काठमाडौँ, भदौ १६ गते । काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबार सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रूपमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो महोत्सवले नेपालको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फौलाउन मद्दत गर्ने छ।”
महोत्सवमा दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमी उपस्थित रहेका छन्। पहिलो दिन कार्यक्रममा सागर एसजेबी जबरा राणाको चर्चित पुस्तक किङ्डम लस्ट : ट्र्यास्ट विथ डेमोक्रेसीमाथि छलफल भएको छ। वक्ताहरू प्राध्यापक बद्रीनारायण गौतम, कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र आइआइबिएस संस्थाकी निर्देशक सुचिता प्याकुरेलले पुस्तकमाथि विमर्श गर्नुभएको थियो। लेखक सागर एसजेबीले भावी पुस्तालाई इतिहास पढाउनुपर्ने आवश्यकता महसुस गरेर आफूले इतिहासका विविध पक्षलाई रोचक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो। उहाँ नेपाली कांग्रेसमा लामो समयसम्म सक्रिय रहनुभएको थियो।
प्राध्यापक बद्रीनारायण गौतमले पुस्तक इतिहासको तथ्यसँग निकै नजिक रहेको बताउनुभयो। कांग्रेस नेता डा. मीनेन्द्र रिजालले पुस्तकमा प्रजातन्त्रअघि र पछाडिका थुप्रै छुटेका पाटा पुस्तकमा समावेश भएको बताउनुभयो।
आइआइबिएस संस्थाका निर्देशक तथा अध्येता सुचिता प्याकुरेलले कांग्रेसको जुन राजनीतिक अवस्था छ त्यसको जरा गाडिएदेखिको इतिहास पुस्तकबाट थाहा पाउन सकिने बताउनुभयो। कलिङ साहित्य महोत्सव आइतबारसम्म जारी रहने छ। महोत्सवमा ‘अभिभावकीय कविता वाचन’ पनि भएको थियो। अठार जना कविले कविता वाचन गर्नुभयो। अशेष मल्लले ‘एउटा कृष्णको आगमन म पर्खिरहेछ,’ मञ्जु काँचुलीले ‘वर्तमान सम्बन्ध,’ एसपी कोइरालाले ‘याद राखे साइँला’ र कृष्ण बाउसेले ‘कस्तो कमजोर रहेछ मान्छे’ शीर्षकमा कविता सुनाउनुभयो। त्यसै गरी कृष्ण प्रसाई, गोपाल पराजुली, बेञ्जु शर्मा, तुलसी दिवस, युवराज अधिकारी, राधेश्याम लेकाली, लक्ष्मी माली, शैलेन्दुप्रकाश नेपाल, विष्णुविभू घिमिरे, विश्वविमोहन श्रेष्ठ, शैलेन्द्र साकार, हरि मानसग्नी, पवन अशोक, स्नेह सायमीले कविता वाचन गर्नुभएको थियो।