भने उहाँहरूको ठाउँ कति खालि हुन्छ, लैजान सक्ने नसक्ने उहाँहरूको कुरा भयो, त्यो पनि हामी गर्दैनौँ । दूतावासमा अन्यले चिया, कफीको फेस्टीबल गर्छ भन्नुभयो, तर हामी गर्दैनौँ । यो देशमा यो जाँदो रहेछ, प्रयास गनुहोस् भन्नुभएको छ, ओहोदाको प्रमाणपत्र पेस गर्दा मेरो देशमा यो सामान बन्छ भनेर त्यो कुरा किन नदिने ? त्यो मात्रै गरेमा पनि ठुलो महत्त्व राख्छ ।’’

उहाँले राजदूतले नेपालको विशेष दिवसहरूमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताउनुभयो ।