• ३१ वैशाख २०८२, बुधबार

सर्पदंशसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, भदौ १३ गते । सिन्धुलीको दुधौली नगरपालिकाले नागरिकलाई विषालु सर्पको टोकाइबाट बचाउन  सर्पदंशसम्बन्धी सचेतनामूलक तालिम सुरु गरेको छ ।

नगर क्षेत्रमा गोमन र करेत लगायत विषालु सर्पदंशका बिरामी निरन्तर बढिरहने र समयमा नै उपचार नपाएर बिरामीको मृत्युसमेत हुन थालेपछि उक्त तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक र टोल विकास संस्थाका पदाधिकारीलाई उक्त तालिम दिन थालिएको हो । उक्त तालिम सबै वडामा क्रमश दिँदै जाने नगरपालिकाको योजना छ ।

दुधौली नगरपालिका स्वास्थ्य शाखाका अनुसार यो वर्ष गत वैशाखदेखि हालसम्म १७८ जनालाई विषालु सर्पले टोकी सकेको र तीमध्ये पाँच जनाको मृत्यु भइसकेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका विषालु सर्पको जोखिम क्षेत्र हो ।

दुधौली नगरपालिकाको १४ वटा वडामध्ये तराई क्षेत्रमा पर्ने वडा नं. १ देखि १२ सम्मका वडाहरुमा बर्सेनि गमी मौसममा विषालु सर्पको बिगबिगी हुने गरेको छ ।

सर्पदंशबाट जोगिन गाँउको तल्लोस्तर र कुना काप्चासम्म जनचेतना पुर्याउन उक्त तालिम सञ्चालन गरिएको मेयर दिनेश अधिकारी दनुवारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँका नागकिरसँग प्रत्यक्ष जोडिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक र टोल विकास संस्थालाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो ।’’

दुधौली नगरपालिकामा प्रत्येक वर्ष गर्मी मौसमको सुरुसँगै असोज/कात्तिकसम्म राजगोमन र बैरीकरेत जस्ता विषालु सर्पको बिगबिगी हुने स्थानीय बासिन्दा बताउँछन् । सर्पले टोकेका बिरामीलाई दुधौली नगरपालिकाले निःशुल्क उपचार गर्दै आएको र उक्त नगरपालिकामा दुधौली स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली गरी दुई ठाउँमा सर्पदंश बिरामीको उपचार गर्ने ठाँउ रहेको स्वास्थ्य शाखा संयोजक बिन्देश्वर साहले जानकारी दिनुभयो  ।

निगरपालिकाले सर्पको टोकाइका बिरामीको उपचार गर्न आवश्यक औषधि र चिकित्सकको व्यवस्था गरेको छ । दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशाेर थारु सर्पले टोकेका बिरामीको उपचार खर्च सम्पूर्ण र चिकित्सकको तलब सबै नगरपालिकाले व्यहोर्दै आएको सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘नगरपालिकाले प्रत्येक वर्ष सर्पका बिरामी आउने सिजन वैशाखदेखि असोजसम्म तलब दिएर चिकित्सकको व्यवस्था गर्दै आएको छ ।’ सर्पले टोकेका बिरामीलाई आवश्यक पर्ने सबै दबाई नगरपालिकाको सिफारिसमा स्वास्थय विभागले निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनअघि दुधौली नगरपालिकाका बासिन्दाले विषालु सर्पको टोकाईबाट बाँच्न आफैँले शुल्क तिरेर चिकित्सक खोजेर ल्याई उपचारको व्यवस्था गरेका थिए । स्थानीयस्तरमा विषालु सर्पले टोकेका बिरामीको उपचार गर्न सुविधासम्पन्न सरकारी अस्पताल नहुँदा बिरामीहरुला समस्या पर्ने गरेको स्थानीयको गुनासो छ ।

सर्पले टोकेका बिरामीको उपचार गर्न स्थानीय बासिन्दाले सरकारसँग पटक–पटक सुविधासम्पन्न सरकारी अस्पतालको माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।