• १२ साउन २०८१, शनिबार

लाखको आम्दानीलाई करोडमा पु-यायौँ

blog

कास्कीको रूपा गाउँपालिका पोखरा महानगरसँगै जोडिएको छ । कास्कीका साबिक थुम्की, रूपाकोट र देउराली गाविसका सबै भूभाग र हंसपुरका वडा नं. ५ र ८ बाहेकका भूभाग मिलेर यो पालिका बनेको हो । कास्कीको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित प्राकृृतिक रूपले सुन्दर यो पालिकाले विकासको सम्भावना बोकेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रूपाको अध्यक्षमा उम्मेदवारी दिएका नवराज ओझा दोस्रो कार्यकालका लागि चुनिनुभएको थियो । गाउँपालिका महासङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहनुभएका अध्यक्ष ओझासँग रूपाको अवस्था र गाउँपालिकाको भूमिकाबारे गोरखापत्रका पत्रकार फडिन्द्र अधिकारीले गरेको कुराकानी :

पहिलो पूर्ण र दोस्रो कार्यकालको करिब डेढ वर्षलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

कास्कीका अरू गाउँपालिकाभन्दा रूपा केही फरक र अब्बल पनि छ । अघिल्लो कार्यकाल सुरु गर्दा पालिकामा एक मिटर पनि कालोपत्रे सडक थिएन । अहिले पालिकाका मुख्य सडक सबै पिच भइसकेका छन् । कृषि र पर्यटनको विकासबाट पालिकावासीको समृद्धिको योजनाबद्ध खाका हामीले बनएका छौँ । अघिल्लो कार्यकालको सुरुमा पाँच लाख आन्तरिक आम्दानी गर्ने रूपाले अहिले डेढ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गर्छ । गाउँपालिकामा अहिले आन्तरिक आम्दानी बढेर लगभग दुई करोड रुपियाँसम्म पुगेको छ । 

यो आर्थिक वर्षमा १२.७ प्रतिशत बजेट खर्च गरी रूपालाई मौरीको हब बनाउँदै छौँ । कम्तीमा रूपामा आगामी वर्षबाट न्यूनतम वार्षिक आठ हजार लिटर मह उत्पान गर्ने लक्ष्य छ । पहिलो कार्यकाल सफल र जनमुखी भएकैले जनताले फेरि अनुमोदन गर्नुभएको छ । 

कृषि र मौरीको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्ने आधार तय भएको हो ?

दोस्रो पटक चुनिएपछिको पहिलो वर्ष पनि हामी तयारीमै भयौँ । रूपाताल परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन र केही बाटो निर्माणमा हामीले ध्यान दियौँ । यो आर्थिक वर्षमा हामीले जे लक्ष्य राखेका छौँ, सोही अनुसारको बजेट बनाएका छौँ । लक्ष्य नराखी गन्तव्यमा पुग्न सकिँदैन । पालिकावासीलाई पहिला मौरीबारे जानकारी, सचेतना दिन्छौँ; त्यसपछि मौरीपालन तालिम आयोजना गरिने छ । यी दुई चरणबाट उपयुक्त छानिएका पालिकावासीको माग अनुसार मौरी परियोजना अघि बढ्छ ।  

यो वर्ष कृषिका पकेट क्षेत्र घोषणा गर्ने तयारी छ । सिप्लिकानलाई प्रवर्धन गर्ने तयारी गरेका छौँ । मादी नदी नजिकका जमिनमा लिफ्टिङ सिँचाइको व्यवस्था गर्ने पालिकाको तयारी छ । युवा, महिला, उद्यमी, लगानी गर्न चाहने बाहिरका व्यक्ति, लक्षित वर्ग, अपाङ्गता भएका गरी सबैलाई सम्बोधन गर्ने खालका कार्यव्रmम बनाएका छौँ । रोजगारी सिर्जना गर्न युवालक्षित विशेष कार्यव्रmमसमेत छन् । 

रूपाको आफ्नै अस्पताल बनाउने र एक घर, एक धाराको योजना अगाडि बढेको हो ?

