• ११ असोज २०८१, शुक्रबार

छोरी बिरामी भएपछि चम्केको ड्रयागन फ्रुट खेती

blog

आफ्नै बारीमा ड्रयागमन फ्रुट फलाएर विक्री गर्दै राम सारु मगर । तस्बिर : बोमलाल गिरी

नवलपुर, भदौ ८ गते । केही समयअघि राम सारु मगरको भाइको छोरीलाई रगत क्यान्सर भयो । लामो समय चितवन क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुभयो । चिकित्सकहरुले विरामी छोरीलाई फलफूल बढी खुवाउन सुझाव दिए । रगतलाई शुद्धिकरण गर्न फलफूलले मद्दत गर्नेभएकाले सकेसम्म ड्रयागन फ्रुट र तरकारीमा कुरिलो खुवाउन चिकित्सकहरुको सुझाव थियो । त्यहीबेलादेखि सारु मगरले कावासोती सदरमुकाममा ड्रयागन फ्रुटको खेती सुरु गर्नुभयो ।  

दुई छोरा र दुई छोरीका बुबा ६० वर्षीय मगरका सबै छोराछोरी कमाउने भएका छन् । एउटा छोरा अष्ट्रेलिया र अर्को साउदीमा छन् । एउटी छोरी मध्यविन्दु जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी छिन् भने अर्की छोरीले आफ्नै व्यवसाय सुरु गरेको उहाँको भनाइ छ ।  

सानो व्यवसाय, राम्रै आम्दानी

उहाँसँग १५ धुर मात्र जग्गा छ । विरुवा पनि ४८ खम्बा मात्र । तर उहाँले सुरु गरेको ड्रयागन फ्रुटको माग बढी छ । आफ्नो उत्पादन उहाँको एकै छिनमा सकिन्छ । नजिकै अन्य पाँच जना छिमेकीले पनि त्यही खेती गरेका छन् । जसको फाइदा सारु मगरले उठाउनुभएको छ ।

आफ्नो उत्पादन सकिएपछि उहाँले छिमेकीको बगानबाटै खरिद गर्नुहुन्छ र आफ्नै बारीको कुनामा राखेर व्यापार गर्नुहुन्छ । छिमेकीबाट साढे ४ सय रुपियाँ किलोमा खरिद गरेर प्रतिकिलो पाँच सय रुपियाँमा बेच्नुहुन्छ । 

शुक्रबारका दिन सिमसिम पानी परिरहेको छ । बारीमै बसेका सारु मगरले छेउमा दुई वटा ड्रयागन फ्रुटका कार्टुन राख्नु भएको छ । टेबलमाथि ढक–तराजु अनि एउटा प्लेट र चक्कु पनि छ । यो फलको महत्व बुझेका अनि स्वाद मन पर्नेहरुले पैसा भएसम्म खरिद गरेर लग्नेगरेको उहाँले बताउनुभयो । 

दैनिक १५ देखि २० किलो बिक्री भइरहेको उहाँले बताउनुभयो । प्रतिकिलोमा ५० रुपियाँ नाफा हुनेगरेको उहाँको भनाइ छ । सानो व्यवसायबाट उत्साहित सारु मगर यसलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । आफ्नो जग्गा थोरै भएकाले भाडामा जग्गा लिएर खेती विस्तार गर्ने उहाँको तयारी छ । 


‘स्याहार सुसार र मलजल धेरै गर्नुपर्ने भएकाले एक्लै गर्दा अलि गाह्रो हुन्छ । साथीभाइ मिलेर क्षेत्र विस्तार गरी साझेदारीमा खेती गरौं भन्ने सल्लाह भइरहेको छ’ उहाँले भन्नुभयो, “विरुवा उत्पादनको काम भइरहेको छ । आफूले लगाउने भनेर तयार गरेका झण्डै पाँचसय विरुवा त मैले बेचिसकें ।’

विष्ट आदर्श पात्र

मन्त्रीसमेत भइसकेका पूर्व माओवादी नेता लोकेन्द्र विष्ट मगरसँग राम सारुको भेटघाट भएको छैन । दोहोरो चिनजान पनि छैन । तर विष्टले दाङमा गरेको खेतीका बारेमा आफू जानकार रहेको उहाँले बताउनुभयो । 

समाचार र युट्युवमा आएका कुराहरुका बारेमा उहाँले राम्रै जानकारी राख्ने गर्नुभएको छ । भाइको छोरीलाई क्यान्सर भएका बेला चिकित्सकले यसको महत्वबारेमा बताएपछि उहाँले यो खेतीका बारेमा जानकारी लिन थाल्नुभएको बताउनुभयो । उहाँले विष्टलाई आदर्श पात्रको रुपमा लिनेगरेको बताउनुभयो । 

फ्रुटका फाइदा

ड्रयागन फ्रुट विदेशी फल हो । यसको प्रयोग खासै नगरिए तापनि अचेल यसको खेती व्यापक बन्दैगएको छ । यो फल हेर्दा राम्रो देखिएझैं स्वाद पनि उत्तिकै मिठो र स्वास्थ्यका लागि लाभदायक मानिन्छ । चिकित्सकका अनुसार यसमा क्याल्सियम, आइरन, फस्फोरस, भिटामिन ‘बि’, ‘सी’, कार्बोहाइट्रेड, प्रोटिन र फ्याट पाइन्छ । 

मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार यो फलमा फाइबरको मात्रा पाइने हुनाले मधुमेह रोग लाग्न नदिन मद्दत गर्दछ । पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसमा पाइने भिटामिन ‘बि २’ ले शरीरमा मल्टिभिटाभिनको काम गर्छ ।

यो फलको रसको प्रयोगले कपाललाई स्वस्थ र बलियो बनाउन मद्दत गर्छ । शरीरको अनावश्यक तौल कम गर्नमा सहयोगी हुन्छ । क्यान्सर रोग लाग्नबाट रोक्न मद्दत गर्छ । यसमा क्यल्सियम र फस्फोरस पाइने हुनाले दाँत र हड्डीलाई मजबुत बनाउँछ । भिटामिन ‘सी’ पाइने हुनाले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुनेगरेको उहाँले बताउनुभयो । 

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।