• १३ साउन २०८१, आइतबार

क्षयरोग उन्मूलनको लक्ष्य

blog

नेपालले सन् २०५० सम्ममा क्षयरोग (टिबी) मुक्त राष्ट्र बन्ने लक्ष्यसहित क्षयरोग पहिचान र उपचार व्यवस्थापनका कार्य गरिरहेको छ । राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत सन् १९९६ मा डट्स उपचार विधिलगायत विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका औषधी, नयाँ नयाँ प्रविधि र उपचार व्यवस्थापन गर्दै आएको नेपालको क्षयरोग निवारण कार्यक्रम नमुनाका रूपमा अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसित पनि छ । चौमासिक रूपमा कार्यक्रमहरूको समीक्षा र योजनाबद्ध कार्यक्रमले सन् २०३५ सम्म क्षयरोगलाई प्रमुख जनस्वास्थ्य समस्याको सूचीबाट हटाउने र २०५० सम्म प्रति एक लाख जनामध्ये एक जना मात्र क्षयरोगी हुने अवस्था अर्थात् क्षयरोग मुक्त हुने राष्ट्रिय रणनीतिक कार्यक्रमको सफलतालाई निकट पु-याएको पनि ठानिँदै छ । तर बर्दीबास–१४ स्थित नमुना मुसहर बस्ती क्षयरोगले आक्रान्त बनेको समाचारले राष्ट्रिय रणनीतिक एवं प्राथमिकता प्राप्त कार्यक्रमको प्रभावकारितामाथि गम्भीर समीक्षा र जोखिमयुक्त समुदायको उत्थानका लागि नयाँ उपाय आवश्यक रहेको देखाएको छ। 

नमुना बस्तीमा मुसहर समुदायका ५२ परिवारमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ। पछिल्लो समयमा क्षयरोगबाट दुई जनाको मृत्यु भइसकेको छ । औषधी नखाइदिने प्रवृत्तिले सबै उमेर समूहमा टिबी फैलिएको बर्दीबास नगरपालिकाको नगर स्वास्थ्य शाखाको बुझाइ छ। औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले मानिस रोग पालेरै बस्छन् । त्यहाँ बालबालिकासमेत सङ्क्रमित छन्। लक्षणका आधारमा बस्तीका २० जना बालबालिकाको खकार सङ्कलन गरी परीक्षण गराउँदा १० महिनादेखि दुई वर्ष उमेर समूहका चार जना बालबालिकामा छातीको टिबी पुष्टि भएको छ । यी विवरणले मुसहर बस्तीको स्वास्थ्य अवस्था गम्भीर देखाएको छ । 

क्षयरोग धनीलाई पनि लाग्छ, प्रायः यसको कारक गरिबी र भोक (कुपोषण) देखिन्छ । मुसहर समुदाय तराई मधेशको सम्भवतः सबैभन्दा अवहेलित, उपेक्षित, दबित, गरिबीको दुष्चक्रबाट निचोरिएको छ । यो समुदायको दुःख पीडा हटाएर सम्मानजनक, स्वस्थ जीवन बिताउन सक्ने बनाउनु राज्यको संवैधानिक मार्गदर्शन छ । उल्लिखित नमुना बस्ती स्वतन्त्र कलाकारको मानवीय विवेक र सत्प्रयासमा निर्माण र हस्तान्तरण भयो तर त्यहाँका बासिन्दाको जीविकोपार्जन, शिक्षा–चेतना, स्वास्थ्य अधिकारका विषयमा राज्यको यथोचित ध्यान पुगेन । अव्यवस्थित छाप्राबाट निस्किएर व्यवस्थित बस्तीमा बस्न पाए तर जीवन–स्वास्थ्य व्यवस्थित बनाउने चेतना र अवसर दिलाउनुपर्ने राज्य अनि अन्य क्षेत्र, समुदायले आफ्नो पनि दायित्व हो भन्ने महसुस नै गरेनन् ।  

क्षयरोगका बिरामीलाई रोग पहिचान र उपचार मात्र होइन, उचित पोषण र मनोवैज्ञानिक सहायता पनि चाहिन्छ । स्वास्थ्य सेवा प्रदायकहरूले क्षयरोगका बिरामीलाई मर्यादा, समानुभूति र सुरक्षाका साथ व्यवहार गर्नु पर्छ । क्षयरोगसँग लड्न उनीहरूको पोषणका आवश्यकताहरू पूरा गर्नु पर्छ । नमुना मुसहर बस्तीका अधिकांश पुरुषले गाँजा, मदिरा सेवन गर्ने तर स्वास्थ्य जाँच नै नगराउने प्रवृत्ति छ । स्वास्थ्य जाँचबाट समस्या पहिचान भएकाले पनि नियमित औषधी सेवन नगर्ने प्रवृत्ति छ । औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले रोग पालेर बस्ने, भनेको नमान्ने समस्याले शिक्षा तथा चेतनाको स्तर पुष्टि गर्छ । उनीहरूको आर्थिक समस्याग्रस्त मनोविज्ञान पनि यसमा असरदार देखिन्छ । यो बस्ती जनस्वास्थ्य समस्याको पनि नमुना नै हो– मुलुकका अनेक समुदाय र परिवारको प्रतिनिधित्व गर्ने ।

स्वास्थ्य नागरिकको अधिकार हो । नेपाल सरकारले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको नारा आत्मसात् गरेको छ । क्षयरोगकै सन्दर्भमा यसको सङ्क्रमण फैलिन नदिन र रणनीतिक लक्ष्य हासिल गर्न राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत घरपायकको स्वास्थ्य संस्थाबाट तोकिएको समयावधिसम्म निःशुल्क उपलब्ध गराउने गरिएको छ । जुनसुकै प्रकोपका बेला पनि औषधी आपूर्ति निरन्तर छ तर अझै वार्षिक करिब १० हजार बिरामी यो कार्यक्रमको पहुँचबाहिर रहने गरेको सम्बन्धित स्वास्थ्य निकायहरूको स्वीकारोक्ति छ । सङ्घीय संरचनाबमोजिम स्वास्थ्य संस्था र जनशक्ति परिचालन भए पनि क्षयरोगको प्रकट समस्या निदानका लागि सबै तहमा राजनीतिक प्रतिबद्धता, शिक्षा, वित्त, निजी क्षेत्र र समुदायहरूबिच बहु–संस्थागत समन्वय आवश्यक छ । बिरामी र समुदायमा क्षयरोगसम्बन्धी आवश्यक शिक्षा र सूचना प्रदान गरी जनचेतना वृद्धि गर्नु पर्छ । बलियो सार्वजनिक स्वास्थ्य प्रणालीमार्फत क्षयरोगको उपचार सबैका लागि सुलभ र सस्तो बनाउनु पर्छ । जोखिममा रहेका समुदाय, परिवारको शिक्षा र आर्थिकस्तर सुधारका कार्यक्रम बहुआयामिक हुन सक्छन् । त्यसतर्फ चाँडो कदम चाल्नु जरुरी छ ।