• ८ मंसिर २०८१, शनिबार

गतिशील अर्थतन्त्रको अपेक्षा

blog

गत आठ महिनामा नेपालमा छ लाख एक हजार ३६० जना विदेशी पर्यटक भित्रिए । पछिल्लो एक महिनामा मात्र ६७ हजार १५३ जना पर्यटक आए । भौगोलिक, प्राकृतिक, सांस्कृतिक रूपमा सुन्दर मुलुक नेपालको आर्थिक वृद्धिका लागि प्राकृतिक स्रोतकै रूपमा मान्न सकिने पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरू पर्यटक आगमन वृद्धिबाट उत्साही छन् । उनीहरू यस वर्ष दस लाख पर्यटक भिœयाउन प्रयासरत छन् । कोभिड महामारीका कारण अवरुद्ध पर्यटन बौराउन थालेयता धुमधाम प्रचारबिना नै पर्यटक आगमनमा भइरहेको वृद्धि उत्साहपूर्ण हुँदै हो । वैदेशिक मुद्रा प्राप्तिको स्रोत पर्यटन क्षेत्रले अर्थतन्त्रलाई टेवा दिए जस्तै सरकार र निजी क्षेत्रको पुँजी परिचालनका गतिविधि बढाउन आवश्यक छ । आर्थिक गतिविधि अगाडि बढाउन जे समस्या महसुस गरिएको छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेकोले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास अर्थमन्त्री डा. प्रकाशशरण महतको छ । 

मुलुक आर्थिक सङ्कटमा पुग्नबाट रोकिए पनि समस्याबाट मुक्त हुन सकेको छैन । अनुमान र लक्ष्य अनुसार राजस्व बढेको छैन । नेपाल राष्ट्र बैङ्कले ल्याएका समयानुुकूल मौद्रिक नीतिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ । विप्रेषण, विदेशी मुद्रा सञ्चितिलगायतका क्षेत्रमा सुधारले झन्डै नौ महिनाको आयात धान्न पुग्ने भए पनि आन्तरिक उत्पादन वृद्धि हुन नसक्दा तथा पुँजीगत खर्च क्षमता नबढ्दा अर्थतन्त्र चलायमान नहुने प्रस्ट छ । आयातमै बढी भर पर्नुपर्ने हाम्रो अर्थतन्त्रमा सुधारका लागि पहिलो सर्त नै आन्तरिक उत्पादनमा वृद्धि हो । आन्तरिक उत्पादन वृद्धि गर्दै अपेक्षित सुधारका लागि कुल अर्थतन्त्रको ७५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई विश्वास जगाउने नीति र कार्य आवश्यक छ । मुलुक श्रीलङ्काकै जस्तो सङ्कटमा पुग्छ कि भन्ने चिन्तामा अपनाइएको मौद्रिक नीतिले तत्काललाई त्यो अवस्थाबाट जोगायो तर त्यस नीतिबमोजिम सङ्कुचित आयातको असर अहिले परिरहेको कतिपय विज्ञ बताउँछन् । राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । उद्यमीलाई आशावादी र मनोबल बढाउने नीति र गतिविधि अपेक्षित छ । 

पक्कै पनि अर्थतन्त्र केही समस्यामा रहेकाले नै हुनु पर्छ, अत्यन्त व्यस्त रहने बजारका कतिपय सटर बन्द वा भाडामा रहेको सूचनाले पनि देखाउँछ तर यो अवस्था अस्थायी हो, हुनु पर्छ । अर्थतन्त्रमा देखिएको बाह्य क्षेत्र सुधारको सकारात्मक सङ्केतलाई राम्रोसँग केलाएर सरकारी, नीति र सार्वजनिक (सहकारी) को पुँजी परिचालन गरिनु पर्दछ । परिसूचकहरूले विप्रेषण बढेको, पर्यटक आगमन वृद्धि भएको, राजस्व सङ्कलनमा पनि सुधार आएको देखाएका छन् तर विप्रेषण मूलतः अदक्ष, अर्धदक्ष युवा जनशक्तिले विदेशबाट पठाएको अस्थायी, अस्थिर स्रोत हो । पर्यटन क्षेत्रमा होटलको विस्तार भएर ३० लाख पाहुनालाई व्यवस्थापन गर्न सक्ने क्षमता बनेको व्यवसायीहरूको भनाइ छ । त्यो क्षमताबमोजिम पर्यटक ल्याउने गतिविधि आवश्यक छ । जस्तो कि पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठुलो लगानी भयो तर ती सञ्चालन गर्न सकिएको छैन । तिनको सञ्चालनका लागि सरकार र निजी क्षेत्र दुवैले प्रयास बढाउनुपर्ने देखिएको छ । 

सरकारले पुँजीगत खर्च बढाउने प्रयास नगरेको होइन तर योजनाहरूको समयमै ठेक्का, कार्यान्वयन र भुक्तानी प्रक्रिया सहज हुन सकेको छैन । विकास योजना बनाउने, काम नहुने र रकमान्तर गरी खर्च देखाउने प्रवृत्तिले अर्थतन्त्र वास्तविक रूपमा चलायमान बनाउँदैन । स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र छन् । त्यसले पुँजीगत खर्च प्रक्रिया नै खलबलिएको छ । पुँजी प्रवाह नहुँदा बजारमा पैसा ओहोरदोहोर भएको छैन । सुशासनमा प्रश्न उठाएको छ । 

अर्थमन्त्री डा. महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाको काम अगाडि बढाउनुपर्ने बताउनुभएको छ । तीनै तहको सरकारले निर्वाचन क्षेत्र, पालिकास्तरका गर्नैपर्ने योजना अघि बढाइयो भने उक्त योजनाको काम दिगो हुन्छ, कार्य र भुक्तानी प्रक्रिया नियमित हुन्छ । वैदेशिक पुँजी र प्रविधि लगानी आकर्षक योजनाहरूको कार्यान्वयनले पनि अर्थतन्त्र चलायमान बनाउन सक्छन् । निजी क्षेत्र माग्ने होइन, राष्ट्रलाई दिने भावमा उच्च मनोबलसाथ क्रियाशील हुने हो भने मुलुकको आर्थिक भविष्य उच्च सम्भावनायुक्त छ ।