• ९ मंसिर २०८१, आइतबार

‘अनुपम देवता’ उपन्यास पाठकबिच लोकप्रिय

blog

शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ।

काठमाडौं, भदौ ११ गते । उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया सम्पन्न भएको छ । 

उपन्यास समाज नेपालको आयोजनामा सामाजिक विकास समाज अनामनगरमा सोमबार आयोजित अन्तरक्रियाका कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ साहित्यिक पत्रकार तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नगेन्द्रराज शर्माले शङ्कर भारतीका उपन्यासमा सरलता, बोधगम्य, सहजता र हृदयस्पर्शी प्रवृत्ति रहेको बताउनुभयो । 

विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले ‘अनुपम देवता’लाई  आ–आफ्नो दृष्टिकोणबाट अध्ययन गर्न सकिने बताउनुभयो । ‘‘उपन्यासको तेस्रो संस्करण प्रकाशन हुनु भनेको पाठकको मन जित्न सक्नु हो । उपन्यास आदर्शोन्मुख रहे पनि यथार्थ दृष्टिकोण प्रकट भएको अनुभूति हुन्छ,’’ उहाँले भन्नुभयो ।

प्रा.डा.रामप्रसाद ज्ञवालीले ‘अनुपम देवता’ उपन्यासमा जे जस्तो  विषयवस्तु छ, उपन्यासकार शङ्कर भारतीको जीवनचर्या झन् शालीन र मर्मस्पर्शी रहेको बताउनुभयो । 

कार्यक्रममा डा.दीनबन्धु शर्मा, डा.शान्तिमाया गिरी र डा.मधुसूदन लामिछाने, देविका तिमल्सिना, डा.दामोदर पुडासैनी ‘किशोर’ राधेश्याम लेकाली, गोविन्द घिमिरे ‘वेदमणि’ र पवन आलोकले शुभकामना दिनुभएको थियो । 

वरिष्ठ निबन्धकार तथा पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, कवि तथा निबन्धकार श्रीबाबु कार्की लगायतको उपस्थिति थियो ।