• २५ असार २०८२, बुधबार

एअर इन्डिया दुर्घटनाको मृत्यु सङ्ख्या २६० मा स्थिर

blog

अहमदाबाद (भारत), असार २५ गते । भारतीय फोरेन्सिक अनुसन्धानकर्ताहरूले गत महिनाको लन्डनतर्फ गइरहेको यात्रु विमानको दुर्घटनामा मारिएका सबै दुई सय ६० जनाको पहिचान गरेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताएका छन् । यद्यपि दुर्घटनाका बारेमा अत्यधिक प्रतीक्षित प्रारम्भिक प्रतिवेदन आउनुअघि यो जानकारी दिइएको हो ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले दशकौँको सबैभन्दा घातक हवाई दुर्घटनाहरूमध्ये एकको अनुसन्धानको नेतृत्व गरिरहेको छ । दुर्घटनाको एक महिनापछि शुक्रबार प्रारम्भिक प्रतिवेदन जारी हुने अपेक्षा गरिएको छ । जुन १२ मा दुर्घटनाग्रस्त हुँदा एअर इन्डिया बोइङ ७८७-८ ड्रिमलाइनरमा सवार दुई सय ४२ जनामध्ये एक जना बाहेक सबैको मृत्यु भएको थियो ।

पश्चिमी सहर अहमदाबादमा उडानको तुरुन्तपछि विमान आवासीय क्षेत्रमा खसेको थियो । अधिकारीहरूले जमिनमा मारिएका १९ जनाको पनि पहिचान गरेका छन् । अनुसन्धानको बारेमा कुनै विवरण जारी गरिएको छैन । अनुसन्धानमा बेलायत र अमेरिकी हवाई दुर्घटना अनुसन्धान एजेन्सीहरू पनि सहभागी छन् ।

यद्यपि विशेषज्ञ वेबसाइट द एअर करेन्टले अनुसन्धानसँग जानकार धेरै व्यक्तिलाई उद्धृत गर्दै यसले ‘आफ्नो ध्यान इन्जिन इन्धन स्विचहरूको गतिमा केन्द्रित गरेको’ बताएको छ । पूर्ण विश्लेषणमा ‘महिनौँ र अझ धेरै समय लाग्नसक्ने’ पनि वेबसाइटले बताएको छ । वेबसाइटमा ‘त्यो समयमा अनुसन्धानकर्ताहरूको केन्द्रविन्दु परिवर्तन हुन सक्ने’ पनि बताइएको छ । तर वेबसाइटले ‘अनुसन्धानको यो विन्दुमा अनुसन्धानकर्ताहरूका लागि उपलब्ध डेटाले ७८७ विमान वा यसका इन्जिनहरूमा मेकानिकल वा डिजाइन समस्याको सङ्केत गर्दैन’ पनि भनेको छ ।

वेबसाइटले यसका स्रोतहरूले ‘दुर्घटनापछिको विश्लेषणले इन्धन सम्मिश्रण वा विमानको फ्ल्यापहरूको अनुचित तरिकाले पछि हटेको कुनै सङ्केत देखाएन’ भनेको छ । यसका बारेमा यो एउटा कारण थियो भनी अनुमान गरिएको छ । भारतीय राज्य गुजरातका स्वास्थ्य अधिकारीहरूले सुरुमा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएको भनेका थिए, तर फोरेन्सिक वैज्ञानिकहरूले धेरै छरपस्ट भएका र नराम्ररी जलेका अवशेषहरूको पहिचान गरेपछि सङ्ख्या घटाएका छन् ।

“विमान दुर्घटनामा अन्तिम मृत्यु सङ्ख्या अब दुई सय ६० मा पुगेको छ”, अहमदाबादको मुख्य सरकारी अस्पतालका प्रमुख राकेश जोशीले बुधबार एएफपीलाई भन्नुभयो, “दुर्घटनास्थलबाट अहिलेसम्म भेटिएका सबै मानवीय अवशेषहरूको पहिचान गरी तिनीहरूका परिवारहरूलाई हस्तान्तरण गरिएको छ ।” “हाम्रो काम अब समाप्त भएको छ”, उहाँले भन्नुभयो, “हामीले दुर्घटनास्थलबाट सङ्कलन गरिएका सबै मृत अवशेषहरूको डिएनए मिलाएका छौँ ।”

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसिएओ) ले अनुसन्धानको नेतृत्व गर्ने राज्यहरूले दुर्घटनाको ३० दिनभित्र क्यानाडा मुख्यालय भएको सङ्गठनलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्छ भनी निर्धारण गरेको छ । त्यो प्रतिवेदन भने सार्वजनिक गर्नुपर्दैन । आइसिएओका अनुसार प्रारम्भिक प्रतिवेदनहरू गोपनीय राख्न वा अनुसन्धान गर्ने राज्यका विवेकमा सार्वजनिक गर्न सकिन्छ । रासस/एएफपी