• ३० वैशाख २०८२, मङ्गलबार

गिद्धको बासस्थान लोप हुँदै

blog

रेखीराम राना 

पाल्पा, भदौ २० गते । प्राकृतिक कुचीकार भनेर चिनिने पन्छी गिद्धको बासस्थान लोप हुँदै गएको छ । जिल्लाको विभिन्न स्थानमा लामो समयदेखि गिद्धले गुँड (बासस्थान) बनाएका  ठुला र अग्ला रुख मासिँदा गिद्ध नै लोप हुने हो कि भन्ने चिन्ता बढेको छ ।  

ठुला र अग्ला रुख मासिँदै गएपछि प्राकृतिक कुचीकार गिद्धको बासस्थान संरक्षण हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । केही वर्षअघिसम्म जिल्लाको माथागढी, तानसेन, बगनासकाली, रामपुर क्षेत्रमा गिद्धको बासस्थान रहेको थियो । माथागढी–३, सराईका स्थानीय बासिन्दा बुद्धिमान कुमालले सामुदायिक र निजी जग्गाका ठुला पीपल र सिमलका रुख काटिन थालेपछि गिद्ध बासस्थान छाडेर अन्तै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म नजिकैको पीपलमा गिद्धले आफ्नो बच्चा हुर्काउँथ्यो अहिले यहाँका गिद्ध कहाँ गए । एक दशक भयो देखिन छाड्यो ।” बासस्थान बनाउने ठुला पिपल, बर, सिमलका रुखको नास भएपछि गिद्धले बासस्थान छाड्दै गएको छ । पहिले गिद्धका लागि भनेर नै ठुला रुखको संरक्षण गर्ने चलन थियो तर पछिल्लो समय कुकाठको नाममा सिमल, बर तथा पीपलको रुख काट्ने क्रम बढेको छ । ठुला रुख काटिएपछि गिद्ध अन्तै सुरक्षित स्थान खोजेर भागेको वन उपभोक्ता महासङ्घ पाल्पाका पूर्वअध्यक्ष निरन्जन भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “साना रुखमा गिद्धले बास (गुँड) बनाउँदैन, ठुला रुख मासिँदै गए, गिद्धले गुँड बनाउन लायकको रुख नभएपछि अन्त जानु स्वाभाविक हो ।” 

केही वर्षअघिसम्म तानसेनको अँधेरी छरछरे सामुदायिक वनमा समेत गिद्धको बासस्थान थियो । तर, अहिले उक्त वनभित्र गिद्धको बासस्थान नरहेको भुसालले बताउनुभयो । गिद्धको गुँडमा बाँदरलगायतका पशुबाट आव्रmमण भएपछि गिद्ध बासस्थान छाडेर अन्तै गएको स्थानीय बासिन्दाको भनाइ छ । यस्तै बगनासकालीको चिर्तुङ्धारामा समेत गिद्धले बासस्थान छाडेको छ । गिद्धको बासस्थान लोप हुनुमा ठुला रुख काटिनु मात्रै नभई पशुलाई डाइक्लोफेनेक औषधी प्रयोग भएको पशुआहारबाट गिद्धको मृत्यु हुनु रहेको वनका कर्मचारी बताउँछन् । केही वर्षअघि धेरै गिद्ध डाइक्लोफेनेक औषधी प्रयोग भएको पशुको आहार गर्दा मरेकाले गिद्धको सङ्ख्या कमी भएको वनका कर्मचारी बताउँछन् । 

डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले पाल्पाकै रामपुरको खैरेनी सामुदायिक वनमा भने अहिले पनि गिद्धको बासस्थान रहेको र त्यहाँ लोपउन्मुख गिद्धसमेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको अन्य स्थानमा गिद्धको बासस्थान छैन तर रामपुरको खैरेनीटारमा गिद्धका गुँडहरू छन् ।” लोप हुँदै गएको गिद्धको बासस्थान संरक्षणका लागि यो वर्षदेखि काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । गिद्धले आहाराका रूपमा खाने सिनो प्रशस्त मात्रामा नपाउँदा पनि बासस्थान छाडेर गिद्ध अन्तै गएको हुन सक्ने उहाँले बताउनुभयो ।