घामले धरतीमा किरणको सहारा लिएर
पाइला टेक्नुअघि
पहिरोसरि बादलको पर्दा खसेपछि
सम्झनाको सिरानीमा ढल्किएर
आफ्नै प्रेमको पहाड थामेर
युगौँदेखि घाइते भई बाँचिरहेछु ।
हरेक प्रहर छुटी जान्छन्
आफ्नै आँखा अगाडिबाट
प्रिय लाग्ने सहयात्रीहरू
हरेक पल छुटी जान्छन्
अन्तरङ्ग लाग्ने अवसरहरू
मुटु गाँठो पारेर हेरिरहन्छु म
छुटेर गएका पाइतालाहरू
छुटी गएका सङ्गीहरू ।
तिम्रो सपना तिम्रो खुसी
तिम्रै रहरलाई
अलिकता मैले पनि देखेकी थिएँ
तर, समुद्रको छालले मेटाइदिने
किनारमा लेखिएको नाम झैँ
तिमी आयौ र गइहाल्यौ,
भाग्यको तिम्रो आफ्नै कित्ता लिएर–
दूर कतै सुदूर ।
पहाड उसैको विश्वासमा उभिएको छ
हिमाल उसैको भरोसामा हाँसिरहेको छ
जून–ताराहरू आफ्नै सुरमा चम्किरहेछन्
म भने किन खोलिरहेकी छु
ती बिर्सिन पर्ने यादका थैलीहरू ?
किन पछ्याइरहेछु त्यो अतीत
जो आफूखुसी बितिगयो ?
किन म त्यहीँ फिर्दै छु
फेरि सम्झनाका गल्लीहरूमा ?
कतै म जीवन ज्यून बिर्सेर
जीवन पारी जाने यात्रामा त छैन ?