• १० वैशाख २०८२, बुधबार

सुनसरीमा डेंगु सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो

blog

बाबुराम कार्की 

वराहक्षेत्र (सुनसरी), भदौ ५ गते । डेंगु सङ्क्रमणबाट सुनसरीमा ज्यान गुमाउनेको सङ्ख्या एक दर्जन पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार ६ महिला र ६ पुरुषको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको हो । 

सुनसरी जिल्लामा १५ हजार ४ सय २५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने २७ हजार २ सय ३४ जनाले डेंगुको जाँच गराएको स्वास्थ्य कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख रजकुमार मेहताले बताउनुभयो । 

मेहताका अनुसार डेंगुको सङ्क्रमणबाट धरान उप-महानगरपालिकामा मात्रै १२ जनाको मृत्यु भएको छ । गत साउन एक गतेदेखि हालसम्म धरानमा मात्रै १३ हजार ६ सय २७ जना डेंगुको सङ्क्रमित रहेका छन् । धरान उपमहानगरमा अहिलेसम्म १८ हजार ९ सय २६ जनाले डेंगुको जाँच गराएको तथ्याङ्कले देखाएको छ । 

इटहरी उपमहानगरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८ सय ९१ रहेको छ । डेंगुको परीक्षण दुई हजार ८ सय ३७ जनाले गरेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै, वराहक्षेत्र नगरपालिकामा ६ सय ४७ जना सङ्क्रमित रहेका छन् भने ४ हजार ५ सय ३६ जनाले डेंगुको परीक्षण गराएका छन् । 

इनरुवा नगरपालिकामा ७२ जना सङ्क्रमितको सङ्ख्या रहेको स्वास्थ्य कार्यालय सुनसरीका निम्ति कार्यालय प्रमुख राजकुमार मेहताले बताउनुभयो । उहाँका अनुसार ५ सय ४७ जनले डेंगुको परीक्षण गराएका छन् । 

त्यस्तै, जिल्लाकै दुहबी नगरपालिकामा १ सय ३ जना सङ्क्रमित रहेका छन् भने एक सय ९५ जनाले डेंगुको परीक्षण गराएका छन् । रामधुनी नगरपालिकामा साउन एक गते यता ५५ जनामा मात्रै डेंगुको सङ्क्रमण देखिएको छ । रामधुनीमा नगरमा जाँच गराउनेको सङ्ख्या एक सय ५१ रहेको जनस्वास्थ्य अधिकृत दिपा श्रेष्ठले बताउनुभयो । 

सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा गत साउनदेखी हालसम्म ५ जना मात्रै डेंगुको सङ्क्रमित छन् । हरिनगरमा ७१ जनाले डेंगुको जाँच गराएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै देवानगंज गाउँपालिकामा ९ जना सङ्क्रमित रहेका छन् भने हालसम्म १४ जनाले डेंगुको जाँच गराएका छन् । 

बर्जु गाउँपालिकामा ९ जना मात्रै डेंगुको सङ्क्रमित रहेको छन् भने ३२ जनाले डेंगुको जाँच गराएका छन् । त्यस्तै, जिल्लाको कोशी गाउँपालिकामा १ जना मात्रै सङ्क्रमित रहेका छन् भने ६ जनाले जाँच गराएका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा ५ जनामा डेंगुुको सङ्क्रमित छन् भने ८ जनाले जाँच गराएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लाको गडी गाउँपालिकामा साउनबाट हालसम्म कसैमा पनि डेंगुको सङ्क्रमण नदेखिएको जनस्वास्थ्य कार्यालय सुनसरीका निम्ति कार्यालय प्रमुख राजकुमार मेहताले जानकारी दिनुभयो । डेंगु रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले डेंगुको लार्भा खोज र नष्ट गर अभियान र डेंगु परीक्षणबाट किट उपलब्ध गराउँदै आएको मेहताले बताउनुभयो । 

सुनसरी जिल्लामा १५ हजार ४ सय २५ जनामा डेंगु सङ्क्रमण भएको छ भने २७ हजार २ सय ३४ जनाले डेंगुको जाँच गराएका छन् ।