काठमाडौँ, साउन ५ गते । स्वरोजगारको रूपमा घरमा बसेर, सिलाइ, बुनाइ, इम्ब्रोइडरीलगायतका सिपमूलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक (होम बेस्ड वर्कर) ले घर खर्च चलाउन ६२ प्रतिशत योगदान पुर्याइरहेको सर्वेक्षणले देखाएको छ ।
होमनेट दक्षिण एसियाले नेपाल, भारत, पाकिस्तानमा गृह श्रमिकबारे ज्याला कार्ड (वेज कार्ड)मार्फत गरिएको सर्वेक्षणले सो कुरा स्पष्ट पारेको हो ।
होमनेट दक्षिण एसियाका सदस्य रिचा माक्सुडेनले यस सर्वेक्षणले नेपाल, भारत, पाकिस्तानलगायतका देशमा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको सर्वेक्षणले देखाएको बताउनुभयो ।
उहाँले पाकिस्तानमा यस क्षेत्रमा २० वर्षभन्दा मुनिका श्रमिक संलग्न रहेको पाइएको बताउनुभयो ।
नेपाल÷भारतमा भने ४४ प्रतिशत ३० देखि ४० वर्ष उमेर समूहका महिला÷पुरुषले गृह श्रमिकका रूपमा काम गर्दै अर्थतन्त्र बलियो बनाउन योगदान दिइरहेको सर्वेक्षणले जनाएको छ ।
होमनेट दक्षिण एसिया, श्रम तथा सामाजिक अध्ययन केन्द्र(क्लास नेपाल),होमनेट नेपालले मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले तारकेश्वर क्षेत्रमा रहेका गृह श्रमिक र अन्य श्रमिक सम्बन्धमा अभिलेख राख्न श्रम डेस्कको व्यवस्था गरेको जानकारी दिनुभयो ।
उहाँले सो क्षेत्रका गृह श्रमिकले उत्पादन गरेका विभिन्न सामग्रीको बजारीकरण गर्न विभिन्न पर्वलाई लक्ष्यित गरी मेलाको आयोजना गर्दै आएको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले गृह श्रमिकको कामलाई सम्मान र बजारीकरण,सामग्रीले उचित मूल्य पाउने वातावरण हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा होमनेट दक्षिण एशियाका क्षेत्रिय संयोजक सृष्टि जोशीले दक्षिण एशियाका गृह श्रमिकको पहिचान र श्रमको सम्मानका लागि संस्थाले नीतिगत पैरवीमा पनि जोड दिएको बताउनुभयो ।
श्रम तथा सामाजिक अध्ययन केन्द्रका कोषाध्यक्ष गोमा पाण्डेले गृह श्रमिकसम्बन्धी हाते पुस्तक सम्बन्धमा जानकारी दिंदै असङ्गठित रूपमा काम गरिरहेका गृह श्रमिकको परिचय, गृहश्रमिकको विश्वव्यापी र राष्ट्रिय अवस्था, संविधान र आइएलओ अभिसन्धि बुँदा न.१७७ को जानकारीलगायतका विषय समेटिएको बताउनुभयो । समारोहमा उक्त पुस्तकको पनि लोकार्पण गरिएको थियो ।
होमनेट दक्षिण एसियाले गृह श्रमिकले स्वरोजगारको रुपमा आफ्नो घरमै सिप र श्रमको प्रयोग गरी सिलाइ, बुनाइ, बेतबाँस, माटाे, काठ, ढुङ्गा, थाङ्का, ढाकाका कपडा, पोते, क्रिष्टलका सामग्री, इम्ब्रोइडरी, मखमलका जुत्तालगायतका वस्तुहरू तयार गर्ने कामलाई गृह श्रमिकको पहिचानसहित ट्रेड युनियन र तथ्याङ्कका लागि सूचीकरण गर्नुपर्नेमा पैरवी गर्दै आएको छ ।