• १४ पुस २०८१, आइतबार

चार मुक्तक

blog


धागो चुँडिएपछि चङ्गाले भुइँ छुनु पर्छ 

अरूलाई रुवाउनेले पछि आफँै रुनु पर्छ 

श्रद्धा भए पो मन्दिरमा भक्तको लर्को 

पुज्न छाडिएपछि भगवान्ले पनि ढुङ्गो हुनु पर्छ  

बाँचुन्जेली छिःछिः दुरदुर मरेपछि हाम्रो हुन्छ

मान्छेको मन आजभोलि किन यति चाम्रो हुन्छ

आफन्तलाई थोत्रो भनी हेला कैले नगर्नू है

ढुङ्गा जति पुरानो भो मूर्ति उति राम्रो हुन्छ


सपनामा संसार देख्ने आँखाको रङ उस्तै हुन्छ 

सगरमाथा शिखर टेक्ने साहसको रङ उस्तै हुन्छ

कलम बोक्ने हातहरू जस्ता जस्ता भए पनि

पसिनाको भाषा लेख्ने मसीको रङ उस्तै हुन्छ

डाँडाको टुप्पोबाट देखिने सुन्दरता फेदी ओर्लिएपछि छेकिन्छ 

ओह्रालो बगेको पानी पिएर फेरि पनि उकालो टेकिन्छ 

अनुहारको रङ हेरेर मान्छे तौलन कहाँ सकिँदोरहेछ र 

कालो मसी र कालो कलमबाटै सुकिलो भविष्य लेखिन्छ । 

मोरङ, हाल काठमाडौँ