• १० मंसिर २०८२, बुधबार

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी, अफगानिस्तानद्वारा ‘जवाफी कारबाही’ गर्ने चेतावनी

blog

जेरुसेलम, मङ्सिर १० गते । अफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ । तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ । 

खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा पोस्ट गर्दै जानकारी गराउनुभएको छ । अफगानिस्तानले आक्रमणमा पाकिस्तानी सेनाले ‘स्थानीय नागरिकको घर’ लाई लक्षित गरेको बताएको छ । 

एएफपीका एक संवाददाताका अनुसार पाकिस्तानको सीमा नजिकैको लक्षित क्षेत्रका बासिन्दाले भत्किएको घरको भग्नावशेषमा पुरिएका आफन्तको खोजी गरेका छन् । “आम मानिसमाथि बम नबर्साइयोस् किनकि नागरिकले कुनै गलत काम गरेका छैनन्”, जिगे मुगलगाई क्षेत्रका बासिन्दा साजिदुल रहमानले भन्नुभयो । खोस्तका गभर्नरका प्रवक्ता मुस्तगफिर गुरबुजले ड्रोनसहितको विमानबाट आक्रमण गरिएको बताउनुभयो । 

सरकारका प्रवक्ता मुजाहिदले कुनार र पक्तिका नजिकैको सीमावर्ती क्षेत्रमा पनि आक्रमण भएको र कम्तीमा चार जना घाइते भएको जानकारी दिनुभयो । मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अपगानिस्तान यस उल्लङ्घनको कडा निन्दा गर्दछ र आफ्नो हवाई क्षेत्र र जनताको रक्षा गर्नु उसको वैधानिक अधिकार हो र उसले सही समयमा उचित प्रतिक्रिया दिने छ ।”

पाकिस्तानले कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले पाकिस्तानले अफगानिस्तानमा आक्रमण नगरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जब हामी आक्रमण गर्छौ, त्यसलाई खुला र उचितरूपमा घोषणा गरिन्छ । पाकिस्तानले कहिल्यै पनि सर्वसाधारणमाथि आक्रमण गर्दैन । अफगानी अन्तरिम सरकारको आरोप निराधार छ ।”

पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल सङ्घीय कन्स्टेबुलरी फोर्सको मुख्यालयमा सोमबार भएको आत्मघाती आक्रमणमा परी तीन अधिकारीको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए । अहिलेसम्म कुनै पनि समूहले यसको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित टेलिभिजन पिटिभीले आक्रमणकारी अफगान नागरिक भएको जनाएको छ । पाकिस्तानका राष्ट्रपति आसिफ जर्दारीले तेहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी)लाई स्थानीय भाषामा उल्लेख गर्दै विदेशी समर्थित ‘फितना अल-खवारिज’ ले अफगानिस्तानको भूमिबाट आक्रमण गरेको गरेको आरोप लगाउनुभएको छ । 

यसै महिना पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अदालत बाहिर भएको अर्को आत्मघाती बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको थियो । यसको जिम्मेवारी पाकिस्तानी तालिबानको एक गुटले लिएको थियो । इस्लामाबादले राजधानी हमलाको पछाडि रहेको अफगानिस्तानमा रहेको लडाकू समूहको उच्च कमाण्डबाट निर्देशित भएको बताएको छ ।

 -तनावमा युद्धविराम-

 पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले मङ्गलबार पत्रकारसँग इस्लामाबाद आक्रमणमा अफगान तालिबानको संलग्नता रहेको स्पष्ट प्रमाण भेटिएको बताउनुभयोे । उहाँले हिरासतमा रहेका चार संदिग्धमध्ये एकको कथित स्वीकारोक्ति उहाँले पोष्ट गरेको भिडियोमा भन्नुभयो, “आक्रमणमा अफगानिस्तान पूर्णरूपमा संलग्न छ र तिनीहरूको माटो पनि संलग्न छ । त्यहाँ आश्रय लिइरहेका व्यक्ति पनि संलग्न छन् ।

सन् २०२१ मा काबुलमा तालिबान सत्तामा आएपछि इस्लामाबाद र काबुलबिचको सम्बन्ध बिग्रिएको छ र अक्टोबरमा सीमा भिडन्तमा दुवै पक्षका करिब ७० जनाको मृत्यु भएको थियो । कतार र टर्कीको मध्यस्थतामा युद्धविरामसँगै त्यो लडाइँ समाप्त भएको थियो तर दोहा र इस्तानबुलमा भएका धेरै चरणको वार्ता दिगो सम्झौता गर्न असफल भएका छन् । विशेष गरी पाकिस्तानले काबुलले टिटिपी लडाकूलाई नियन्त्रण गर्नुपर्ने मागमा सुरक्षा मुद्दा अड्किएका छन् । 

इस्लामाबादले तालिबानले आक्रमणमा वृद्धि भएका आतङ्कवादीलाई आश्रय दिएको आरोप लगाएको छ, विशेष गरी टिटिपीले वर्षौदेखि पाकिस्तानविरुद्ध रक्तपातपूर्ण अभियान चलाइरहेको छ । पाकिस्तानले अफगानिस्तानप्रति शत्रुतापूर्ण सम्बन्ध रहेका समूहलाई आश्रय दिने र आफ्नो सार्वभौमिकताको सम्मान नगर्ने गरेको आरोपको काबुलले खण्डन गर्दै आएको छ ।

अक्टोबरमा भएको झडपपछि छिमेकी देशबिचको सीमा छ हप्ताभन्दा बढी समयदेखि बन्द छ, जसले द्विपक्षीय व्यापार ठप्प पारेको छ । पाकिस्तान-अफगानिस्तान संयुक्त वाणिज्य तथा उद्योग चेम्बरले सीमामा हजारौँ कन्टेनर अड्किएको र प्रत्येकमा दैनिक १५० देखि २०० डलर शुल्क तिर्नुपर्ने भएको बताएको छ । रासस/एएफपी