देवरामप्रसाद यादव
सप्तरी, भदौ १३ गते । हुलाकी लोकमार्ग अन्तर्गत सप्तरीको राजविराज–कन्चनपुर सडक खण्डस्थित अग्निसाइर कृष्ण सम्वरण गाउँपालिका –४ बनौलीको कालिया खोला –१ को पुल अलपत्र अवस्थामा छाड्दा यात्रुहरुको यात्रा जोखिमपूर्ण बनेको छ ।
सो पुलको निर्माण लामा बागमती निर्माण सेवाले २०७१ सालमा निर्माण सुरु गरे पनि पुलको निर्माण अझै सम्पन्न नभएपछि सदरमुकाम राजविराज आउने–जाने सयौं सवारी साधनको आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म २ करोड १३ लाख २९ हजार ४ सय ५९ रुपियाँ भुक्तानी पाइसके पनि निर्माण सम्पन्न नगरी ठेकेदार विकास झा सम्पर्कविहीन भएका छन् ।
निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन इकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको स्थानीय रामदेव यादवले बताउनुभयो । सो पुलको हालसम्म ८१.२३ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सबइन्जिनियर अमरेन्द्र भगतले जानकारी दिनुभयो ।
वर्षाको समय खोलामा अत्यधिक बाढी आउनेगरेकाले आवतजावतमा अवरोध सिर्जना हुनेगरेको तिरहुत गाउँपालिकाका अध्यक्ष विजयकुमार यादवको भनाइ छ । उहाँका अनुसार लगातार वर्षा भएपछि सो खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी आउने जाने क्रम पूर्णरुपमा बन्द हुनेगरेको उहाँले बताउनुभयो ।
स्थानीयवासीको निरन्तर दबाबले समेत निर्माण कम्पनी र हुलाकी राजमार्ग परियोजना इटहरी कार्यान्वयनमा समेत गम्भीर नभएको स्थानीयको आरोप छ । राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका, अग्निसाइर कृष्ण सम्वरण गाउँपालिका, महादेवा गाउँपालिका केही वडा र उदयपुर जिल्लासम्मका लाखौं यात्रीले छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा उक्त पुल निर्माण सम्पन्न नभएपछि जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय पत्रकार दिनानाथ यादव बताउनुभयो ।
पटक–पटक दबाब दिए पनि एक दशक बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको स्थानीयको भनाइ छ । पुल निर्माणमा ढिलाइका कारण बज्र गुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको करिब दुई किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य प्रभावित भएको स्थानीय नेता दीपेन्द्र माझीले बताउनुभयो ।
ठेकेदार कम्पनीले समेत कालिया खोलाको पुल निर्माण सम्पन्न नभएका कारण डिमनदेखि बनौलीसम्मको सडकमा कालोपत्रे हुन नसकेको बताउनुभयो । बर्खा यामको बेला खोलामा अत्यधिक बाढी आउँदा त्यहाँको बाटो नै अवरुद्ध भएपछि एक दर्जन गाउँबस्तीबीचको सम्पर्क टुटेको स्थानीय कविता ठाकुरले बताउनुभयो ।
हुलाकी राजमार्ग परियोजना इटहरीका कार्यालय प्रमुख विजयकुमार थापाका अनुसार अहिले बर्खा यामको समय सकिनेबित्तिकै सडक र पुलको बाँकी निर्माण सकिने बताउनुभयो ।