• १३ साउन २०८१, आइतबार

याल्वाङमा पहिलो पटक फल्यो खुर्सानी

blog

याल्वाङमा किसानले पहिलो पटक फलाएको खुर्सानी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला भदौ ५ गते । उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा खुर्सानी फलेको छ । तीन जना किसानले परीक्षणका रूपमा रोपेको खुर्सानी लटरम्मै फलेको छ । 

नाम्खा गाउँपालिका–४ का किसान जाङ्मु लामाले परीक्षणका रूपमा लगाएको खुर्सानी राम्रै फलेको बताउँदै हालसम्म कसैले पनि खुर्सानी नरोपेको भए पनि आफू लगायत तीन जना महिला किसानले परीक्षणका लागि लगाएको बताउनुभयो । 

बोट पनि ठुलै भएको र खुर्सानीका कोसा पनि राम्रो लागेको बताउँदै उहाँले हरियो खुर्सानीमा पिरोपना पनि भएको बताउनुभयो । उहाँले खुर्सानीका बेर्ना भने ग्रीन हाउसमा लगाउनुभएको थियो । पछि ती खुर्सानीका बिरुवाहरू बाहिर बारीमा सारिएको बताउँदै उहाँले रोपेको प्रत्येक बोटमा खुर्सानी फलेको बताउनुभयो ।

गाउँपालिकाको कृषि शाखाले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा खुर्सानी फलेको हुन सक्ने र यो अध्ययनको विषय भएको जनाएको छ । किसानले परीक्षणका रूपमा लगाएको खुर्सानी राम्रोसँग फलेपछि यसलाई अब खेतीका रूपमा लगाउन सकिने पनि कार्यालयले जनाएको छ । याल्वाङ तीन हजार १९० मिटर उचाइमा रहेको छ ।