अस्पतालका लागि हालै जग्गा प्राप्ति भएको छ । १५ शøयाको अस्पताल बनाउने हाम्रो तयारी हो । यो वर्ष हामी टेन्डरमा गएर प्रक्रिया अघि बढाउँछौँ । रूपाका बासिन्दा सामान्य तहको उपचारकै लागि पोखरा जानुपर्ने बाध्यता हटाउनै पर्छ । 

एक घर, एक धारा कार्यक्रम पूर्ण रूपमा लागु हुन थोरै बाँकी छ । त्यो क्षेत्र भनेको सङ्घ र प्रदेश सरकारले चलाएका योजनामा हो । त्यहाँ थोरै थोरै बजेट हुँदा लक्ष्य पूरा भएको छैन  । पालिकाले गर्नुपर्ने काम हामीले सकेका छौँ । प्रदेशका योजना बाँकी छन् । हामी यस पटक सडक कालोपत्र गर्न लागेका छौँ । प्रदेश सरकारको पालिकामा १६ किमीको रूपा चक्रपथ बनाउने योजना छ । त्यसलाई पनि सघाउँदै हामी अघि बढ्छौँ । 

तपाईं गाउँपालिका महासङ्घ गण्डकी प्रदेशको अध्यक्षसमेत हुनुहुन्छ । सङ्घ र प्रदेशसँग समन्वय र सहकार्य भइरहेको छ ?

अहिले सङ्घले पनि एक, दुई लाखका योजना स्थानीय तहमा हालेको छ । प्रदेशको अवस्था पनि उस्तै हो । सङ्घ र प्रदेशका माननीय ससाना योजनामा बजेट बाँड्नमै लागेको देखियो । वडाका भन्दा साना योजना लिएर माथिका सरकार आउने अवस्था छ । यसले प्रभावकारी काम नहुने र योजना दोहोरिने कमजोरी देखिएका छन् । नीति बनाउनुभन्दा पनि अहिले मैले बजेट नै बाड्न पाइनँ भने म जनप्रतिनिधि नै होइन कि भन्ने मानसिकता बनेको छ । हालै सर्वाेच्च अदालतले संसद् विकास कोषमा रकम नबाँड्न भनेको छ, हेरौँ त्यसपछि केही सुधार होला । 

स्थानीय तहसँग समन्वय नहुने तर कार्यकर्ता खोज्दै हिँड्ने प्रवृत्ति अब बदल्नै पर्छ । हामी सबैले विकास नहुने राजनीतिलाई रोक्नै पर्छ । सुखी नेपाली, समृद्ध नेपालको नारा सार्थक बनाउने हो भने स्थानीय तह, प्रदेश र सङ्घबिच समन्वय र सहकार्य गर्नुको विकल्पै छैन । तीन तहका सरकारको जिम्मेवारीका काम फरक हुनु पर्छ । सहकार्यका क्षेत्रमा चुस्त सहकार्य र समन्वय जरुरी छ । 

अहिलेको कार्यकाल सकिँदा रूपाको स्वरूप कस्तो बन्ला ?

हामी हाम्रो घोषणापत्र अनुसार पालिकावासीको आवश्यकताबमोजिम काम गर्छौं । त्यो समयसम्म यहाँ मुख्य बाटा सबै कालोपत्रे भइसक्ने छन् । हाम्रो आफ्नै अस्पताल तयार भइसक्ने छ भने कृषि र पर्यटनलाई जोडेर हामी उत्पादन बढाउन लाग्ने छौँ । हामीकहाँ भएका धेरै सम्भावना खोजिसकेका छौँ । ती क्षेत्रमा वैज्ञानिक रूपमा अध्ययन, अनुसन्धान गरी योजना बनाएर युवालाई लगानी, रोजगारी सिर्जना र समृद्धिमा सहभागी हुने अवसर बनाइने छ । 

जनताले भाषण धेरै सुनिसकेका छन् । यो कार्यकाल सकिँदा हामी थोरै बोल्ने छौँ, धेरै कुरा हाम्रो कामले नै बताउने छ । हामीले पालिकाको आठ लाख रुपियाँ आम्दानीलाई  करोडमा पु-याएका छौँ । अहिले गरेका कामको नतिजा तत्कालै देखिने रहेनछ, समयक्रममा हाम्रो कामको परिणाम देखिएला ।