• १४ पुस २०८१, आइतबार

वर्षाको गीत (कविता)

blog

बाँझी भएर पनि आमा 

ममता उमार्न कहाँ छाडेकी छन् र ?

हेर पृथ्वी गर्भिणी छिन्

बाउसेहरू काठका बाकसमा फर्किएका छन्

रोपाहारहरू चुरा फुटाएर सपना रोपिरहेछन् ।


यही समय अभावका बिउ छरेर

मेरो शासक समयलाई कोर्रा बर्साइरहेछ

अर्थात् यसो भनौँ बेसुरा बेठी नाचिरहेछ

र भनिरहेछ अब गमलामा यो देश रोप्ने

र कङ्व्रिmटको छतमाथि बसेर असार फलाउने ।


टेलिभिजनको काँचमा ङिच्च अनुहार रोप्नु

र सिंहदरबारको रातो किताबमा 

लहलह बेइमानीका खेती लहराउनु ।


शासकहरूले भोकलाई भद्दा गीत बनाएर

भोकाहरूलाई भोलिको समाजवादको गीत सुनाउनु ।।


गाउँमा पहिरोले सपना थिचिरहेछ

गाउँमा बाढीले भोक बगाइरहेछ

शोक पसेको अनुहार भुलेर

बिचरो किसान आशा रोपिरहेछ

ऊ अन्नदाता हो सारा सृष्टिको 

ऊ भगवान् हो पेट र आन्द्राहरूको 

मानो खाएर मुरी फलाउन 

ऊ  सदा सहनशील धर्ती भएको छ ।


यता  मेरो देशको शासक

भद्दा समाजवादको धङ्धङे पिएर 

बजेट छलफलको नौटङ्की मनाइरहेछ

र देशको समृद्धिको गीत गाइरहेछ ।। 

            दमक, झापा