गजेन्द्र गुरुङ
खजुरा, भदौ १७ गते । नेपालगन्जमा कचहरी नाटक सम्बन्धी ७ दिने तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत तालिम सुरु भएको हो । तालिममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३० जना युवाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटनमा बोल्दै बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिवकुमार वर्माले सञ्चालित कार्यक्रमको उद्देश्य परिपूर्तिका लागि युवाहरूलाई सिप प्रदान गर्ने र समुदाय सचेतीकरणमा परिचालन गर्ने गरी तालिमको आयोजना गरिएको भन्दै उद्देश्य परिपूर्तिका लागि सक्रिय भएर काम गर्न अनुरोध गर्नुभयो ।
बास नेपालका तालिम विभाग प्रमुख तथा निवर्तमान अध्यक्ष रमेश सिटौलाले कचहरी नाटक नयाँ विषय भएको र समाजलाई सुसूचित गर्न महत्त्वपूर्ण हुने भन्दै तालिममा सक्रियता पूर्वक सहभागिता जनाउन अनुरोध गर्नुभयो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सिकेको सिप अकरणीय भएको भन्दै तालिमले सबै सहभागीहरूलाई कचहरी नाटकका विषयमा सिप प्रदान गर्ने बताउनुभयो ।
नाटकमा स्किृप्ट लेखन लगायत विषयवस्तु महत्त्वपूर्ण हुने भन्दै त्यसमा केन्द्रित भएर तालिम प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सबै सहभागीहरूका लागि तालिम सुनौलो अवसर भएको भन्दै अवसरको पूर्ण रूपमा सदुपयोग गर्न उहाँले सहभागीहरूलाई अनुरोध गर्नुभयो । तालिमका प्रशिक्षक किशोर डङ्गोलले आयोजकले जुन उद्देश्य राखेर तालिमको आयोजना गरेको हो सो अनुरूप सहभागीहरूलाई तालिम प्रदान गरिने बताउनुभयो ।
बासका कार्यक्रम प्रबन्धक हेमराज भट्टले समुदायमा खोप (शून्य डोज र छुटेको डोज)लाई पूर्ण गर्न र बाल विवाहका विषयमा सामुदायिक संवेदनशीलताका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम पश्चात् समुदाय स्तरमा गएर कचहरी नाटकको माध्यमबाट आम नागरिकहरूलाई सचेत गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
तालिममा कर्णाली प्रदेश अन्तर्गत जुम्लाको गुठीचौर गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकाका १५ जना युवाहरू र सुदूरपश्चिम प्रदेश अन्तरगत दार्चुलाको महाकाली नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका, डोटीको शिखर नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको घोडाघोडी र धनगढी उपमहानगरपालिकाका १५ जना गरी ३० जनाको सहभागिता रहेको आयोजक संस्था बासले जनाएको छ ।