• १ जेठ २०८२, बिहिबार

निरीक्षण गर्न म आफैँ जान्छु : मन्त्री ज्वाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयतालिका (टाइम कार्ड) बनाएर काठमाडौंँका सडक सुधार्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले राज्यका निकायहरूबिच समन्वय नहुुँदा उपत्यकाका सडक दुरावस्थामा पुगेको बताउनुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाई, नेपाल टेलिकमका प्रतिनिधिसहित सडकसँग सम्बन्धित विभिन्न निकायका प्रमुखसँग सोमबार मन्त्रालयमा भएको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

सडकसँग सम्बन्धित निकायले गरेका लापरबाहीलाई मन्त्रालय टुलुटुल हेरेर बस्न नसक्ने स्पष्ट पार्दै मन्त्री ज्वालाले तत्काल सुधारका काम सुरु गर्न मन्त्रालयमातहतका निकायलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न निकायले सडक भत्काउने र नागरिकले दुःख पाउने अवस्था अब मन्त्रालयले हेरेर बस्दैन ।” सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै उहाँले भन्नुभयो, “तपाई काममा गम्भीर नहुने, नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन । म अब आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।”

उहाँले सडक विभागले सडक कालोपत्रे गरेपछि केही दिनमै त्यही सडकमा विद्युत् प्राधिकरणले खन्ने गरेको बताउँदै थप्नुभयो, “फेरि कालोपत्रे गरिन्छ । लगत्तै नेपाल टेलिकमले खन्छ । फेरि कालोपत्रे गरिन्छ । लगत्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ । यसरी सडकको बेहाल भयो । सडकको यो बिजोग हेरेर बस्न सकिँदैन । टाइमलाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उपत्यकाभित्र नेपाल विद्युत् प्राधिकरणले ५० किलोमिटर सडकमा विद्युत्को तार भूमिगत गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थाले पनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा अहिले काम गरिरहेको छ । त्यसै गरी खानेपानी लिमिटेडले पनि पाइप बिछ्याएपछि सडक सुधारेको छैन । नेपाल टेलिकमले पनि केही सडकमा टेलिफोनको तार बिछ्याउने काम गरिरहेको छ ।