• ८ मंसिर २०८१, शनिबार

फेरि भगवानकै कथा ‘ओएमजी–२’

blog

काठमाडौँ, भदौ ७ गते । हास्यव्यङ्ग्यले दर्शकको मनमा स्थान बनाएको चलचित्र ‘ओएमजी’ को सिक्वेल ‘ओएमजी–२’ ले पनि दर्शकलाई पेट मिचिमिची हास्न बाध्य बनाउँछ । ओएमजीमा जहाँ भगवान् स्वयम् नास्तिक कान्जी लालजी मेहताको समस्या समाधान गर्न पृथ्वीमा आउँछन् । ओएमजी–२ को कथा भने केही फरक छ । चलचित्रमा भगवान् शिवले आस्तिक कान्तिशरण मुद्गलको समस्या समाधान गर्न आफ्नो दूतलाई पृथ्वीमा पठाउँछन् । भगवान्को रूप धारण गरेका अक्षय कुमारलाई अघिल्लाभन्दा यसमा केही भिन्न देखाइएको छ । उनको सिक्सप्याक एब्स र अनुहारको भाव यसमा केही फरक देखाउन खोजिएको छ । यसअघि ‘ओएमजी’ मा  भगवान् कृष्णको अवतारमा देखिएका अक्षयलाई दर्शकले अत्यधिक रुचाएका थिए । 

चलचित्रको कथा मुख्य पात्र कान्तिशरण मुद्गल (पङ्कज त्रिपाठी) वरिपरि घुमेको छ । कान्तिशरण आफ्नो परिवारलाई धेरै माया गर्ने विश्वासी पिता हुन् । उनको छोरा विद्यालयमा एउटा संस्कारी विद्यार्थीका रूपमा चिनिएका हुन्छन् तर अचानक एउटा व्यविचारको आरोपमा  विद्यालयबाट निष्कासित गरिन्छन् । कान्तिले सत्यतथ्य थाहा पाएपछि छोराको गल्ती नभए पनि उचित जानकारीको अभावमा आफ्नो छोरालाई विद्यालयबाट निकालिएको थाहा पाउँछन् । विद्यालयबाट छोराले न्याय नपाएको उनलाई अनुभव हुन्छ । उनी हताश र निराश हुन्छन् र आफ्नो परिवारसहित सहर छोड्ने निर्णय गर्छन् । यसैबिच भगवान्को सन्देशवाहक (अक्षय कुमार) उनलाई त्यसो गर्नबाट रोक्न आइपुग्छन् र उनलाई कानुनको शरण लिन सुझाउँछन् । यसरी उनको छोराको मुद्दा अदालतमा पुग्न र एउटा नयाँ बहसको स्वरूप लिन्छ । के कान्तिशरणले छोरालाई न्याय दिलाउन सफल हुन्छन् ? यो सबका लागि उनले अरू के कस्ता समस्याको सामना गर्नु पर्छ ? साथै अदालतमा विपक्षी अधिवक्ताको प्रश्नको जवाफ उनले कसरी दिन्छन् ? के उनको आस्था कायम छ र उनले भगवान्को दूतलाई चिन्न सक्छन् ? यी सबै कुराको चलचित्रमा हास्य र भावनात्मक शैलीमा चलचित्रभित्र पाइन्छ ।  

कान्तिशरण मुद्गलको भूमिकामा पङ्कज त्रिपाठी जम्नुभएको छ । उहाँले आफ्नै छोराको पक्षमा गर्नुभएको वकालतको प्रस्तुतिले दर्शकलाई २ः३० घण्टा पेट मिचिमिची हाँस्न बाध्य बनाउँछ ।  त्यस्तै विपक्षी वकिलको भूमिकामा यामी गौतम निकै आकर्षक देखिनुभएको छ । उहाँ आफ्नो चरित्रबाट पर्दामा फरक छाप छोड्न सफल हुनुभएको छ । पवन मल्होत्राले न्यायाधीशको भूमिकामा पूर्ण न्याय गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक अरुण गोविल शान्त र गम्भीर चरित्रमा देखिनुभएको छ । समग्रमा सबै कलाकारको उत्कृष्ट अभिनय छ ।

चलचित्रको सबैभन्दा ठुलो विशेषता भनेको कथाकार र निर्देशक एउटै व्यक्ति हुन् । अनिल रोयले आफ्नो दिमागमा बुनेको ओएमजी–२ को कथालाई त्यसै गरी पर्दामा ल्याउनुभयो । पटकथा र सम्पादन यति राम्रो छ कि कतै निराशता छैन । कुनै पनि दृश्य अनावश्यक रूपमा लामो तानिएको छैन । संवाद पनि राम्रै लेखिएका छन् । धेरै दृश्यमा व्यङ्ग्यका साथ हास्य सिर्जना गरिएको छ । समग्रमा कथाकारले चलचित्रमा आफूले भन्न चाहेको कुरा बताउन सफल भएका छन् । चलचित्रको एउटा गीत ‘उँची औँची वादी’ र ‘हर हर महादेव’ ले यसअघि नै चर्चा बटुलिसकेको छ । चलचित्रको कथा नयाँ भए पनि चलचित्रमा पहिलाकै सिक्वेलकै अनुसार भगवान्कै कथा प्रस्तुत गर्न खोजिएको छ । जुन कुरा दर्शकलाई केही अपच हुन सक्छ ।