• १२ पुस २०८१, शुक्रबार

गिरिबन्धु टी–स्टेट जग्गा अनुसन्धान गरे हुन्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताउनुभएको छ । 

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद् भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताउनुभयो । 

उहाँले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद पनि दिनुभयो । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘म सरकार र सत्तापक्षलाई धन्यवाद भन्छु, उहाँहरू लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा थियो ।’ सुन तस्करीको काण्ड सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस् भनेर आफूहरू माग गरेको उहाँले बताउनुभयो ।

सुन काण्डमा निर्दोष पर्न नहुने र दोषी उम्किउन नपाउने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारले समयमा मन्जुर नगरेकाले केही दिन संसद् बैठक अवरुद्ध भएको उहाँको भनाइ छ ।

गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरू रोक्नेगरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताउनुभयो ।