काठमाडौँ, असार १९ गते । नेपालमा लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य सङ्कटका रूपमा देखा पर्दैछ । राष्ट्रिय महिला आयोगद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता प्राचीन सुनारले पछिल्लो समय १३ देखि २० वर्ष उमेर समूहका किशोर–किशोरी लागुऔषध दुर्व्यसनमा फस्दै गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उनीहरूमा गम्भीर मानसिक समस्या देखिन्छ । खासगरी महिला प्रयोगकर्ताको अवस्था अझै कमजोर छ । पुरुषका लागि केही सुधार केन्द्र भए पनि महिलाका लागि सुरक्षित, पहुँचयोग्य र स्थायी केन्द्रको अभाव छ ।”
लागुऔषध दुर्व्यसन बढ्दै जाँदा यौन हिंसाका घटना पनि बढ्दै गएको अनुमान गरिएको छ । कुनै अध्ययन अनुसन्धान नभए पनि युवामा देखिएको लागुऔषध दुर्व्यसनले यौन हिंसाका घटना बढाएको अनुमान गर्न सकिन्छ राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेलले भन्नुहुन्छ ।
पौडेलले पुरुष मानसिकताका कारण महिला आयोगमा काम गर्न कठिन भएको बताउनुभयो । आयोगलाई बजेट कम हुदाँ ७७ जिल्लाका घटनाहरु केलाउन समस्या भएको उहाँको बुझाइछ । महिला आयोगमा आर्थिक वर्ष २०८०/८१ मा ५०६ उजुरी दर्ता भएका थिए ।
जसमध्ये अधिकांश घरेलु हिंसा, मानसिक, शारीरिक र आर्थिक हिंसासँग सम्बन्धित छन् । तर पेशागत क्षेत्रमा हुने महिला हिंसा भने एकचोटि पनि उजुरीको रूपमा देखा परेको छैन । प्रहरीमा हिंसाका घटना हजारौंको सङ्ख्यामा दर्ता भए पनि आयोगको विवरण हेर्दा भिन्नताको ठुलो खाडल देखिएको छ ।
महिला आयोगको विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ११ वटा महिला हिंसासम्बन्धी उजुरी परेका छन् । यसैगरी मधेश र कोशी प्रदेशमा क्रमशः एक–एक वटा मात्र उजुरी दर्ता भएका छन् । बाँकी चारवटा प्रदेशमा एक पटक पनि महिला हिंसाको उजुरी परेको छैन ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम महिला हिंसाका घटना शून्य छन् । जुन चिन्ताजनक विषय हो । उजुरी सङ्ख्या हेर्दा आर्थिक हिंसा सबैभन्दा बढी देखिएको छ । आर्थिक हिंसा २५५, शारीरिक हिंसा २१५, मानसिक हिंसा १५१, यौनजन्य हिंसा आठ छन् ।