• ६ जेठ २०८१, आइतबार

‘उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने कलेज नेपालमै छन्’

blog

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मानित गर्नुहुँदै ।

काठमाडौं, भदौ १८ गते । जनप्रतिनिधि तथा शिक्षाविदहरूले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न विदेश नै जानुपर्छ भन्ने मान्यता नराख्न विद्यार्थीहरूसँग आग्रह गरेका छन् ।

साथै उनीहरूले उत्कृष्ट शिक्षा हासिल गर्न महँगा कलेज नै पढ्नुपर्छ भन्ने सोचाइ पनि सही नभएको चर्चा गर्दै कम शुल्कमा पनि उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने कलेजहरू नेपालमा धेरै छन् भन्नुभयो ।


काठमाडौंको नेपालटारमा अवस्थित एन.आर. कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरूको साझा संस्था एन. आर. कलेज पूर्व विद्यार्थी समाजले सोमबार आयोजना गरेको सम्मान तथा बधाइ कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकामा रहेका कक्षा १२ सम्म पढाइ हुने विद्यालयका प्राचार्य तथा  कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान र बधाइ ज्ञापन गरिएको थियो । 

सो नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धेरै विद्यार्थीको रहर हुन्छ, डाक्टर, इन्जिनियर, पाइलट, नर्स, पत्रकार र वकिल बन्ने इच्छा, विद्यार्थीले आफूलाई रुचि भएको र अभिभावकले आर्थिक भार व्योहोर्न सक्ने विषय लिएर अध्ययन गर्न सुझाव दिनुभयो । 


नगरप्रमुख महर्जनले भन्नुभयो, ‘‘जुन विषय लिएर पढे पनि हुन्छ, पढेर ठुलो मान्छे होइन असल मान्छे बन्नुहोस, औपचारिक शिक्षाका अतिरिक्त ज्ञान पनि हासिल गर्नुहोस र सिर्जनशील हुनुहोस, विदेश जाने संस्कृतिलाई रोकेर देशभित्रै केही गर्छु भन्ने अठोट लिनुहोस ।’’ 

उहाँले तारकेश्वरले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी वृद्धि गरेको र शैक्षिक गुणस्तरलाई अझ माथि उठाउन अभियान सुरु गरेको जानकारी पनि दिनुभयो । 

उपप्रमुख सिर्जना बुर्लाकोटीले उत्कृष्ट शिक्षा लिन महँगो कलेज नै पढ्नुपर्छ अनि विदेश नै जानुपर्छ भन्ने सोचाइ नबनाउन र देशमै पढेर समाजका लागि केही गर्छु भन्ने अठोट लिन विद्यार्थीसँग आग्रह गर्नुभयो । 

एन.आर. कलेजका प्रिन्सिपल राजीप धितालले यो कलेज गैरानाफामूलक सामुदायिक कलेज भएकाले भर्ना र मासिक शुल्क न्यून रहेको जानकारी दिनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाबाट सहयोग अपेक्षा गर्नुभयो । 


प्रिन्सिपल धितालले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको राम्रो व्यवस्था रहेको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि क्युएएको प्रक्रियामा कजेज अगाडि बढेको र विद्यार्थीलाई सहयोग गर्न विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको जानकारी दिनुभयो । 

पूर्व क्याम्पस प्रमुख धनलाल महर्जनले आफ्ना मातापिताको नाममा एक लाखको अक्षय कोष स्थापना गर्ने र त्यसको सञ्चालन कलेजको पूर्व विद्यार्थी समाजले गर्ने छ भन्नुभयो । 

एन. आर. कलेज पूर्व विद्यार्थी समाजका अध्यक्ष परोपकार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सो समाजका श्वेच्क्षा उप्रेती, हरिहर सिलवालले सम्मानित प्राचार्य तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो ।