• २० असोज २०८१, आइतबार

‘सम्पदा संरक्षणमा नागरिकको भूमिका महत्त्वपूर्ण’

blog

काठमाडौँ, भदौ १० गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले हरेक नागरिकको सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल सम्पदा सङ्घको ३७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । 

उहाँले मूर्त/अमूर्त सम्पदाको प्रवर्धनकै कारण पाटन क्षेत्रलाई विश्वको ३५ औँ कला सहर (वल्र्ड क्राफ्ट सिटी) को पहिचान मिलेको जानकारी दिनुभयो । वि.सं. २०७९ मा बागमती प्रदेशले सुनको टीकासहितको चाँदीको तक्मा प्रदान गरेर सम्मानित गरेको सन्दर्भ सम्झँदै सम्पदालाई जीवन्त बनाउने सङ्घको प्रयासले उत्साह थपेको बताउनुभयो । साथै सम्पदा सङ्घसँग महानगरको सहकार्य जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सङ्घद्वारा शनिबार आयोजित ३७ औँ वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरका प्रमुख महर्जनलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो । 

कार्यक्रममा सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले भन्नुभयो, “एकै टोलमा विविध जीवन्त सांस्कृतिक परम्परा, विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर, दरबार, स्तूपा, चैत्यलगायतका सम्पदाले सजिएको देश नेपाल नै हो । देश सानो पनि होइन र हामी गरिब पनि छैनौँ ।” नेपालका सम्पदाको प्रवर्धनका लागि योगदान दिनुभएका बेट्टी उडसनलाई प्रशंसापत्र र सङ्घका आजीवन सदस्यहरू सौभाग्य प्रधानाङ्ग, नेत्रवीर सिंह लामा, चन्द्रश्याम डङ्गोल, श्यामसुन्दर राजवंशी, नीरजङ्ग राजवंशी, विमला शाक्य, मोहन व्यञ्जनकार र विजय कँडेललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।